Comments Add Comment

गुल्मेलीको जहाज चढ्ने सपना पूरा हुँदै

दशैं अघि नै जहाज उडाउने तयारी

निर्माण कार्य भैरहेको सिमिचौरस्थित रेसुङ्गा बिमानस्थल । तस्वीरः अनिल खत्री/गुल्मी

१० बैशाख, तम्घास । गुल्मीमा झण्डै १० वर्ष अघिदेखि निर्माण कार्य शुरु गरिएको रेसुंगा विमानस्थल निर्माण अन्तिम चरण पुग्न थालेको छ । २०६३ देखि विमानस्थल निर्माण सुरु गरिए पनि काम ढिलो भएको थियो । पछिल्लो समय विमानस्थल निर्माणले गति लिएपछि दशैंसम्म धुले उडान गर्न सकिने रेसुंगा विमानस्थल निर्माण समितिको विश्वास छ ।

‘विमानस्थल निर्माण कार्य अन्तिम चरण पुग्न थालेसँगै गुल्मेलीहरुको जहाज चढ्ने सपना पूरा हुने आशा पलाएको छ,’ रेसुंगा विमानस्थल निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्तले भने ।

सुनील समीर निर्माण सेवाले विमानस्थल निर्माणको काम गरिरहेको छ । सम्झौताभन्दा अगाडि नै काम सक्ने लक्ष्यसहित काम भइरहेको निर्माण सेवाका नारायण पोख्रेलले बताए । ‘सम्झौता मंसिरसम्मको भए पनि बीचमा कुनै अवरोध नआए असार अगाडि नै काम सक्ने गरी काम भइरहेको छ,’ पोख्रेलले भने ।

अहिले ग्याबिन र वास आउटिङको काम बाँकी रहेको पोख्रेलले बताए । ‘समयमै बजेट विनियोजन भए बाँकी काम सकेर विमानस्थलबाट आउने दशैंमा धुले उडान गर्न सकिन्छ,’ उनले भने ।

बिमानस्थलको ६ सय १० मिटर धावन मार्ग र ३० मिटर चौडाई रहेको छ ।

विमानस्थल निर्माणका लागि सिमीचौर थालेमालेका केही घरपरिवारलाई अन्यत्रै सारिएको छ । कुल जमिन ७८ रोपनी १० आना क्षेत्रफलमध्ये ५६ रोपनी सार्वजनिक जग्गा छ । त्यसमध्ये २२ रोपनी १० आना जग्गामा भएका ४६ घरधुरीलाई मुआब्जा दिएर अन्यत्र सारिएको विमानस्थल निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिए ।

केही समय मुआब्जा विषयमा विवाद भएपछि निर्माण कार्य रोकिएको थियो । दलहरु र प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको मुआब्जा समितिले सम्पत्तिको मूल्यांकनका आधारमा मुआब्जा वितरण गरेपछि विवाद सुल्झिएको थियो । बिमानस्थल निर्माणको क्रममा अहिलेसम्म ५ हजारदेखि १७ लाखसम्म मुआब्जा वितरण गरिएको समितिका अध्यक्ष पन्तको भनाइ छ । कुल ४६ घरपरिवारलाई अहिलेसम्म करिब ८५ लाख मुआब्जा वितरण भइसकेको पन्तले बताए ।

विश्वस्त छैनन् स्थानीय

विमानस्थल निर्माण सुरु भएको लामो समय भएकाले पनि स्थानीय तत्काल उडान हुनेमा भने विश्वस्त छैनन् । कामको प्रकृति हेर्दा विमानस्थल समयमै बन्लाजस्तो नलागेको रेसुंगा नगरपालिकाका लक्ष्मी अर्यालले बताए ।

रेसुंगा विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब ११ करोड रुपैयाँ खर्च भएको विमानस्थल निर्माण समितिका पूर्वअध्यक्ष जयप्रसाद अर्यालले जानकारी दिए । यो वर्ष ४ करोड ३४ लाख, गत वर्ष ३ करोड १ लाख र अघिल्ला वर्षमा पर्यटन मन्त्रालयबाट रकम प्राप्त भएको थियो । विमानस्थलको टावर र भवन निर्माणका लागि २ करोड स्वीकृत भइसकेको छ ।

अहिलेको सम्झौताको ५० प्रतिशत काम सकिएपछि अर्को टेन्डर आहृवान गर्ने तयारी छ । ठेकेदारबाट सम्झौताअनुसारको काम नभएको स्थानीयको गुनासोपछि ध्यानाकर्षण गराइएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment