Comments Add Comment

फरक शैलीमा ‘दृश्य बाहिर’

काठमाडौं । नाटकघर खचाखच भरिइसकेको छ । शनिबारे झरी छल्दै शहरका विभिन्न ठाउँबाट थिएटर मल, सुन्धारामा भेला भएकाहरुमा उत्सुकता देखिन्छ ।

यत्तिकैमा रंगकर्मी राजन खतिवडा कुर्सीबाट जुरुक्क उठेर कविता पढ्न थाले । लाग्यो, कुनै नाटक सुरु हुँदै छ ।

तर, उनी मञ्चमा पुगेर कार्यक्रमबारे आफैंले भूमिका बाँध्न थाले । ‘आज यहाँ कोही पनि कार्यक्रम सञ्चालक छैन’, कवि विप्लव प्रतीकलाई मञ्चमा बोलाउँदै उनले सिलसिला जोडे, ‘हामीलाई गफी भनेर बोलाइएको छ । हामी आज निश्फिक्री गफिनेछौं ।’

त्यसपछि यी दुई गफीहरु साहित्य, समाज, प्रेम लगायत विविध विषयमा संवाद गर्ने मुडमा देखिए । सन्दर्भ थियो कवि सौरभ कार्कीको कविताकृति ‘दृश्य बाहिर’ सार्वजनिक गर्ने ।

राजनले टेबलमा अण्डा र टमाटर पनि सरक्क राख्न भ्याइसकेका थिए । दर्शकको जिज्ञासु नजरलाई सम्बोधन गर्दै उनले गाँठो खोलिहाले- ‘कविता सार्वजनिक गर्ने कार्यक्रममा यसरी नाटकको मान्छे किन आएको भन्ने लाग्ला । मैले बोलेका कुरा यदि तपाईंहरुलाई चित्त बुझेन भने अण्डा र टमाटरले मलाई हान्न सक्नुहुन्छ ।’

आमने-सामने कुर्सीमा बसेर संवादमा जोडिएका राजन र विप्लव घरि दृश्य भित्र रहेर कवितासंग्रहबारे कुरा गर्थे, घरि दृश्य बाहिर छरिँदै विविध विषयको चर्चा गर्थे ।

कविताको अंश लेखिएका फोटोहरु प्रोजेक्टरमा एकपछि अर्को गरी देखिँदै थियो, हलमा रहेका कविताप्रेमीहरु फरक शैलीको संवादको मजा चाख्दै थिए । रंगकर्मी र कविको हाजिरजवाफी शैलीले कहिले काउकुती लगाउँथ्यो त कहिले सोच्न बाध्य पार्थ्यो ।

कवितासंग्रहको पानाहरु पल्टाउँदै गर्दा राजनले नयाँ कुरा फेला पारे झैं औंल्याए, ‘मैले सौरभका कविताहरु सरसर्ती हेरेँ । उसले प्रेम चाहिँ धेरै गरेछ है !’

विप्लवले गहन रुपमा सोधे- ‘प्रेम धेरै गरेछ भन्नुको अर्थ धेरै जनासँग भनेको कि प्रेम नै धेरै गरेछ भनेको ?’

दर्शकदीर्घामा हाँसो फैलियो । प्रेमको यो प्रसंगसँगै वार्तालाप अझ रोचक देखियो ।

हाँसोमा लर्बरिएको हललाई सम्हाल्दै विप्लव प्रेमको व्याख्याता नै भएर देखा परे, ‘प्रेम भनेको केटा र केटीबीचको सम्बन्ध मात्र होइन । प्रेम त साधना हो । त्यसलाई व्यवहारमा पालना गर्दा झन् कष्ट पर्छ । प्रेममा चोटको प्रादुर्भाव हुन्छ । प्रेम नगरीकन मान्छे कवि नै हुँदैन ।’

विप्लवले कविता र त्यसले उठाउने विषयबारे बोलिरहँदा राजन चाहिँ कविताको अंश लेखिएका फोटोहरु काटिरहेका थिए । हरेक पानामा कविताका पंक्ति लेखिएका दुई फोटो थिए ।

कविता लेखनसँग आफ्नो आत्मीयता जोड्दै विप्लवले लेखनको अमृत-स्वाद कवितामा पाइने बताए । उनले कवि ईर्ष्या र लालसारहित हुनुपर्ने धारणा राख्दै त्यस्तो भाव आफूले सौरभमा पाएको उल्लेख गरे । कविले कुनै कृति निकाल्नुभन्दा पनि ऊ वास्तविक जीवनमा कति कवि भएर बाँच्यो भन्ने कुराले अर्थ राख्ने उनको भनाइ थियो ।

‘पहिले मलाई किताब निकाल्नुपर्छ जस्तो लाग्थ्यो, अहिले त्यस्तो लाग्दैन’, उनले कारण दिँदै भने, ‘कविको चरित्र आफूले निर्वाह गर्नु सबभन्दा महत्वपूर्ण कुरा हो । अरु कुरा तपसिलका हुन् ।’

कार्यक्रमको अन्त्यमा कवितासंग्रहको लोकार्पण पनि फरक शैलीमा गरियो । दर्शकदीर्घामा रहेकामध्ये बैशाख महिनामा जन्मदिन पर्नेलाई मञ्चमा निम्त्याइयो । यो चिट्ठा पर्‍यो कवि/निबन्धकार कुमारी लामा र एक कविताप्रेमीलाई । उनीहरुले किताबको आवरण देखाएसँगै कृति सार्वजनिक भएको थियो ।

संवादकै क्रममा कवि सौरभका साथै विप्लव र राजनले कवि कृतिभित्रको एक-एक वटा कविता वाचन गरेका थिए । राजनले आफूले काटेका फोटोहरु कविताप्रेमीहरुलाई उपहारस्वरुप बाँडेका थिए ।

यो उपहार सायद अण्डा र टमाटरको खपत हुन नपाएकोमा पनि थियो । तर, संवादका अनेकौं रोचक किस्साबीच त्यो पाटो सबैको आँखाबाट दृश्य बाहिर पुगिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment