Comments Add Comment

परराष्ट्र नीति पुनरावलोकन गर्न कार्यदल गठन


८ बैशाख, काठमाडौं । सरकारले गतिशील परराष्ट्र नीतिको दस्ताबेज तयार गरी प्रभावकारी कार्यान्वयनका लागि ठोस सुझाव दिन उच्चस्तरीय कार्यदल गठन गरेको छ ।

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा गठित कार्यदलमा अर्थ, कूटनीति, श्रम, कानुन, सुरक्षालगायत विभिन्न क्षेत्रका १६ जना विज्ञ छन् ।

मन्त्रिपरिषदको चैत २९ गतेको बैठकले परराष्ट्र नीति पुनरावलोकन कार्यदल बनाएको थियो ।

कार्यदललाई संविधानका निर्देशक सिद्धान्त तथा परराष्ट्र नीतिका आधारभूत मूल्य र मान्यताहरुलाई कायम राख्दै नेपालको सर्वाेपरी राष्ट्रिय हितलाई सम्बर्द्धन र प्रवर्द्धन गर्न गतिशिल परराष्ट्र नीतिको दस्ताबेज तयार पारी कार्यान्वयनका लागि ठोस सुझाव दिने कार्यादेश तोकिएको छ ।

नेपालको परराष्ट्र नीतिका निर्धारक तत्वहरुको बदलिँदो आयामको पहिचान गर्ने, सामन्जस्यपूर्ण र विस्तृत परराष्ट्र नीति एवम् छिमेक नीतिका लागि देशले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रुपमा अपनाउनुपर्ने प्राथमिकताहरु तय गर्ने छ । साथै द्विपक्षीय, उपक्षेत्रीय, क्षेत्रीय एवम् बहुपक्षीय कूटनीति लगायत परराष्ट्र नीतिका विभिन्न्ा आयामहरुका क्षेत्रगत नीतिहरुको पुनर्मूल्यांकन गर्ने कार्यादेश पनि कार्यदलले पाएको छ ।

यसैगरी आर्थिक, सामरिक, रणनीतिक र नेपालको द्विपक्षीय कूटनीतिक, सांस्कृतिक र जनस्तरको समस्याका हिसाबले महत्वपूर्ण मित्र राष्ट्रहरुसँगको सम्बन्धका प्राथमिकता र कार्ययोजनासहित देशीय रणनीतिहरुको आवश्यकता पहिचान गर्नुपर्ने कार्यादेश मन्त्रिपरिषदले सो कार्यदललाई तोकेको छ ।

कार्यदलमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. ऋषिराज अधिकारी, पूर्वमन्त्री विद्याधर मल्लिक, पूर्वराजदूत डा. शंकरप्रसाद शर्मा, अन्तर्राष्ट्रिय व्यापारविद डा. पोषराज पाण्डे, श्रम कूटनीति विज्ञ डा. गणेश गुरुङ, पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्य, पूर्वराजदूत शम्भुराम सिम्खडा, पूर्वसचिव तथा कानुनबिद मोहन बन्जाडे, अवकासप्राप्त रथी एवम् सुरक्षाविद् पवनबहादुर पाण्डे छन् ।

कार्यदलमा सुरक्षा तथा परराष्ट्रविद् प्रा. डा. श्रीधर कुमार खत्री, सुरक्षाविद् दीपकप्रकाश भट्ट, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक डा. इन्द्रकुमारी अधिकारी, नेपाल विश्व सम्बन्ध परिषदका प्रतिनिधि डा. राजेन्द्रबहादुर श्रेष्ठ, परराष्ट्रविद् निश्चलनाथ पाण्डे पनि छन् ।

सदस्य सचिवमा परराष्ट्र सचिव शंकरदाश बैरागी छन् भने कार्यदलको अवधि चार महिनाको हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment