Comments Add Comment

गजब निबन्ध: आइमाई साथी

कहिल्यै निष्क्रिय भएर नबस्ने मानिसले मनले कस्ता-कस्ता असम्भव कुराको त कल्पना गर्छ भने आफ्ना साथीहरु को-को छन् भन्ने विचार उठ्नुमा कुनै अस्वाभाविकता थिएन । यही साधारण कुरा एकदिन मेरो मनमा पनि उब्जियो । मैले आफ्ना सबैजसो साथीहरुलाई सम्झिहेरेँ । सकेसम्म बल गरी सम्झँदा पनि आफ्ना आइमाई साथीहरुको संख्या सयकडा पाँचसम्म पनि पुग्न सकेन अर्थात् सय जना साथीमध्ये पञ्चानब्बेभन्दा पनि बढी मेरा साथीहरुमध्ये धेरै जना लोग्नेमानिस नै हुनु अस्वाभाविक थिएन ।

तर, स्वास्नीमानिस साथीहरुको संख्या त्यस्तो विघ्न कम देख्ता भने मलाई साह्रै बेमज्जा लाग्यो । हुन त स्वास्नीमानिसलाई हेला गर्ने र पुरुषलाई प्रधानता दिने हाम्रो समाजमा जोसुकै लोग्नेमानिसको पनि स्वास्नीमान्छे साथीहरुको संख्या साह्रै कम हुन्छ, तैपनि आफ्ना आइमाई साथीहरुको संख्या हुनसम्म थोरै देख्ता हाम्रो समाजभरिमा सबभन्दा थोरै जना आइमाई साथीहरु भएको लोग्नेमानिस म नै हुँ कि जस्तो मलाई लाग्यो ।

साहित्य र राजनीतितर्फ लागी सामाजिक क्षेत्रमा चलेको अलि वर्ष बितिसकेकोले आइमाई साथी यतिविघ्न थोरै देख्ता मेरो मनमा झन् ज्यास्ती बिझ्यो किनभने नारीलाई नरकको मूलढोका नठान्ने र जीवनको सबैजसो क्षेत्रमा स्त्री-पुरुषको बराबर हक हुनुपर्छ भन्ने एवं पछौटे देशका आइमाईलाई घर नाउँको झ्यालखानाभित्र थुनिरहन नदिई सामाजिक क्षेत्रमा समेत लम्कन हौस्याउनेहरु साहित्य तथा राजनीति आदितर्फ लागेका आधुनिक युवकहरु नै हुन् । यस किसिमको कामको निम्ति महिलाहरुको सम्पर्कमा रहने गर्नु र उनीहरुमध्ये सकेसम्म बढी जनालाई आफ्नो मित्र बनाउन जरुरी समेत छ ।

सारा स्वास्नीमानिसहरुका बीचमा साहित्य र राजनीति जस्ता विषयहरु घुसाउन धेरै उन्नति भइसकेका मुलुकमा समेत स्वास्नीमानिस विशेषज्ञबाट जस्तो सजिलो लोग्नेमानिसहरुबाट हुँदैन भने महिला कार्यकर्ताहरुको ठूलो जमात खडा नपारेसम्म पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मधेस, पर्वत र उपत्यकामा फिँजिएका नेपालका साधारण नारीहरुमा जागृतिको लहर ल्याउन कसरी सकिएला ? अहिले पनि र भरे पनि समाजमा परिवर्तन तथा उन्नति ल्याउन खोज्ने साहित्य, शिक्षा र राजनीति आदि विभिन्न क्षेत्रका हामी लोग्नेमानिसहरुलाई देशको व्यापक नारीसमूहमा पुग्न आफ्ना आइमाई साथीहरुको सहयोग नै विशेष महत्त्व देखिन्छ ।

आइमाई साथीको महत्त्व र तिनको आवश्यकताबारे मैले जे-जस्तो र जतिसुकै विश्लेषण गरे पनि मेरा आइमाई साथीहरु भने अल्पतम संख्यामा हुनु मेरो निम्ति कठोर यथार्थता थियो । त्यसैले मैले बर्ता विश्लेषण मात्र नगरिरहेर अथवा फिक्री लिनपट्टि नलागेर आइमाई साथी बढाउन थाल्ने निधो गरेँ । साथीको मेरो अभिप्राय हो- सकभर धेरै अंशमा अथवा धेरै अंशमा नभए पनि दुई थरीका कुरा र उमेर समेत मिल्दो हुनु तथा हिमचिम हुनु ।

मानिस बेला-बेलामा अनेक किसिमका अठोटहरु गर्छ, तिनमध्ये धेरैजसो अठोट परिस्थितिको प्रतिकूलता र साधनको अभावले गर्दा क्रियान्वित हुन पाउँदैनन् । व्यक्तिका कतिचाहिँ नीच मार्ने बानी जस्ता आफ्नै दुर्बलताले गर्दा पनि त्यसै सेलाएर जान्छन् । आइमाई साथी बढाउने मेरो संकल्पलाई परिस्थितिजन्य बाधाले छेके पनि, यी बाधाको प्रभाव, उत्साह जस्ता भित्री प्रवृत्तिउपर समेत पर्ने भए पनि यस प्रयत्नमा भने उति शिथिलता आउन सकेन, किनभने एक त यहाँ नारी-पुरुषमा एक-दोस्राप्रति हुने स्वाभाविक आकर्षण त्यसै पनि सहायक झैं थियो; उसमाथि आफू उमेरदार पनि ।

तिनताक मेरो डेरा शहर नजिकैको गाउँमा थियो । आफ्नो कामको निम्ति मैले नित्य शहर जानुपर्थ्यो । मेरा छिमेकमा एक जना आइमाई मेरै उमेरकी थिइन् । उनी पनि किनमेल र आफ्ना इष्टमित्रसँग भेटघाट गर्न दिनहुँ भनेजस्तो शहर जाने गर्थिन् । म भर्खर त्यस गाउँमा बस्न गएकोले त्यहाँका सबैजसो मानिस मेरा निम्ति नौला थिए । यी आइमाई भने छिमेकी हुनाले कहिलेकाहीँ बोलचालसम्म हुन्थ्यो । एकदिन उनी शहर जाने बेला पारेर म पनि हिँडेँ । सधैं एक्लै भनेजसो हिँड्नुपर्ने हामी दुवै थरीलाई त्यस दिन कुरा गर्दै शहर जान पाउँदा बाटो काटेको पत्तै भएन- मानौं आँखा एकचोटि झिम्म होउञ्जेलमै हामी गाउँबाट शहर पुगिहाल्यौं ।

शहरबाट फर्कंदा प्राय: घाम डुब्ने बेला हुन्थ्यो र कहिलेकाहीँ त झमक्कै साँझ पनि परिहाल्थ्यो । घर आइपुग्ने बेलामा अलिकता बाटो डरलाग्दो खालको थियो । शहर पुगेपछि केही असहजिलो माने झैं गरी भरे पनि सँगै फर्कंदा पाए हुन्थ्यो भन्ने कुरा उनले चुहाइन् । साँझमा हामी सँगै फर्क्यौं पनि । फर्कंदा मैले अबदेखि शहर जाँदा-आउँदा सकभर सँगै जाने-आउने कुरा चलाएँ । अनि त्यस्तै हुन थाल्यो । मैले एक जना आइमाई साथी छिटै बनाइहालेँ ।

अलि दिनसम्म बाटो हिँड्दाका साथी अब हामी घरका पनि साथी भयौं । उनी मकहाँ आउने गर्थिन्, म उनीकहाँ जाने गर्थेँ । कहिले उनी मलाई डाकेर खाजा ख्वाउँथिन्, कहिले म उनीलाई बोलाएर ख्वाउँथेँ । दुई घरमध्ये एउटामा कुनै नौलो तरकारी पाक्यो भने दुवै थरीका मुखमा पर्थ्यो । उनी घरको कामधन्धा सिध्याएपछि बुन्ने वा बुट्टा भर्ने काम लिएर हामीकहाँ आई बस्थिन् । म आफ्ना कथा-निबन्ध आदि रचना तयार भएमा उनलाई सुनाउँथेँ । यसरी हाम्रो हिमचिम बढिरहेको थियो ।

हाम्रो मित्रता समाजलाई रुचेन । मानिसहरुले प्रशस्त कुरा काट्न थाले । अरुले कुरा काटे भन्दैमा परस्परको मित्रता तोड्नु रुढिवादी विचारको अघिल्तिर घुँडा टेक्नु हुन जान्थ्यो । यहाँ समाजसँग टेक लिनु मात्र थिएन, असल कुरामा टेक लिनु पनि थियो । तर, यस मित्रताको रुप यसैगरी खुला राख्छौं भनी अड्डी लिन पनि बुद्धिले मानेन, किनभने हाम्रो विचार असल भईकन पनि हामी निर्धा थियौं । संसारमा राम्रो विचार लिएर मात्रै पुग्दैन, राम्रो विचारको साथसाथै बलको पनि आवश्यकता पर्छ । रुख हुनुभन्दा अगिको विरुवालाई जोगाएर राख्नु जरुरी भए जस्तै असल विचारमा लाग्नेहरुले पनि बल नपुगुञ्जेल दबेर नबसी सुखै छैन, हामीले घरमा उस्तो नभेट्ने र बाहिर सँगै निस्किन पनि छाड्ने निधो गर्‍यौं ।

बाहिर देख्ता हाम्रो मित्रता अगिको भन्दा निकै घटिसकेको थियो । त्यसैले कुरा काट्नेहरु पनि अलि मत्थर भएर गए, तर हाम्रो मित्रता भने झन्-झन् दृढ हुँदै गइरहेको थियो । हामी दिनहुँ भनेजस्तो अगि-पछि पारेर गाउँबाट निकै पर-पर पुग्थ्यौं र घण्टौंसम्म बात मारेर बस्थ्यौं । यसरी समाजको आँखा छली कुनै नारीसँग मितेरी बढाउँदै जानुमा मैले कुनै अनैतिकता देखिनँ । आफूले खुला रुपबाट मैत्री सम्बन्ध राख्दा चाहँदा-चाहँदै पनि समाज असहिष्णु भई त्यसलाई लुकाउन बाध्य पार्छ भने यसको निम्ति मितेरी बढाउन खोज्ने स्त्री-पुरुष दोषी नभई मैत्री र सद्भावना जस्ता राम्रा कुरालाई हुर्कन नदिने समाज नै अपराधी हो भन्ने विचारमा म आज पनि दृढ छु ।

तर, परिस्थितिले पारेको त्यस्तो गोप्य किसिमको मैत्री अनैतिक नभए पनि जोखिमको कुरा त अवश्य नै हो । यसमा मुख्य दुई किसिमका जोखिम देखिन्छन्- एउटा त समय खेर जाला भन्ने, अर्कोचाहिँ एक-दोस्रालाई राम्ररी चिन्न नपाउँदै उनीहरुका बीचमा जोई-पोइको नाता जोरिन जाला भन्ने । अलि दिन समय खेर गइसकेपछि हामीलाई यस कुराको चेत आयो । हुन त हाम्रो कुराको विषय कहिल्यै नराम्रो रहेन । अझ ज्यादाजसो कुरा वर्तमान समाजका दुर्गुणहरुका बारेमा नै हुन्थ्यो । तर, ती कुरा असल भए पनि र असल कुरालाई वर्षौंसम्म दोहोर्‍याइरहे पनि कुराबाट मात्र त समाजका भनिनसक्ना दुर्गुणमध्ये एउटासम्म पनि हराएर जाने होइन । त्यसैले हामीले कामलाई समेत मित्रताको आधार बनाउने अठोट गर्‍यौं ।

मैले त्यस गाउँका निकै जना ठिटाहरुलाई पनि पढाउने काम भने बाँकी नै थियो । मैले आफ्नी साथीछेउ गाउँका ठिटाहरुलाई पनि पढाउने प्रस्ताव राखेँ । उनीलाई चाहिँ आफूले पढाउने र उनीबाट आफूले नेवारी भाषा सिक्ने कुरा पनि गरेँ । यसरी काम लिएपछि हाम्रो समय खेर जान कम हुँदै आयो । अर्को जोखिमबाट जोगिन एक-दुई जना अरु साथी पनि छिटै जोर्ने निधो गर्‍यौं । त्यसो भएको खण्डमा हामी दुई जनाले सधैं एकान्तमा भेट गर्नुपर्ने अवस्था रहन आउँदैनथ्यो । यस निर्णयको अलि दिनपछि नै शहरतिरको काम बढेकोले भ्याउन नसक्ता मैले गाउँको डेरा छाड्नुपर्‍यो । त्यसको अलि दिनपछि मेरी साथीको बिहे भयो र उनी पनि टाढाको अर्कै गाउँमा घरजम गर्न पुगिन् । हाम्रो भेट नभएकव अहिले धेरै समय बितिसक्यो, तर उनीसितको मित्रता सम्झँदा मलाई निकै आनन्द लागेर आउँछ र त्यसले आइमाई साथी बनाउने कुरामा मलाई प्रेरणा दिने गर्छ ।

बाटो हिँड्दा, रेल-मोटर चढ्दा र होटेल-रेष्टुराँहरुमा खाँदा, बस्ता वा अरु औसरमा हाम्रो कति यस्ता मानिसहरुसँग भेट-कुराकानी हुने गर्छ, जोसँगको केही छिनको मित्रता पनि चिरस्मरणीय विषय भएर हाम्रो स्मृतिपटमा अङ्कित हुनुपर्छ । कति जनासँगको त्यबेलाको मैत्रीपूर्ण कुराकानी पछिसम्म त सम्झिरहिन्न, तर त्यस दिन वा छिनको निम्ति मात्तै भने पनि त्यो साह्रै आनन्द दिने हुन्छ । यस किसिमको थोरै समयको मैत्री र सद्भावनापूर्ण कुराकानीले आनन्द लाग्ने मात्र होइन, स्वदेश-विदेशका घटनाहरु, राजनीति र विज्ञान, साहित्य, शिक्षा र धर्म आदि सांस्कृतिक विषय तथा दैनिक जीवनका अनेक समस्याहरु इत्यादि अनेक विषयमा हामीलाई विभिन्न दृष्टिकोण समेत थाहा हुन्छ र देशवासीहरुको बौद्धिक तहका साथै देशले कुन किसिमको कोल्टे फेर्न आँटिरहेछ भन्ने बुझ्न पनि धेरै मद्दत हुन्छ, तर हाम्रा नागरिक स्त्री-पुरुषहरुमध्ये दुवै थरीलाई एक-दोस्राको सम्पर्कमा आउन असजिलो वातावरण भएकोले माथि लेखे जस्तव आनन्द र ज्ञानबाट हामी ५० प्रतिशतभन्दा कम मात्रामा वञ्चित भएका छैनौं ।

समुद्रपारिका नारीहरुलाई साथी बनाउनु बरु सजिलो होला, तर आफ्नो देशका, आफ्नो शहर र गाउँका, आफ्नो टोल र छिमेकका आइमाईलाई धेरै गाह्रो पर्छ । तर, गाह्रो भन्दैमा राम्रो कामबाट पन्छिनु उचित कुरा होइन । त्यसैले आइमाई साथी बनाउन सकिने किसिमको औसर पर्दा म प्राय: पछि सर्ने गर्दिनँ ।

एकदिन मध्याह्नमा टुँडिखेलमा हिँडिरहेको बेलामा संयोगवश एक जना युवतीसँग भेट भयो । उनी पनि म जान लागेतिरै गइरहेकी थिइन् । उनीलाई मैले चिनेको थिइनँ । केही मिनेटसम्म सँगसँगै जस्तो हिँडिसकेपछि र उसले उसलाई अनेक पल्ट हेरिसकेपछि पनि हामीमा बोलचाल हुन सकेन । कहिले त मेरो मनमा लाग्यो, सँगसँगै हिँड्न आइपुगेकोले यिनले नराम्रो मानिन् कि ? यिनलाई उछिनेर अगि-अगि जानुपर्‍यो । कि अलि पछि नै हिँड्न छाडेर किन त्यस्तो कृत्रिम गति झिकिरहूँ ? बाटो हिँड्दा सँगै परियो भन्दैमा उनी नराम्रो मान्छिन् भने मेरो के बिराम ? फेरि उनीले त्यस्तो नराम्रो मानेकी पनि छैनन् कि ?

उनलाई अगि-अगि पार्ने विचार अस्वाभाविक लागेर आफ्नो मतामसा उनी सँगसँगै हिँडिरहेपछि परस्परमा बोलचाल नगर्नु पनि मलाई अस्वाभाविक नै लाग्यो । मानिस भएर पनि र मनमा बोल्ने इच्छा भएर पनि रबरका पुतलीहरु झैं त्यसरी चुप लागेर हिँडिरहँदा मलाई साह्रै उकुसमुकुस भएर आयो । त्यसरी बाटामा सँगसँगै हुन आइपुगेको मानिस पुरुष भएको भए एकछिनमै उनीसँग मेरा कति कुराकानी भइसक्ने थिए । तर, बाटाकी ती साथी नारी हुँदा एक वचन बोल्न पनि धकाउनुपर्ने अवस्थाको निम्ति मलाई आफ्नो समाजसँग औधी रिस उठ्यो, तर समाजका चित्त नबुझ्दा कुराहरुसँग कुपित भएर मात्र त स्वस्थ संस्कृतिको सिर्जना र विकास हुन सक्ने होइन । समाजको नवनिर्माण गर्न चाहने युवक-युवतीहरुले त मैत्री र सद्भावनायुक्त हुनाका साथै आँटी हुनु पनि साह्रै जरुरी छ ।

त्यस कारण, मैले जे परी-परी भन्ने इदमित्थंमा पुगेर सोधेँ- ‘होइन, तपाईं कहाँसम्म जानुहुने ?’

उनीले सहजै जवाफ दिइन्- ‘रेडियो स्टेशन । तपाईं नि ?’

‘म पुतलीसडकतिर जान लागेको । सिंहदरबारसम्म त तपाईंको साथी हुन आइपुगेछु’- मैले प्रत्युत्तरमा भनेँ ।

त्यसपछि सिंहदरबारको ढोकासम्म हामी बात मार्दै गयौं । मेरो तर्क-वितर्क सबै हराएर गए, मन नै हलौं भयो ।

बाटामा यस्ता एकछिने साथी सम्बन्धी मेरो अनुभवका अरु पक्ष पनि छन् । एकपल्ट बर्खायाममा म कुनै फाँटमा हिँडिरहेको थिएँ । साँझ पर्ने बेला भएको थियो र गाउँमा पुग्न पन्ध्र-बीस मिनेट अझै लम्कनुपर्थ्यो । एक्कासि बादल चुहिन थाल्यो र रुझाउने खालकै पानी पर्‍यो । मैले छाता उछारेँ, तर मभन्दा आठ-दस पाइलाअघि हिँडिरहेकी तरुनीसँग भने छाता वा घूम ओढ्ने केही थिएनन् । गाउँ नपुगी त्यस फाँटमा ओत लाग्ने ठाउँ पनि कहीँ थिएन ।

यहाँनिर आइमाई साथी बनाउने रहरको मात्र कुरा नभएर मानवताकै प्रश्न थियो । सँगसँगै हिँडिरहेका दुई जना बटुवामध्ये एउटाको छातामुनि ओत लाग्ने ठाउँ बाँकी हुँदाहुँदै पनि अर्कोचाहिँ बटुवा रुझिरहेको थियो । आगलागी, बाढी वा भुइँचालो जस्ता आपत्तिमा परेका मानिसको रक्षा गर्न सोधिरहनु नपरे झैं रुझिरहेकी ती आइमाई छाता ओढाउन म अलि लम्केँ । तर, उनीनिर पुगेपछि मैले झट्ट छाता ओढाइनहालेर शिष्टतापूर्वक निम्तो गरेँ- ‘छाता हुँदाहुँदै किन रुझ्नुहुन्छ ? आउनुहोस् ।’

तर, यसपल्ट मलाई रेडियो-गायिकाले दिए झैं सोझो जवाफ मिलेन । ‘चाहिँदैन हामीलाई कसैको छातासाता !’ भन्दै ती तरुनीले रिस, शंका र डर इत्यादि भावहरु मिसिएको जस्तो अनुहार लाइन्, तैपनि मैले दोहोर्‍याएर आग्रह गर्न बाँकी राखिनँ- ‘गाह्रो वा नराम्रो मान्नु पर्दैन । बरु गाउँ पस्ने बेलामा छुट्टिनुहोला । अहिले यसरी नभिज्नोस्, आउनोस् !’ कुनै जवाफ नदिई युवती झन् तड्किन थालिन् अनि मैले पनि आफूलाई पछि पार्नु नै उचित ठानेँ ।

त्यही फाँटमा केही दिनअगि त्यस्तै झरीको साँझ एक जना तन्नेरीलाई पनि छाता ओढाएको थिएँ । उनी मेरै गाउँ नजिकको अर्को गाउँमा बस्ने सिपाही रहेछन् र त्यस साँझ एक जना मन्त्रीज्यूको ढोकामा आफ्नो ड्युटी सिध्याएर फर्केका रहेछन् । मैले उनलाई उनको दैलोसम्म पुर्‍याइदिएको थिएँ र यस चिनारीले हामीलाई पछि पनि एक-दोस्राको साथी तुल्याएको थियो ।

यी दुई तुलनात्मक घटनाको सम्झना हुनासाथ मेरो मनमा स्त्री-पुरुषको सम्बन्धबारे अनेक किसिमका प्रश्नहरु उठ्छन् । जस्तै- छाता ओढाउन खोज्नु मेरै दोष हो अथवा त्यसबेला छाता ओढ्नुबाट दप्कनु ती ठिटीकै दुर्बलता हो ? म दोषी भए कति, कुन कारणले दोषी हुँ र ठिटीकै कमजोरी हो भने उनमा किन त्यस्तो कमजोरी आयो ? पुरुषको त्यस्तो निम्तोलाई स्वच्छ हृदयले स्वीकार गर्ने कैयन् नारीहरुले धोका खाएका छैनन् र ? के त्यसरी धोका दिनेहरु पनि समाजमा छैनन् ? यसरी स्त्री-पुरुष दुवै थरीमा धोका दिनेहरु छन् भने किन त ? यीमध्ये एक थरीले बढी धोका दिने गरेका छन् भने त्यसो पनि किन ? के सधैं यस्तै रहिरहनु उचित छ ? यस्तो रहिरहनु राम्रो होइन भने यो स्थितिलाई कसरी सपार्ने ? के आइमाई र लोग्नेमानिस एक-दोस्राबाट सकेसम्म टाढा राख्ने गर्नु नै सुधारको राम्रो उपाय हो ? त्यसै हो भने हाम्रो समाज किन सच्चरित्र र निष्ठावान् बन्न सकेन ? किन यहाँ पारस्परिक अविश्वास र दुर्भावना ? किन आत्मबलको अभाव ? यस्तो प्रश्न अनगन्ती छन् ।

स्वास्नीमान्छेलाई लोग्नेमान्छे र लोग्नेमानिसलाई स्वास्नीमानिस साथी बनाउन अप्ठ्यारो पार्ने एउटा ठूलो कारण सिद्धान्तलाई पूजा गर्ने हाम्रो बानी पनि हो अर्थात् हामी सिद्धान्तलाई व्यावहारिक रुप दिने प्रयत्न गर्नुको सट्टा त्यसको खालि गुन गाएर हिँड्छौं । हामी न्यायको माहात्म्य गाउँछौं, तर स्वयं अन्याय गर्नबाट पछि सर्दैनौं । हामी विश्वबन्धुत्व र देशभक्तिको बयान गर्छौं, तर खुद मानवताको विपरीत र देश भाँड्ने काम गरेर हिँड्छौं । हामी साम्प्रदायिकताको निन्दा गर्छौं, आर्थिक समानता र स्त्री-पुरुषको समानताको ओड लिन्छौं, तर आफैं साम्प्रदायिक भावना अनुसार चल्छौं, आफैं स्त्री-पुरुषको समानता र आर्थिक समानताको उल्टो हिँड्छौं । हाम्रा सबैजसो सिद्धान्त र व्यवहारमा यस्तै ठूला-ठूला विरोधाभासहरु देखिन्छन् । म अझ एक-दुई उदाहरण तेर्स्याउन चाहन्छु ।

अचेल म काठमाडौं शहरका सडक, गल्लीहरुमा हिँड्दा कहिलेकाहीँ केही त्यस्ता स्वास्नीमान्छेलाई पनि देख्छु, जसले मलाई लेखकको रुपमा चिनेका छन् र मप्रति तिनीहरुको कुनै किसिमको नराम्रो भावना छैन । तीमध्ये कति जनाको मलाई नाउँ पनि थाहा छ र कति जनालाई म अनुहारबाट मात्रै चिन्दछु । ती सबैप्रति हृदयमा पनि सद्भावना छ तथा म तिनीहरुसँग मैत्री सम्बन्ध राख्न चाहन्छु । कुनै समय तिनीहरुसँग मेरो दोहोरो कुराकानी भएथ्यो ।

तर, अहिले बाटामा भेटिँदा हामी एक-दोस्रा थरीसँग बोल्दैनौं, दुवै थरीका अनुहारबाट एक-दोस्रालाई चिनेको भाव झल्किरहन्छ, तापनि हामी नचिनेको मानिस अथवा चिनजान बिर्सिसकेका मानिस झैं गरी हिँड्छौं । यिनीहरुमध्ये धेरै जनालाई मैले काठमाडौंका हाइस्कूलहरुमा साहित्यसम्बन्धी प्रवचन दिन गएका बेलामा चिनेको हुँ । यीमध्ये एक जना छात्राले म त्यसबेला मधेसबाट आएको हुनाले मधेसका आइमाईहरुको अवस्था सोधेकी थिइन् र अर्कीले तराईमा स्त्रीशिक्षाको कत्तिको प्रचार छ भन्ने प्रश्न गरेकी थिइन्, अर्कीचाहिँले साहित्यसम्बन्धी एक-दुई प्रश्न सोधेकी थिइन् र अर्कीले मेरो भ्रमणका सम्बन्धमा चाख देखाएकी थिइन् ।

हाइस्कूलका यी छात्राहरु अहिले कलेजमा पुगेकाले मेरो मनमा यिनीहरुप्रति स्याबासी जनाउने विचार छ र दुई-अढाई वर्षअगि नै देशको विभिन्न भागमा आइमाईहरुको शैक्षिक अवस्था जान्न खोज्ने यी छात्राहरु अचेल के-कस्तो विचार गर्दा हुन्, उनीहरुसँग कुरा गरेर बुझ्न मलाई मन लाग्छ । तर, लोग्नेमानिस र आइमाईको बीचमा रहेको कालो पर्खालले हामीलाई परस्परमा बोलचाल गर्न र पुरानो सम्झना दोहोर्‍याउन ठूलो बाधा ठड्याइदिएको छ ।

यस्तो देख्दा मलाई स्कूल र कलेजभित्र पसी सारा पुस्तकहरु च्यातचुत पारी मिल्काउने मन लाग्छ । समानता र सद्भावनाका कुरा भएका हामी सबै दाजुभाइ-दिदीबहिनी हौं, परस्परमा एक-दोस्राप्रति सहृदयता तथा सद्भावना हुनुपर्छ भन्ने आशयका राम्रा-राम्रा शिक्षा भएका ती सारा पुस्तक-पुस्तिकाहरुलाई टुँडिखेलको माझमा थुपारी दुई-चार टङ्की मट्टितेल वा पेट्रोल खन्याई तिनमा आगो सल्काइदिन मन लाग्छ र तिनको सट्टा त्यस्ता नयाँ पाठ्यपुस्तकहरु तयार पार्ने भावना उम्लेर आउँछ, जुन पाठ्यपुस्तकमा प्रचलित व्यवहार र धारणा अनुसारकै कुरा रहून्, जसबाट प्रचलित जीवनमा काम नलाग्ने शिक्षा प्राप्त गर्नामा हाम्रा विद्यार्थीहरुले समय खेर फाल्न नपरोस् अर्थात् तिनमा ‘प्रत्येक स्त्री वेश्या र प्रत्येक पुरुष फुँडो हो, कसैले कसैप्रति सद्भावना राख्ने गर्नु हुन्न । चिनेका नर-नारी भेटिँदा दुई शब्द बोल्नु, नसम्ते वा यस्तै अन्य संकेतबाट परस्परमा स्वागत गर्न अथवा सुमसुम्याएर हामीले एक-दोस्रालाई बिर्सेका छैनौं भन्ने सद्भावना देखाउनु जस्ता काम व्यभिचार हुन्, प्रत्येक स्त्रीले पुरुषलाई देख्ता र पुरुषले स्त्रीलाई देख्ता अपराधीले झैं भुइँमा आँखा जोत्ने अथवा मुण्टो बटारेर हिँड्ने गर्नुपर्छ, मनुष्यत्त्व भनेकै यही हो, यस्तै सभ्यता र संस्कृतिबाट नै नेपालको विकास हुन सक्नेछ’ भन्ने खालका कुराहरु नरहून् ।

यो त चिनेका दुई-चार जना छात्राहरुले नचिने झैं गरी हिँड्दा वा हिँड्नुपर्दा ममा आउने भावना भयो । तर, मेरो यस्तो भावना त्यसबेला पराकाष्ठामा पुग्छ, जब म साहित्यिक, राजनीतिक र सामाजिक विभिन्न क्षेत्रमा काम गरिरहेका आफ्ना केही प्रगतिशील साथीहरुको एक-दुई व्यवहार सम्झन्छु । ती आइमाई र लोग्नेमानिसको निम्ति समानताको मात्र कुरा नगरेर नेपाल जस्तो मुलुकमा विकासको निम्ति पुरुषले भन्दा कम मौका पाइआएका नारीहरुलाई अगि बढाउन विशेष प्रोत्साहन दिने गर्नुपर्छ पनि भन्छन् । उन्नत देशहरुमा आइमाईको कति राम्रो अवस्था छ भन्ने विषयमा ती कुरैपिच्छे भने झैं अरुलाई व्याख्यान दिन सक्छन्, यस विषयमा घण्टौंसम्म भाषण गर्न सक्छन तथा लेख र पुस्तक-पुस्तिका लेख्न सक्छन् । तर, उनीहरुका घरमा धेरै पल्ट पुगियो, उनीहरुले कहिल्यै यी मेरी श्रीमती, यहाँ मेरी दी वा यी मेरी मेरी बहिनी हुन् भनेर चिनारी गराएनन् । आफूलाई भेट्न आउने साथीलाई घरका अरु जहानसँग पनि चिनारी गराउन बिर्सनु हुन्न भन्ने खालको कुनै नियम भएको भए यी साथीहरुलाई सो कुराको सम्झना गराउँदो हुँ, तर यहाँ नियम-कानूनको कुरा नभएर विचार र भावनाको कुरा थियो । त्यसैले यसबारे केही नबोलेरै म फर्केको छु ।

हुन त ती साथीहरुले स्वास्नीले आफ्ना साथीहरुसँग लोग्नेलाई चिनजान गराउन नथालुञ्जेल लोग्नेले मात्र आफ्ना साथीहरुलाई स्वास्नीको किन परिचय गराउने भन्ने समान दृष्टिकोण लिएको पनि हुन सक्छ । यस्ता घरायसी कुरालाई छाडिदिऊँ भने उनीहरुमध्ये धेरैजसोले आफ्नी श्रीमतीलाई पुस्तकालय, मैत्रीसंघ र अरु सामाजिक वा राजनीतिक संस्थाहरुको सदस्य बनाउने गरेको पनि देखिन्न । अनि स्वास्नीमानिसले लोग्नेमानिस र लोग्नेमानिसले स्वास्नीमानिस साथी बनाउने बनाउने अवसर कसरी परिरहने गर्नु ? आफ्ना त्यस्ता साथीहरुकहाँ गएपिच्छे भनेजसो मलाई एउटा पण्डितको कथा समझना नभई छाड्दैन- जो आफ्नी दुलहीलाई कोठामा थुनी, ताल्चा मारी, साँचो जनैमा झुण्ड्याएर सभामा नारी-स्वतन्त्रताको महत्व एवं आवश्यकताबारे व्याख्या दिन जाने गर्थे ।

काठमाडौंमा पत्र-मैत्रीसंघ पनि छन्, तिनका नियम मलाई थाहा छैन । म भन्न सक्तिनँ, यी संघद्वारा विदेशमा मात्र साथी बनाउन पाइने हो अथवा स्वदेशमा पनि र आइमाईले आइमाई नै र लोग्नेमान्छे लोग्नेमान्छे नै साथी बनाउन सक्ने हुन् अथवा जसले जोसुकैलाई साथी बनाऊँ भने पनि पाइने हो । यसका केही नियम त्रुटिपूर्ण होऊन् तापनि संसारका सबैजसो सभ्य मुलुकमा प्रशस्त संख्यामा भएको पत्र-मैत्रीसंघ जस्तो राम्रो माध्यम हाम्रो देशमा पनि हुनु हर्षकै कुरा हो । पत्र-मैत्रीसंघको कुरा आउँदा आफूले चिठीबाट मितेरी गर्न खोजेका कुराहरु पनि सम्झन्छु ।

एकपल्ट मधेसतिर एक जना सज्जनकहाँ सात-दस दिन बस्ने काम परेको थियो । त्यसबेला उनको घरमा बूढाबूढीदेखि लिएर केटाकेटीसम्म सबैजसो स्त्री-पुरुषसँग मेरो राम्रो सम्पर्क हुन पायो । ती सज्जनका एउटा छोरा र एउटी छोरी उमेरदार थिए । दुवै हुलाक टिकटहरु संग्रह गर्न थालेका रहेछन् । तिनताका मैले पनि टिक-संग्रहमा चाख लिएको थिएँ । दुवै थरीले एक-दोस्रालाई टिकट-संग्रह बढाउनमा सघाउने र चिठी लेख्ने गर्ने हामीले टुङ्गो लायौं । घर फर्केपछि मैले उनीहरुलाई महिनाको एक-दुई चिठी र चिठीका साथै केही टिकटहरु पनि पठाउन थालेँ । मलाई पनि दुवै साथी चिठी लेख्थे, तर आइमाई साथीको चिठीमा चाहिँ प्राय: मेरो चिठी पाइनँ भन्ने गुनासो हुन्थ्यो । पछि थाहा भयो- उनको पिताजीका हातमा मात्र चिठी दिइँदा रहेछन्, तर प्रगतिशील भनी कहलिएकाले छोरीलाई चिठी लेख्नुबाट रोक्न पनि सक्ता रहेनछन् ।

यसरी मैले आइमाई साथी बनाउने प्रयत्नमा अरु पनि निकै जनासँग चिठीचपेटा गर्न खोजेँ । त्यसै बेला थाहा भयो, हाम्रो पत्रिकाहरुमा रचना प्रकाशित गर्ने कतिपय लेखिका र कवयित्री वास्तवमा पुरुष नै हुँदा रहेछन् । यस्ता तीता-मीठा सबै अनुभवहरुलाई यहाँ कोरिरहेर साध्य छैन ।

तर, एउटासम्म त अर्को कुरा पनि खोलिहालूँ, के भने यसैगरी आइमाई साथी बनाउने क्रममा नै एक जना मेरो प्रेम र बिहे पनि भयो । मैले घडी, दिन, महिना र वर्षको निम्ति मात्र होइन, जीवनसाथीका रुपमा नै आइमाई पाएँ, तर बिहे हुनासाथ हामीमा जोई-पोइको साइनु पनि लागिहाल्यो । त्यसैले आइमाई साथी मात्र नभएर पत्नी, बहिनी, दिदी, भाउनू, बुहारी, काकी, भान्जी, फुपू, सानीमा र भतिजी इत्यादि समेत हुन् ।

मेरो विचार छ- यस्तो कुनै नाता नपर्ने केही आइमाई साथी पनि प्रत्येक पुरुषको हुनुपर्दछ, जसरी कुनै साइनु नलागेका प्रशस्त पुरुषहरु हाम्रा साथी छन् ।

(‘साझा निबन्ध’बाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment