Comments Add Comment

राप-ताप: सौरभले कविताको सौन्दर्यमा मिहिनेत गरोस्

कवि नवीन प्राचीनको नजरमा कवि सौरभ कार्की


युवा कवि सौरभ कार्कीले कथाहरु लेख्नुका साथै पछिल्लो समय नाटक लेखनमा पनि हात हालेका छन् । हालै उनी पहिलो कविताकृति
दृश्य बाहिर लिएर आएका छन् । उनै सौरभको गुण र दोष केलाउन केही समयअघि मात्र उभिएर एक्लैकविताकृति ल्याएका कवि नवीन प्राचीन कस्सिएका छन् । रापतापस्तम्भमा नवीनले समकालीन कवि सौरभको व्यक्तित्व र कृतित्वको शल्यक्रिया यसरी गरे: 

कविको रुपमा सौरभ

कुनै पनि विषयलाई हेर्ने उसको दृष्टिकोण अलि भिन्न लाग्छ मलाई । कवितालाई असाध्य प्रेम र सम्मान गर्ने सर्जकको रुपमा म उसलाई चिन्छु ।

व्यक्तिको रुपमा

सबभन्दा मुख्य कुरा त ऊ स्पष्ट छ । लागेका कुरा हाकाहाकी भन्छ । लिनु-दिनु, नाफा-घाटा र पछि यो मान्छे चाहिन्छ है भन्ने सोचेर बोल्दैन । सम्बन्धको कूटनीति नविचारी ठाडै प्रस्तुत हुने उसको शैली छ । त्यसरी ठाडै भन्दा कतिपयले उसलाई गलत रुपमा पनि बुझ्न सक्छन् । तर, उसको मन सफा छ ।

जहाँ पनि एउटै तरिकाले प्रस्तुत भएर सबैसँग समान किसिमको व्यवहार गर्छ । यो उसको विशेषता पनि होला, कमजोरी पनि ।

उसको कविताको विशेषता

शैलीगत हिसाबले ऊ अरुभन्दा पृथक् छ । विषय प्रस्तुतिको दृष्टिकोण पनि भिन्न नै लाग्छ । बृहत् विषयका सूक्ष्म र छुटेका कुरा उसको कविताका विशेषता हुन् ।

कविताको सीमा

उसले कविताका लागि छान्ने विषय अरु कविले लेख्ने जस्तै नै हो । राजनीति र समाजकै कुरा टिप्ने हो । तर, ऊ छुटेका कुरा लेख्छ । त्यसबाट पृथक् पाटो निस्किन्छ । तर, पृथक् हुनुको जोखिम के हुन्छ भने कविले जबसम्म आफू जस्तै सोचाइ भएको पाठक पाउँदैन, तबसम्म ऊ एक्लो हुन्छ ।

सौरभको कविताको प्रवाहलाई अब जाँच्नु छ, कृति सार्वजनिक भएपछि । यसको जाँच राम्रै होला ।

सुधार्नुपर्ने कुरा

उसले कविताको सौन्दर्य पक्षमा ध्यान दिँदै काव्यात्मकतामा अलि बढी मिहिनेत गर्नुपर्छ जस्तो लाग्छ । कविता मन्त्र जस्तै र सूत्रात्मक हुनुपर्छ । कवितामा उसको भाषा आख्यानको जस्तै छ । कवितालाई खाँद्ने र परिमार्जन गर्नेतिर ऊ लागोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment