Comments Add Comment

वैदेशिक रोजागारीमा जानु अघि पुनर्निर्माणमा २० हजारको जागिर


१० वैशाख, काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले वैदेशिक रोजगारीमा जाने प्रक्रियामा रहेको युवाहरुलाई छोटो समयका लागि पुनर्निर्माणमा खटाउने भएको छ । पुनर्निर्माणमा दक्ष कामदारको अभाव भएपछि प्राधिकरणले अल्पकालीन रोजगारी दिएर युवाहरुलाई खटाउन लागेको हो ।

यसबारे आइतबार वैदेशिक रोजगार ब्यवसायी संघ र पुनर्निर्माण प्राधिकरणबीच सम्झौता भएको छ ।

सहमति अनुसार बैदेशिक रोजगारीमा जान भिसाका लागि म्यानपावरमार्फत एप्लाइ गरेर बसेका युवालाइ पुननिर्माणको काममा खटाइनेछ । यसरी खटिनेलाई मासिक झण्डै २० हजार पारिश्रमिक पाउनेछन् ।

साथै अवधिमा राम्रो काम गरे दक्षता भएकालाई डकर्मी तालिमको प्रमाणपत्र पनि दिइने पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता यमलाल भुसालकाअनुसार विभिन्न स्थानमा कामदारको अभाव भएकाले विभिन्न संस्थाको समन्वयमा युवालाई खटाउन लागिएको हो ।

‘पुनर्निर्माण डकर्मीहरुको अभाव छ । एकहप्ते तालिम दिएर युवालाई गाउँ पठाइनेछ । त्यसबापत उनीहरुले न्युनतम् ज्याला पनि पाउनेछन्’ भुसालले भने,’उनीहरुलाई गाउँघरमा कसरी ब्यवस्थापन गर्नेभन्ने निर्णय प्राधिकरणले लिन्छ ।’

सहमति अनुसार म्यानपावर ब्यवसायीले आफ्नो कम्पनीमा भिसा एप्लाइका लागि आएका युवाहरुलाई प्राधिकरणमा सम्पर्क गराइदिनेछ ।

इच्छुक युवाले विदेशमा कामका लागि भिसा नआन्जेलसम्म ज्याला लिएरै काम गर्न पाउने भएकाले यो निकै उपयुक्त भएको वैदेशिक रोजगार ब्यवसायी संघका महासचिव रोहन गुरुङ बताउँछन् ।

‘हामीकहाँ आएका युवा इच्छुक भए भने हामी प्राधिककरणमा उहाँहरुलाई सम्पर्क गराइदिन्छौं । भिसा आउन लाग्ने समयका बीचमा पनि कामदार त्यसै बसिरहनुपर्दैन’ गुरुङले भने, ‘छोटो तालिम दिएर युवालाई गाउँमा पठाउँदा पुनर्निर्माणमा पनि सहयोग पुग्छ ।’

अहिले विदेशमा रोजगारीका लागि भिसा प्रोसेसिङमा २ महिनाभन्दा बढी लाग्छ । विदेश जान लागेका युवाहरुले यो समयमा श्रम गर्दा पुनर्निर्माणले पनि गति लिने र केही पैसा आर्जन गर्ने प्रवक्ता भुसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment