Comments Add Comment

दोलखाका सबै गाउँ र नगरपालिकामा एमालेका उम्मेदवार तय (सूचीसहित)

सत्तारुढ मोर्चाबन्दीको सामना गर्न ठूला नेता मैदानमा

११ बैशाख, काठमाडौं । नेकपा एमालेले दोलखा जिल्लाका सबै स्थानीय तहमा प्रमुख र उपप्रमुखका उम्मेदवारको टुंगो लगाएको छ ।

पार्टीका जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल तामाकोशी गाउँपालिका प्रमुखको उम्मेदवार बनेका छन् । उनी यसअघि जफे गाविसको अध्यक्ष र जिल्ला विकास समितिको सदस्य भइसकेका नेता हुन् ।

तामाकोशी गाउँपालिका उपप्रमुखमा उर्मिला खड्का केसीलाई उम्मेदवार बनाइएको छ ।

त्यसैगरी जिल्ला उपाध्यक्ष नरबहादुर श्रेष्ठ मेलुङ गाउँपालिका प्रमुखको उम्मेदवार बनेका छन् । उनी यसअघि भेड्पु गाविसको अध्यक्ष भइसकेका नेता हुन् । मेलुङको उपप्रमुखमा कल्पना भण्डारीले टिकट पाएकी छन् ।

दोलखाका दुई नगरपालिकामध्ये धेरै जनसंख्या रहेको सदरमुकाम अवस्थित भीमेश्वर नगरपालिकामा एमालेले भरत केसीलाई मेयर र कमला बस्नेतलाई उपमेयरमा टुंगो लगाएको छ ।

त्यस्तै जिरी नगरपालिकाको प्रमुखमा टंक जिरेल र उपप्रमुखमा निर्मला बुढाथोकीको नाम टुंगो लागेको छ । जिरेल चुनावको मुखैमा कांग्रेस परित्याग गरेर एमालेमा प्रवेश गरेका व्यक्ति हुन् । उनी यसअघि जिरीको गाविस अध्यक्ष र कांग्रेस महासमिति सदस्य थिए ।

गाउँपालिकामा कोको ?

एमालेले गौरीशंकर गाउँपालिका प्रमुखमा सोयम खड्का र उपप्रमुखमा उर्मिला थामीको नाम टुंगो लगाएको छ ।

त्यस्तै वैत्यश्वर गाउँपालिका प्रमुखमा ऋषिकेश उप्रेती र उपप्रमुखमा शान्तिमाया तामाङलाई अघि सारेको छ ।

शैलुङ गाउँपालिका प्रमुखमा जिल्ला सचिव भरत दुलाल र उपप्रमुखमा लालमाया योन्जनको नाम टुंगो लागेको एमालेले जनाएको छ ।

कालिन्चोक गाउँपालिका प्रमुखमा विनकुमार थामी र उपप्रमुखमा कालिका पाठकलाई अघि सारिएको छ ।

बिगु गाउँपालिका प्रमुखमा सुन्दर लामिछाने र उपप्रमुख गोमा केसी तय भएका छन् ।

जिल्ला कमिटीले सबै गाउँपालिका र नगरपालिकामा एक-एकजना मात्रै उम्मेदवार प्रदेशमा सिफारिस गरेकाले उनीहरुले नै टिकट पाउने निश्चित भएको हो ।

सत्तारुढ मोर्चाबन्दीको सामना गर्न ठूला नेता मैदानमा

संसदमा एमालेले दुवै सिट जितेको दोलखामा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेर जाने छलफल चलाइरहेका छन् । सत्तापक्षको मोर्चाबन्दीको सामना गर्न एमालेले पार्टीका जिल्ला अध्यक्ष, उपाध्यक्ष र सचिवसहितका ठूला नेताहरुलाई स्थानीय तहको उम्मेदवार बनाएको हो ।

कांग्रेस र माओवादी सगायतका दलहरु गठबन्धन बनाएर आफू विरुद्ध उभिने भएपछि एमालेले जिल्लाका शीर्ष नेताहरुलाई चुनावी मैदानमा पठाएको केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज पार्वत गुरुङले बताए ।

कांग्रेस, माओवादीलगायतका दलहरु भने उम्मेदवार घोषणाको आन्तरिक तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment