Comments Add Comment

भरतपुर महानगरको मेयरमा प्रचण्डपुत्री रेणु दाहालको उम्मेदवारी

रेणु दाहाल

११ बैशाख, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहाललाई नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनाएको छ । माओवादी केन्द्र चितवनले महानगर कमिटी संयोजक इश्वर सापकोटा ‘सुमन’लाई उपमयेरको उम्मेदवार बनाएको छ ।

संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट कांग्रेस नेता प्रकाशमान सिंहसँग पराजित भएकी रेणु प्रधानमन्त्री प्रचण्डकी जेठी छोरी हुन् । मतदाता नामावलीमा उनको नाम चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ मा छ ।

मेयरको उम्मेदवारमा प्रधानमन्त्री प्रचण्डका प्रशासनिक सल्लाहकार नारायण दाहाल, अर्का नेता सूर्य सुवेदी र यमबहादुर परियारको नाम चर्चामा रहेपनि सबैलाई पछि पार्दै रेणु दाहाललाई उम्मेदवार बनाइएको हो । प्रचण्ड पुत्री रेणु दाहाल नै मेयरको उम्मेदवार बन्न आउने भएपछि जिल्लाका अन्य नेताहरू पछाडि हच्चिएका थिए । उनको उम्मेदवारीका बिषयमा जिल्लाका नेता खुलेर कसैले पनि बिरोध गर्न नसकेको बताइन्छ ।

भरतपुर महानगरपालिका भित्र नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घर छ । पश्चिम चितवनको शिवनगरमा बाल्यकाल बिताएका प्रचण्डको घर महानगरपालिकाको वडा नम्बर ४ कृष्णपुरमा छ । प्रचण्डले राजनीतिक जीवन चितवनबाट शुरू गरेको भएपनि उनले दुवै संविधानसभा निर्वाचनमा चितवनबाट उम्मेदवारी भने दिएनन् ।

उपमेयरका उम्मेदवार इश्वर सापकोटा ‘सुमन’

गृहजिल्ला चितवन भएर पनि यहाँको विकासमा खासै योगदान नगरेको आरोप उनी माथि लाग्दै आएको थियो । सोही कारण यसपटक माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा करोडौं बजेटको प्याकेज जिल्लाका लागि घोषणा गरेका थिए । यसलाई कतिपयले आगामी संसदीय निर्वाचनमा प्रचण्डले चितवनबाट उम्मेदवारी दिने तयारीका रूपमा लिन थालेका छन् । त्यसको पूर्व तयारी स्वरूप बजेट प्याकेज र छोरी रेणुको उम्मेदवारीलाई लिइएको छ ।

चितवनसँग परिवार र पार्टीको सम्वन्धलाई जीवित राख्नका लागि प्रचण्डकै ‘इन्ट्रेष्ट’मा रेणुलाई भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनाइएको चर्चा माओवादी वृत्तमा चलेको छ । माओवादी केन्द्र चितवनले मेयर र उपमयेरदेखि अधिकांश वडाका वडाध्यक्ष र सदस्यहरुको उम्मेदवारी घोषणा गरेको छ ।

एमालेसँग जिल्लामा तालमेलको सम्भावना कम रहेको माओवादी स्रोत बताउँछ । तैपनि माओवादी नकारात्मक भने नभएको माओवादी जिल्ला नेता यमबहादुर परियारले बताए ।

चितवनमा माओवादीको अंकगणित

संविधानसभा निर्वाचन २०६४ मा तत्कालिन एकीकृत नेकपा माओवादी हालको माओवादी केन्द्रले चितवनका ५ वटा निर्वाचन क्षेत्रमध्ये ४ वटामा भारी मतले जितेको थियो भने एमालेले एउटा मात्रै निर्वाचन क्षेत्रमा जितेको थियो ।

हाल महानगरपालिका रहेको निर्वाचन क्षेत्र नम्बर ३, क्षेत्र नम्बर ४ र क्षेत्र नम्वर ५ गरी ३ वटै निर्वाचन क्षेत्रमा जितेको माओवादी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा जिल्लाबाट नै ‘निल’ भयो । क्षेत्र नम्बर ३ र ४ मा तेस्रो भएको माओवादी क्षेत्र नम्बर ५ मा चौथो नम्वरमा झर्‍यो ।

पार्टी फुटको असर पनि चितवनमा माओवादी भित्र राम्रै परेको थियो । माओवादीका नेता रामबहादुर थापा बादल, अनिल शर्मा, सूर्य सुवेदी, गुणराज लोहनी सहितका नेता तत्कालिन वैध माओवादीमा थिए । तर अहिले पार्टी एकता भैसकेको सन्दर्भमा माओवादी केन्द्रको अवस्थामा केही सुधार आउने देखिन्छ तर जितका लागि नै भने त्यो प्रयाप्त देखिँदैन ।

महानगरपालिका भित्र पर्ने क्षेत्रहरु मध्ये पटिहानी, शिवनगर, भरतपुर महानगरपालिका वडा नम्बर ११ र १२ बाट माओवादीलाई केही राम्रो मत आएपनि अन्य क्षेत्रमा भने औसत मत आउने देखिन्छ । धरासायी बनेको पार्टी संगठनलाई पछिल्लो समयमा भने माओवादीले केही व्यवस्थित बनाउँदै लगेका कारण माओवादी नेताहरु केही सन्तुष्ट भने देखिन्छन् ।

भरतपुर महानगरपालिकामा एक मेयर, एक उपमेयर, २९ वडा अध्यक्ष र ११६ वडा सदस्य गरी १४७ जना प्रत्यक्ष निर्वाचित हुनेछन् । नगरसभाले दलित, अल्पसंख्यक गरी ३ जना मनोनित गर्नेछ । यसो हुँदा भरतपुर महानगरपालिकामा १५० जनाको नगरसभा हुनेछ । निर्वाचनका लागि ६५ स्थानमा १७९ बटा केन्द्र तोकिएका छन् । मतदाता १ लाख ५० हजार ६ सय ४१ जना रहेका छन् ।

यो पनि पढ्नुहोस् 

कांग्रेसलाई भरतपुर महानगरको मेयर छान्न महाभारत

भरतपुर महानगरको मेयरमा एमालेले सिफारिस गर्‍यो तीन उम्मेदवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment