Comments Add Comment

ओली निवासमा एमाले स्थायी कमिटीको बैठक

स्थानीय चुनाव र संविधान संशोधन मुख्य एजेण्डा


११ बैशाख, काठमाडौं । सरकारले संविधान संशोधन विधेयक परिमार्जनसहित संसदमा टेबल गर्न लागिरहेको र चुनाव दुई चरणमा गर्ने गरी प्रक्रिया अघि बढाएको सन्दर्भमा छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।

ओली निवास बालकोटमा बोलाइएको बैठकमा सरकारको तयारी तथा पार्टीको रणनीतिबारे छलफल हुने एमाले सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराईले बताए ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने र सोही अनुसार पार्टी अघि बढ्ने एमाले सचिव भट्टराईले बताए । बैठकपछि एमालेले दुई चरणको चुनाव र संविधान संशोधनका बारेमा आफ्नो औपचारिक धारणा सार्वजनिक गर्नेछ ।

सरकार र मधेसी मोर्चाबीचको सहमतिबारे अनविज्ञता प्रकट गर्दै आएको एमालेले मोर्चासँग भएको भनिएका सहमति लिखितरुपमा मागेको छ । शनिबार प्रधानमन्त्री प्रचण्डसँग भएको भेटमा एमाले अध्यक्ष ओलीले लिखित प्रस्ताव हेर्न मागेका छन् ।

मधेसी मोर्चासँग सत्ता गठबन्धनले गरेका सहमति स्वीकार गर्ने कि नगर्ने भन्ने बारेमा पनि बैठकले ठोस धारणा बनाउनेछ ।

एमाले नेताहरुले मोर्चासहित चुनावमा आउने अवस्थामा दुई चरण चुनाव मान्न सकिने तर वीचमा बजेट ल्याएर दोस्रो चरणको चुनाव गराउने प्रयास स्वीकार नगर्ने बताइरहेका छन् ।

बरु जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता फुकाउन पार्टीले सघाउन सक्ने संकेत ओलीले गरेका छन् ।

बजेट अघि नै अर्थात जेठ १५ भन्दा पहिले नै दोस्रो चरणको चुनाव गराउन सकिने अवस्था रहेको खण्डमा जेठ ३१ सम्म धकेल्न नहुने एमालेका केही नेताहरुको प्रस्ताव छ । यसबारेमा स्थायी कमिटी बैठकमा छलफल हुने बताइएको छ ।

स्थायी कमिटी बैठकमा स्थानीय तहका उम्मेदवार चयनका सन्दर्भमा पनि छलफल हुने भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment