Comments Add Comment

बजारको उतारचढावमा निर्णय लिन आरएसआई सूचक कसरी गणना गर्ने ?


९ वैशाख, काठमाडाैं ।रिलेटिभ स्ट्रेन्थ इण्डेक्स बजार वा सेयरको प्राविधिक अध्ययनमा निकै प्रचलित उपकरण हो । यसको प्रयोगले बजारमा सेयर खरीदविक्रीको चाप कुन अवस्थामा छ भन्ने जान्न सकिन्छ ।

यसबाट बजारमा कति बेला प्रवेश गर्ने वा कत्ति बेला निस्कने भन्ने जानकारी पाइन्छ । समग्र बजारको मात्र नभएर आरएसआईको प्रयोग स्टक सेयर (कम्पनीको सेयर)को अध्ययन गर्न पनि प्रयोग गरिन्छ ।

आरएसआईको मान वा सूचक निकाल्न गणितीय सूत्रको प्रयोग गरिन्छ । यसरी सूत्र प्रयोग गरेर निस्कने मान वा सूचक जहिले पनि शून्यदेखि १ सय बिन्दुको रेञ्जमा रहन्छ ।

आरएसआई मानमध्ये तीन मुख्य क्षेत्रलाई आधार बनाएर लगानी निर्णय लिने चलन छ । यस्तो मुख्य क्षेत्र हो, ओभरसोल्ड जोन (मान ३० भन्दा मुनि हुँदा), न्युट्रल जोन (मान ३० देखि ७० सम्मको बीच) र ओभरबट जोन (मान ७० भन्दा माथि हुँदा) ।

एक दिनको आरएसआई सूचक वा मान हेरेर लगानी निर्णय गर्नुभन्दा यस्तो मानहरूको गति हेरेर लिनु सही हुन्छ । यसका लागि हरेक दिनको आरएसआई मानलाई अद्यावधिक गरी एड्भान्स स्केलमा राखेर वा रेखा चित्र बनाएर यसको गति हेर्न सकिन्छ ।

३० भन्दा मुनि (ओभरसोल्ड जोन)

आरएसआईको मान ३० भन्दा मुनि भएमा बजार वा निश्चित कम्पनीको सेयरमा विक्री चाप बढी छ भन्ने सङ्केत गर्छ । आरएसआईको मान घट्दै ३० मुनि गइरहेको छ भने यसले बजारमा विक्री चाप बढिरहेको, तर बजार वा सम्बन्धित कम्पनीको सेयरमूल्य चाँडै सुधार हुन सक्ने सङ्केत पनि गर्छ ।

आरएसआईको मान ३० मुनि रहँदा बढ्दो क्रममा (मानौं, मान २० थियो र बढ्दै २७ मा) देखिन थालेमा भने सेयर किन्न शुरू गर्नु उपयुक्त हुन्छ । यो क्रममा मान बढेर ३० माथि पुग्न लागेमा विक्री बढाउन सकिन्छ ।

३० भन्दा माथि ७० भन्दा मुनि (न्युट्रन जोन)

आरएसआईको मान ३० भन्दा माथि र ७० भन्दा मुनि रहे न्युट्रल जोनमा रहेको मानिन्छ । यसले बजारमा सेयर खरीदविक्री चाप सन्तुलित रहेको सङ्केत गर्छ ।

तर, यो क्षेत्रमा पनि मान बढ्दो वा घट्दो कुन क्रममा छ, हेर्नुपर्छ । ३० बाट बढ्दो क्रममा छ भने खरीद बढाउँदै र ७० भन्दा मुनि घट्दो क्रममा मानहरू देखापरिरहेका छन् भने विक्री बढाउन सकिन्छ । तर, बढ्दो क्रममा ७० बिन्दुमा पुगेपछि भने सतर्कता अपनाउनुपर्छ ।

७० भन्दा माथि (ओभरबट जोन)

आरएसआईको मान ७० माथि लाग्नु भनेको बजारमा खरीद चाप बढ्न थालेको भन्ने बुझिन्छ । बजार सूचक वा सेयरमूल्यको यस्तो मान यो बिन्दुबाट माथि लाग्न थालेमा सचेत लगानीकर्ता भने क्रमशः विक्री बढाउन थाल्छन् । किनभने, यसले सेयरमूल्य वा सूचकमा चाँडै नै संशोधन हुने र घट्न सक्ने सङ्केत पनि गर्छ ।

आरएसआईको सिद्धान्त

आरएसआईको सिद्धान्त विश्वकै ठूला सेयर लगानीकर्ता वारेन बफेटको सेयर बजारसँग प्रचलित भनाइसँग ठ्याक्कै मिल्छ । त्यो हो, ‘बी फेयरफुल ह्वेन अदर्स आर ग्रिडी एण्ड ग्रिडी ह्वेन अदर्स आर फेयरफुल’ अर्थात् अरू लोभी भएको समयमा तिमी डराऊ तर अरू डराएको समयमा भने तिमी लोभी बन ।

त्यसैले, बजारमा विक्री चाप बढ्दा अवस्था हेरेर सेयर खरीद बढाउँदै लैजान सकिन्छ भने खरीद चाप बढ्दा विस्तारै सेयर विक्री बढाउँदै जानु सही हुन्छ । यसैका लागि आरएसआईको मानको गति हेर्ने गरिएको हो ।

कतिपयले यस्तो मानको मध्य बिन्दु ५० लाई आधार मानेर पनि खरीद तथा विक्रीको निर्णय लिने गर्छन् । ५० बिन्दु माथि लागेमा बजार वा सेयरमूल्य बुलिश प्रवृत्तिमा प्रवेश गरेको र ५० मुनि लाग्न थालेमा भने बियरिश प्रवृत्तिमा जान थालेको भन्ने अर्थ लाग्छ ।

कसरी निकाल्ने आरएसआई मान ?

आरएसआई सूचक निकाल्दा अघिल्ला १४ दिनको तथ्याङ्क लिएर गणना गरिन्छ । यसको गणनामा १४ दिनभित्र सूचक वा मूल्यले जोडेको कुल अङ्क निकालिन्छ भने त्यही १४ दिनभित्र सूचक वा मूल्यले कति अङ्क गुमाएको छ, त्यसको पनि कुल निकालिन्छ ।


यसले जोडेको कुल अङ्कलाई १४  (१४ दिनको तथ्याङ्क भएको) ले भाग गरेर औसत निकालिन्छ भने र यो अवधिमा गुमाएको कुल अङ्कलाई पनि १४ ले नै भाग गरिन्छ । जोडेको अङ्कको औसतलाई गुमाएको अङ्कको औसतले भाग गरिन्छ । यसरी आउने भागफललाई आरएस पनि भनिन्छ । अब आरएसआई निकाल्न । १००–१०० / (१+ आरएस) भन्ने सूत्र प्रयोग गरिन्छ ।

१४/१४ दिनको तथ्याङ्क लिँदा पनि ध्यान दिनुपर्छ । पहिलो आरएसआई मान आएपछि दोस्रो मान निकाल्न अघिल्लो पटकको १४ दिनमा पहिलो दिनको तथ्याङ्क हटाउने, तर त्यतिखेरको १४ औं दिन पछिको (१५ दिनको) तथ्याङ्क पनि समावेश गरेर १४ दिन पुर्याउने गर्दै क्रमशः मान निकाल्न सकिन्छ । यसरी आएका मानहरूलाई रेखाचित्र वा स्केलमा राखेर विश्लेषण गर्दै लगानी निर्णय लिन सकिन्छ ।

आरएसआईमा डबल बटमको मनोविज्ञान

मूल्य वा सूचकको रेखाचित्र विश्लेषणमा प्रयोग हुने डबल बटमको सिद्धान्त आरएसआई मानको रेखाचित्र विश्लेषणमा पनि लागू हुन्छ । आरएसआई मान ३० भन्दा तल पुगेर बनाउने पहिलो न्यून बिन्दु पुग्दा उच्च विक्री रहेको हुन्छ ।

तर, ३० भन्दा तलको न्यून बिन्दुबाट यो सूचक बढ्न भनेको ३० को तहमाथि उक्लने प्रयासमा रहेको र चाँडै नै अघिल्लो न्यून बिन्दुमै फर्कन्छ । यसपटकको कमीपछिको वृद्धिदर भने उच्च हुने र ३० तहभन्दा माथि लाग्ने मनोविज्ञान रहने गरेको छ । यसले रेखाचित्रमा डब्लु आकृतिसमेत निर्माण गर्छ, यो आकृति नै मूल्य बढ्ने सङ्केत पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment