Comments Add Comment

स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सरकार र मधेसी मोर्चा सहमत

९ बैशाख, काठमाडौं । सरकार र मधेसी मधेसी मोर्चाले संविधान संशोधन विधेयक परिर्माजनमा सहमति जुटाएका छन् । साथै स्थानीय तहको चुनाव दुई चरणमा गर्ने सहमति भएको छ ।

तर, सरकार र मधेसी मोर्चाका बीचमा लिखित सहमति भने भएको छैन ।

सत्तारुढ दल र मधेसी मोर्चाबीच शनिबार बालुवाटारमा भएको वार्तामा संशोधन विधेयकमा गर्ने परिर्माजनमा सहमति जुटाएको छ । यसबारे भोलि मन्त्रिपरिषद्ले निर्णय लिनेछ ।

केके भयो सहमति ?

संघीय समाजवादी फोरमका सहअध्यक्ष एवं कार्यदल सदस्य राजेन्द्र श्रेष्ठका अनुसार सरकारले पछिल्लो पटक ल्याएको संविधान संशोधन विधेयकमा गरिने संशोधनहरु तय भएको छ ।

उनका अनुसार संशोधन विधेयकको धारा ७ मा उपधारा ३ थप गरेर भाषा आयोगले सरकारी कामकाजको भाषा भनी सिफारिस गरेका भाषालाई संविधानको अनुसूचीमा समावेश गर्ने सहमति भएको छ ।

साथै संघीय आयोग प्रदेशहरुको सीमा, संख्याका साथै स्वायक्त, संरक्षित र विशेष संरचनाबारे निश्चित समयभित्र प्रतिवेदन दिने र सरकारले त्यस अनुसार गर्ने सहमति भएको छ ।

धारा २७४ मा कुनै पनि प्रदेशको सीमा हेरफेर गर्दा सम्वन्धित प्रदेशको सहमतिमा संघीय संसदले गर्ने र प्रदेश सभा नबन्दासम्म अहिलेकै संसदले गर्न सक्ने व्यवस्था गर्ने सहमति भएको छ ।

साथै सरकार तराई मधेसका जिल्लाहरुमा स्थानीय तहको संख्या जनसंख्याका आधारमा बढाउन पनि तयार भएको छ ।

शुक्रबार भएको वार्तामा सरकार संविधान संशोधन विधेयकमा परिर्माजन गर्दै आफ्ना माग सम्बोधन गर्न तयार भएपछि मधेसी मोर्चाले स्थानीय चुनाव सहभागी हुने बताएको थियो । साथै संशोधन विधेयकमा गरिने परिर्माजनबारे गृहकार्य गर्न कार्यदल गठन गरेको थियो ।

कार्यदल प्रस्तावमा शनिबार बसेको सत्तारुढ दल र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठकले सहमति जुटाएको छ ।

अब सरकारले मधेसी मोर्चासँग भएको सहमति अनुसार संशोधन विधेयक परिर्माजन गरीस्थानीय तहको निर्वाचन अघि नै पास गर्न प्रयास गर्नेछ । कांग्रेस नेता एवं कार्यदलका सदस्य कृष्ण सिटौलाले संशोधन विधेयक पास गर्न कुनै अफ्ठ्यारो नहुने विश्वास व्यक्त गरे ।

स्थानीय तहको निर्वाचन दुई चरणमा

सरकार र मधेसी मोर्चाबीच स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति पनि जुटेको छ ।

पहिलो चरणको चुनाव घोषित मिति बैशाख ३१ मै हुनेछ । दोस्रो चरणको चुनाव भने जेठ अन्तिम साता हुनेछ । ‘निर्वाचन आयोगसँग परामर्श गरेर मिति तय हुन्छ’ कांग्रेस नेता सिटौलाले भने ।

संविधान संशोधन विधेयक परिमार्जन र दुई चरणको निर्वाचनबारे सरकारले भोलि मन्त्रिपरिषद्बाट निर्णय गर्नेछ । लगतै मधेसी मोर्चा र संघीय गठवन्धनले पनि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिनेछ ।

मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले भने, ‘भोलि सरकारले परिर्माजसहित संशोधन विधेयक पास गर्ने र दुई चरणमा निर्वाचन गर्ने पिनर्णय गरेपछि आन्दोलन स्थगनको निर्णय लिन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment