Comments Add Comment

शनिबार र मंगलबार विमान चढ्दा टिकटमा सहुलियत

अन्धविश्वासका कारण हप्तामा दुई दिन यात्रु थोरै

८ बैशाख, काठमाडौं । शनिबार र मंगलबार यात्रा गर्दा अशुभ हुन्छ भन्ने अन्धविश्वास अझै पनि नेपाली समाजमा बाँकी छ । यसबाट विमान कम्पनीसमेत प्रभावित बन्दै आएका छन् ।

गत मंगलबार बुद्ध एयरमा भैरहवासम्मको टिकट २६ सय रुपैयाँमा बेच्यो । जबकि अन्य दिनमा भने सो टिकट ३९ सय रुपैयाँ बेचिन्थ्यो ।

बुद्ध एयरकी बजार व्यवस्थापक बिनिता थापाका अनुसार बिराटनगर, भद्रपुर र भैरहवाको उडानमा शनिबार र मंगलबारले प्रभाव पार्ने गरेको छ । उनले भनिन् ‘शनिबार र मंगलबार यात्रा गनृ नहुने धार्मिक मान्यताका कारण भद्रपुर, बिराटनगर र भैरहवा जस्ता स्थानमा यात्रु कम हुने गरेका छन् ।’

सौर्य एयरलाइन्सका मार्केटिङ प्रमुख मुकेश खनालका अनुसार सो एयरलाइन्समा पनि भद्रपुर र बिराटनगरको उडानमा शनिबार र मंगलरबार यात्रु कम हुने गरेका छन् । विशेषगरी लोअर क्लास सिटमा यात्रु कम हुने गरेको उनले बताए ।

अन्य दिनको तुलनामा शनिबार र मंगलबार यात्रु निकै कम हुने विमान कम्पनीहरुको भनाइ छ । यी दुई दिनमा यात्रु तान्नका लागि कम्पनीहरुबीच भाडा घटाउने प्रतिस्पर्धा चल्ने गरेको छ ।

नेपाल वायु सेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले शनिबार र मंगलबार अन्य दिनको तुलनामा यात्रुहरु कम हुने गरेको स्वीकार गरे । यात्रु कम भएपछि मूल्यमा सोझो असर पर्ने उनको भनाइ छ ।

यात्रुहरु कम भएपछि मंगलबार र शनिबार विमान कम्पनीहरुले भाडा घटाउँछन् र यसको फाइदा बाठा यात्रुहरुले लिन्छन् । उनीहरु पर्खेर भए पनि शनिबार र मंगलबार यात्रा गर्ने गरेको विमान कम्पनीहरुको भनाइ छ ।

दुर्गम तथा हिमाली क्षेत्रका विमानमा भने हप्तैभरि पर्यटकको बढी घुईंचो हुने गरेको छ । उनीहरु बार हेरेर बिमान चढ्दैनन् । यसैले गर्दा ती क्षेत्रका उडानलाई यी दुईवटा बारले खासै प्रभावित गर्दैन र भाडा पनि घटाउनुपर्दैन ।

शनिबार र मंगलबार कम दुर्घटना

बिमान दुर्घटनाको तथ्यांक बिश्लेषण गर्दा शनिबार र मंगलबार अन्य बारको तुलनामा कम दुर्घटना भएको देखिन्छ । विगतका १० वटा विमान दुर्घटनाको रेकर्ड हेर्दा शनिबार एउटा पनि दुर्घटना नै नभएको पाइयो । मंगलबार दुईवटा दुर्घटना भएको देखिन्छ ।

सबैभन्दा बढी दुर्घटना आइतबार (४ वटा) भएका छन् । जबकि ज्योतिषशास्त्रका हिसाबले आइतबार र बुधबार यात्राका लागि शुभ बारहरु हुन् ।

के भन्छ ज्योतिष विज्ञान ?

ज्योतिषशास्त्रले शनिबार मंगलबारका दिन शुभ कार्य गर्न नहुने बताउँछ । यी दुई दिनमा यात्रा सुरु गर्न वा नयाँ काम थालनी गर्न ठीक नहुने बाल्मीकी क्याम्पसका सहप्राध्यापक माधव पाण्डेयले बताए ।

तर, यात्रा शुभ वा अशुभ हुनमा अरु कुराको पनि भूमिका रहने उनको भनाइ छ । ‘बारबाहेक तिथि, योग, ग्रह र राशीले पनि यात्रा शुभ र अशुभ नहुने जनाउँछ,’ उनले अनलाइनखबरलाई भने ।

ज्योतिष शास्त्र अनुसार शनिबार र मंगलबार युद्ध तथा काटमार जस्ता काम गर्न पनि उचित नहुने पाण्डेयले बताए । उनले भने ‘आम सर्वसाधारणलाई ग्रह राशी र तिथिको ज्ञान हुँदैन, त्यसैले बारलाई मात्र आधार बनाउँछन् ।’

भाडा दर अस्थिर

पछिल्लो समय देशमा रहेका बिमान कम्पनीले बिमान ल्याउने क्रम बढेसँगै आन्तरिक उडानको भाडा घटाउनेमा प्रतिस्पर्धा बढेको छ । नेपाल वायुसेवा सञ्चालक संघका अनुसार विमान कम्पनीहरुबीच भाडा घटाएरै भए पनि विमानको फूल सीट नै बेच्ने प्रतिस्पर्धा बढेको छ ।

उनले भने ‘बिमान कम्पनीहरुले खाली सीट नराख्नका लागि केही दररेट घटाएर भए पनि यात्रु लाने क्रम बढेको छ ।’ तर यो दररेट स्थिर भने हुँदैन । यात्रु नभएका दिनमा मात्रै विमान कम्पनीहरुले यसरी भाडा घटाउने गरेका छन् । अन्य दिनमा भने पुरानै मूल्यमा सेवा दिइरहेको आचार्य बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment