Comments Add Comment

नेपाली गजलबारे गैरेको कृति

काठमाडौं । डा. नारायणप्रसाद शर्मा गैरेको समालोचना कृति ‘नेपाली गजलको परम्परा र प्रवृत्ति’ बजारमा आएको छ ।

शनिबार राजधानीमा अनाममण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले आयोजना गरेको कार्यक्रममा समालोचक प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेलले पुस्तक सार्वजनिक गरे । पुस्तकमाथि टिप्पणी गर्दै युवा समालोचक घनेन्द्र ओझाले पुस्तक नेपाली गजलको सांगोपांगो अवस्थाको अध्ययन गरेर लेखिएको र प्राज्ञिक शोधग्रन्थ भएकाले खोजमूलक रहेको बताए ।

गजलकार ज्ञानुवाकर पौडेलले नेपाली गजलकारहरु विभिन्न मतमा विभाजित रहेको अवस्थामा यस्ता शोधग्रन्थ र समालोचना कृतिको प्रचुरताबाटै नेपाली गजललाई परिस्कृत बनाउन सकिने उल्लेख गरे । अर्का गजलकार ललिजन रावलले गजलबारे पछिल्लो समय देखिएका विवाद अनावश्यक भएको भन्दै गजलबारे गलत धारणा चिर्न यस्ता पुस्तकहरु अझै आउनुपर्नेमा जोड दिए ।

यस्तै, गजल अन्वेषक डा. दीपककुमार खड्काले नेपाली साहित्यमा गजललाई स्थापित गराउन अझै धेरै काम गर्न बाँकी रहेको बताए । त्रिभुवन विश्वविद्यालय जस्ता प्राज्ञिक निकाय यसका लागि बढी जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।

प्रा. डा. लुइँटेलले सो पुस्तक आफ्नै शोध निर्देशनमा तयार भएको र शोधकर्ताले अत्यन्तै इमानदारीपूर्वक शोध कार्य पूरा गरी पुस्तकका रुपमा ल्याएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment