Comments Add Comment

चमेलियाको ड्राइ टेस्ट जेठ १ गते गरिने, साइड टनेल बन्द गरिँदै

चमेलिया डाइभर्सन ड्याम

११ वैशाख, काठमाडौं । दार्चुलामा निर्माणाधीन ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको ड्राइ टेस्ट जेठ १ गते गर्ने तयारी भएको छ । निर्माण भएका उपकरण कन्डिसनमा छन् वा छैनन् र जडान ठिक तबरले गरिएको छ वा छैन भनेर यो परिक्षण गर्न लागिएको हो ।

चमेलिया जलविद्युत आयोजनाका प्रमुख अजय दाहालका अनुसार अहिले आयोजनाले साइड टनेल पनि बन्द गर्न लागिएको छ । पहिलो टनेल बन्द गर्ने काम सुरु भइसकेको छ भने दोस्रो टनेल बन्द गर्ने काम केही समयपछि सुरु हुनेछ । मूख्य सुरुङ खन्नका लागि प्रयोग भएका यस्ता टनेल ३ वटा खनिएका थिए । टनेल सफा गरिएपछि यस्तो साइड टनेल बन्द गर्ने काम सुरु हुन्छ ।

चमेलिया जलविद्युत आयोजनामा ६५ मिटर ‘रक ट्रयापिङ’ गर्नुपर्नेछ । यसमध्ये अहिलेसम्म १३ मिटरमा रक ट्रयापिङको काम सकिएको छ । बाँकीमा अहिले सरसफाइको काम भइरहेको दाहाल बताउँछन् ।

रोकिएको थियो एक वर्ष काम

दार्चुलाको शिखर गाविसमा निर्माणाधिन चमेलिया जलविद्युत आयोजनाको निर्माण सन् २००७ देखि सुरु भएको थियो । तर, लेखा समितिले भ्रष्टाचार भएको आशंकामा काम रोक्न निर्देशन दिएपछि लगभग एक वर्ष निर्माण रोकिन पुग्यो ।

कुल ६ सय ११ मिटर सुरुङ खनेको समयमा २ सय ३२ मिटर भने खुम्चिएको थियो । संसदको सार्वजनिक लेखा समितिले भेरियसन मूल्यांकनमा भ्रष्टाचार भएको भन्दै वीचैमा काम रोक्न निर्देशन दिएको थियो ।

सन् २०१५ को फेब्रुअरी १० देखि बन्द भएको सुरुङ मर्मतको काम सन् २०१६ को सेप्टेम्बर २८ बाट मात्रै सुरु भएको थियो । ऊर्जा मन्त्रालयले गत २२ सेप्टेम्बरमा नयाँ कार्यसूची दिई सन् २०१७ को डिसेम्बरमा आयोजना सम्पन्न गर्न निर्देशन दिएको थियो । अहिले सुरुङ निर्माणको काम सकिएको छ ।

यो आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी)ले निर्माण गरिरहेको छ । यो आयोजनाको कुल लागत अहिले १५ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । सरकारी बेवास्ता, ठेकेदार र परामर्शदाताको लापरवाहीका कारण ८ अर्ब रुपैयाँमा बन्नुपर्ने आयोजनाको लागत १५ अर्ब पुग्न गएको हो ।


आयोजनाले सिभिलतर्फको काम सेप्टेम्बर सम्ममा सक्ने योजना बनाएको दाहाल बताउँछन् । उनले भने, ‘सिभिल तर्फको काम सेप्टेम्बर सम्ममा सक्छौं, यो सकिएपछि इलेक्ट्रोमेकानिकलको काम सुरु हुन्छ ।’ उनका अनुसार अहिले टेल रेसमा पनि सरसफाइको काम सकिएको छ ।

आयोजनाले आगामी डिसेम्बरमा यसबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment