Comments Add Comment

धनगढी प्रिमियर लिगमा महंगा खेलाडीको सस्तो प्रदर्शन !

नेपालमै पहिलो पटक खेलाडी अक्सनको आधारमा आयोजना गरिएको प्रतियोगिता हो धनगढी प्रिमयर लिग । पहिलो संस्करणको फाइनल खेलमा शनिवार बिराटनगर किङ्ग्सलाई ६२ रनको फराकिलो अन्तरले पराजित गर्दै पारस खड्काको टिम टिम चौराहाले धनगढी प्रिमियर लिग क्रिकेटको उपाधि जितेको छ ।

खेलाडीहरुलाई बिभिन्न समूहमा बर्गीकरण गरी फरक फरक मूल्य तोकेर अक्सन गराइएको थियो । टिम मालिकले बढीमा १ लाख सम्मको कबोल गर्न सक्नेगरी गरिएको अक्सनमा बर्गीकरणमा उच्च श्रेणीमा परेका अर्थात राष्ट्रिय टोलीबाट १५ भन्दा बढी खेल खेलेका चार क्रिकेटरले १ लाख मूल्य पाएका थिए । अर्थात कप्तानलाई छाडेर उनीहरु सबैभन्दा महंगा खेलाडी बनेका थिए ।

मेहबुब आलम र करण केसीलाई सिवाइबी अत्तरियाले १/१ लाख खर्चँदा काठमाडौं गोल्डेन्सले सोमपाल कामी र कञ्चनपुर आइकोनिकले सागर पुनका लागि समान मूल्य खर्चिएका थिए ।

तर, चारै जनाको प्रदर्शन यस्तो रहेन कि उनीहरुले प्ले अफमा स्थान बनाउन सके । काठमाडौं गोल्डेन्स एलिमिनेटरमा पुगेपनि महंगा खेलाडीको अन्य टिमले लिगचरण पार गर्न सकेनन् ।

मेहबुब आलम

कीर्तिमानी क्रिकेटर तथा भेट्रान अलराउण्डर मेहबुब आलमका लागि सिवाइवी अत्तरियाले सर्बाधिक रकम खर्चेको थियो । तर कैलालीको एसएसपी क्रिकेट मैदानमा उनले आफ्नो त्यो खुवी देखाउन सकेनन् जति अत्तरियाले अपेक्षा गरेको थियो ।

केन्या बिरुद्धको खेलमा राष्ट्रिय टोलीमा परेर बिशेष गरी बलिङमा राम्रो छाप देखाएका मेहबुबले धनगढीमा बलिङ ब्याटिङ दुवैमा उल्लेखनीय छाप छोड्न सकेनन् ।

मेहबुबले प्रतियोगिताको पाँच इनिङमा जम्मा ३६ रन बनाए । जसमा बिरानगर किङ्सबिरुद्ध बनाएको २७ रन उनको सर्बाधिक स्कोर हो । त्यस्तै उनले बलिङतर्फ ५.पाचौं इनिङ खेलेर मात्र ४ विकेट लिए । जसका लागि उनले ८४ रन खर्चिए । धनगढी टिम चौराहाबिरुद्ध उनले ३ विकेट लिएका थिए ।

करण केसी

नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर करण केसीलाई बलरको रुपमा अत्तरियाले १ लाखको बोली लगाएको थियो । तर गत फागुन २८ गते विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत केन्याबिरुद्धको खेलको एक दिनअघि एपेण्डिक्स देखिएसँग उनको शल्याक्रिया भयो ।

अत्तरियाका लागि उनले बलिङ गर्न नसक्ने भए र ब्याटिङमा ध्यान दिए ।

एपेण्डिक्सको शल्याक्रियापछि छोटो तयारीसँगै ब्याटिङमा आएका करणबाट धेरै आशा गर्नु जायज हुन्नन । तै पनि उनले खेल्न सक्ने आत्मविश्वास देखाए र अत्तरियाले टिममा समावेश गर्‍यो ।

अत्तरियाले खेलेका ५ मध्ये ४ इनिङमा उनले ब्याटिङ गरे र जम्मा ५१ रन बनाए । एकै इनिङमा उनले बनाएको सर्बाधिक स्कोर धनगढी टिम चौराहाबिरुद्धको अविजित २५ रन हो ।

सागर पुन

राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा अलराउण्डर सागर पुनको धनगढी पि्रमियर लिगको प्रदर्शन कमजोर भने होइन । तर उनको टोली लिग चरणबाट माथि जान सकेन ।

सागरले प्रतियोगिताको ५ इनिङमा १२२ रन बनाए । काठमाडौं गोल्डेन्सबिरुद्ध ४० तथा रुपन्देही च्यालेञ्र्सबिरुद्धको ३९ रन तत् तत् इनिङको सर्बाधिक रन हो ।

बलिङतर्फ भने उनको प्रदर्शन सन्तोषजनक रहेन । पाँच मध्ये तीन इनिङमा बलिङ गरेका उनले ६ विकृट लिए । जसमा बिराटनगर किङ्सबिरुद्धको पाँच विकेट समावेश छ । ३.१ ओभरमा २१ रन खर्चेर उनले ५ विकेट लिएका थिए । डिपिएलको एकै इनिङमा सर्बाधिक विकेट लिने खेलाडीको रेकर्ड उनकै नाममा छ ।

सोमपाल कामी

ब्याटिङ र बलिङ दुवैमा शानदार प्रदर्शनका बाबजुद दुर्भाग्यबस सोमपाल कामीको टोली काठमाडौं गोल्डेन्सले प्रतियोगिताको प्लेअफमा स्थान बनाउन सकेन । इलिमिनेटर खेलमा गोल्डेन्स चौराहासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

अक्सनमा डिपिएलमा सहभागी छ मध्ये पाँच टोलीले १ लाखको बोली लगाएपछि गोलाप्रथामार्फत सोमपाल काठमाडौंको टिममा पुगेका हुन् । उनको स्तर अनुसारको प्रदर्शन प्रत्येक खेलमा रहृयो । नेपाली टोलीका तीव्र गतिका नम्बर एक बलर कामीले डिपिएलमा ब्याटिङमा पनि उत्तिकै प्रदर्शन गरे ।
६ इनिङमा उनले १२१ रनको योगदान दिए भने ११ विकेट लिए । सर्बाधिक विकेट लिनेमा उनको नाम चौथो स्थानमा छ ।

प्रतियोगिताको पहिलो खेलमै उनले सिवाइवी अत्तरियाबिरुद्ध ४० रनको इनिङ खेलेका थिए ।त्यस्तै उनले काठमाडौं गोल्डेन्सबिरुद्ध ३९ तथा लिग चरणमा धनगढी टिम चौराहाबिरुद्ध २४ रन उनको याटबाट निस्कियो ।

बलिङतर्फ पनि उनले प्रत्येक खेलमा विकेट लिए । जसमध्ये रुपन्देहीच्यालेञ्जर्सबिरुद्ध ४ तथा धनगढी टिम चौराहाविरुद्धको ३ विकेट उल्लेखनीय छन् ।

सुपर फ्लप कप्तान बिनोद भण्डारी

प्रतियोगिता अघिसम्म कञ्चनपुर आइकोनिक लिग चरणबाटै घर फर्किनुपर्ला भनेर सायदैले सोचेका थिए । ब्याटिङ र बलिङ दुवैमा उत्तिकै राम्रा खेलाडीहरु समेटिएपनि धनगढीको ४० डिग्रीसम्मको उच्च तापक्रममा उसका खेलाडीहरुले खेल्न सकेनन्/चाहेनन् ।

यसको सबैभन्दा ठूदो दोष गरे कप्तान बिनोद भण्डारीको काँघमा जान्छ ।

उनी कञ्चनपुरका कप्तानका अलावा मूख्य ब्याट्सम्यान पनि हुन् । तर पाँच खेल खेलेको कञ्चनपुरका लागि एउटा पनि यस्तो इनिङ रहेन जसमा बिनोदले आज चाहीँ खेल्यो है भन्न सकियोस् ।

लिग चरणको पाचौं खेलमा सिवाइसी अत्तरियाबिरुद्ध बनाएको १६ रन उनको ब्याटबाट निस्किएको सर्बाधिक स्कोर हो । नत्र अन्य खेलमा उनको ब्याटिङ स्कोर सुरुदेखि क्रमसः ६, ६, ०, ४ रहृयो । कञ्चनपुरले लिगको पाँच खेलमध्ये दुईमा जित निकालेको थियो ।

९५ हजारका नरेशको प्रदर्शन पनि उत्तिकै निराशाजनक

नेपाली राष्ट्रिय टोलीका ओपनर ब्याट्सम्यान हुन् नरेश बुढायर । उनलाई काठमाडौं गोल्डेन्सले ९५ हजार खर्चिएको थियो र उनी टोलीका मूख्य ब्याट्सम्यान थिए । तर प्रतियोगिताभर उनको प्रदर्शन उल्लेखनी देखिएन । बलर सोमपाल कामीको जति रनपनि उनको ब्याटबाट निस्किएन ।

प्रतियोगिताभर नरेशले जम्मा ६१ रन काठमाडौंका लागि जोडे । जसमा इलिमिनेटर खेल अन्तर्गत धनगढी टिम चौराहाबिरुद्ध बनाएको २९ रन उनको सर्बाधिक स्कोर हो ।

त्यसअघि उनको ब्याटबाट सुरुदेखि क्रमसः ६, १०, १३, ० र ३ रनमा निस्कियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment