Comments Add Comment

कांग्रेस र एमालेको तानातानमा माओवादी र राप्रपा

यसरी हुँदैछ निर्वाचनमा तालमेलको चलखेल


११ वैशाख, काठमाडौं । यदि सत्तारुढ गठबन्धनले चुनावी गठबन्धन गरेमा पहिलो पार्टी बन्न सकिएला ? तीन साताअघि एमाले स्थायी कमिटी बैठकमा यो प्रश्नमा छलफल भयो ।

स्थायी कमिटिले गरेको तालमेलको विश्लेषणपछि एमालेले कांग्रेसबाहेक सबै दलसँग स्थानीय आवश्यकता अनुसार चुनावी तालमेल गर्न सकिने गरी सबै कमिटीमा सर्कुलर जारी गर्‍यो ।

कांग्रेसले माओवादी केन्द्र र राप्रपासँग चुनावी तालमेल गरेर एमालेलाई खुम्च्याउने गरी केन्द्रीय कार्य समितिमा छलफल चलाएको सुइँको पाउना साथ एमाले अध्यक्ष केपी शर्मा ओलीले कमल थापालाई बोलाएर चुनावमा मिलेर जाने औपचारिक प्रस्ताव राखे ।

त्यसकै भोलिपल्ट राप्रपाले सबै जिल्ला अध्यक्षहरुलाई स्थानीय तहमा सम्भव भएसम्म एमालेसँग तालमेल गर्न निर्देशन पठायो ।

कांग्रेस र एमाले दुवैको तानातानमा पर्ने अवस्था देखिएपछि माओवादी केन्द्रले पनि सर्कुलर पठायो- पहिले आफू एक्लै जित्ने स्थानीय तहको लिष्ट बनाउनू अनि कहाँ कोसँग मिलेर जित्न सकिन्छ भन्ने रिपोर्ट पेश गर्नू ।

स्थानीय चुनावका सन्दर्भमा दलहरुबीच भइरहेका आन्तरिक तानातानका गतिविधि यिनै हुन् ।

राजनीतिक दलहरुभित्र चलिरहेका आन्तरिक छलफल र सर्कुलरबाट केसम्म अञ्दाज गर्न सकिन्छ भने यसपटक स्थानीय चुनावमा गठबन्धन संस्कृतिको संस्थागत प्रयोग हुनेछ ।

मधेसको चुनावी तस्वीर प्रष्ट भई नसके पनि पहाडमा कांग्रेस र एमाले दुबै दलले एकले अर्कोलाई रोक्न माओवादी वा राप्रपाको साथ खोज्दैछन् ।

कांग्रेसले धादिङ, दोलखा, खोटाङ, भोजपुर लगायतका जिल्लामा एमालेविरुद्ध माओवादीसँग मोर्चाबन्दी शुरु गरेलगत्तै एमालेले पनि गुल्मीमा माओवादीसँग लिखितरुपमै चुनावी तालमेलको सम्झौता गरेको छ ।

एमालेका बिष्णु पौडेल र माओवादी केन्द्रका टोपवहादुर रायमाझीबीच ५ नम्बर प्रदेशका विशेष गरी लुम्बिनीमा चुनावी तालमेल गर्न गोप्यरुपमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

कांग्रेसको कसरत माओवादीसँगै

नेपाली कांग्रेसले चुनावी तालमेलको बारेमा लिखितरुपमा कुनै निर्णय र सर्कुलर गरिसकेको छैन । तर, स्थानीय स्तरमा आवश्यकता अनुसार तालमेल गर्न सकिने केन्द्रीय कार्य सम्पादन समितिका सदस्य नारायण खड्काले बताए ।

खड्काका अनुसार यस्तो तालमेल एमालेबाहेक अन्य दलसँग हुन सक्छ । माओवादीसँग धेरै ठाउँमा तालमेल गर्दा एमालेलाई रोक्न सकिने उनको बुझाइ छ ।

खड्काले भने- एमाले त हाम्रो मुख्य प्रतिस्पर्धी हो, पहिलो पार्टी बन्ने भनेर हिँडिरहेको छ । तर, एमालेलाई साइजमा राख्न माओवादी लगायतका अन्य दलसँग स्थानीय तहमा तालमेल गर्न सकिन्छ ।’

कांग्रेस नेता खड्काले पार्टीभित्रैका गुटहरुबारे व्यंग्य गर्दै भने- कांग्रेसले पहिले त कांग्रेससँगै तालमेल गर्नुपर्ने अवस्था छ । कांग्रेसले कांग्रेसलाई भोट हाल्दामात्रै पनि पुग्छ ।

एमालेको नीतिः कांग्रेस बाहेकसँग तालमेल

एमालेले कांग्रेस बाहेक अन्य दलसँग तालमेल गर्न स्थानीय कमिटीहरुलाई अनुमति दिएको छ । एमालेको पहिलो रोजाइमा नेकपा मसाल, नेपाल मजदूर किसान पार्टी र राप्रपा छन् ।

स्थानीय आवश्यकता अनुसार माओवादीसँग पनि तालमेल हुन सक्ने तर माओवादी धेरैजसो ठाउँमा कांग्रेससँगै मिल्ने अनुमान एमालेले गरेको छ ।

एमालेले स्थानीय आवश्यकता अनुसार आफू एक्लैले जित्न कठिन हुने ठाउँमा कांग्रेस बाहेक अन्य दलसँग तालमेल गर्ने नीति लिएको सचिव योगेश भट्टराईले बताए ।

एमालेले गोरखामा नयाँ शक्ति, भक्तपुरमा नेपाल मजदूर किसान पार्टी र बाग्लुङ लगायतका ठाउँमा मसालसँग तालमेल गर्न छलफल चलाइरहेको भट्टराईले बताए ।

यद्यपि वामदेव गौतमले चुनाव जितेको प्युठानमा मसालले एमालेसँग भन्दा पनि माओवादी र कांग्रेससित तालमेल गर्ने रुची देखाएको छ ।

धेरै ठाउँमा एक्लै चुनाव लडेर जित्ने योजनासहित पार्टी अघि बढेकाले तालमेललाई स्थानीयस्तरमै जिम्मा लगाइएको संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

उनले भने- कांग्रेसले दुई ठूला पार्टी कहीँ मिल्नै हुँदैन भन्ने सिद्धान्त प्रतिवादन गरिसकेकाले ऊबाहेक अन्य दलसँग विभिन्न स्थानीय तहमा तालमेल हुँदैछ ।

माओवादीः राजनीतिक लाभको हिसाब गर्दै

माओवादी केन्द्रले चुनावी तालमेलबारे सबै ठाउँमा रिपोर्ट मागेको छ । कांग्रेससँगै मात्र तालमेल गर्ने नीति केन्द्रबाट बनिसकेको छैन । यद्यपि सत्ता गठबन्धनलाई चुनावी गठबन्धनका रुपमै लैजान माओवादीभित्र एउटा पक्षले जोड दिइरहेको छ । एमालेलाई पराजित गर्दा मात्रै माओवादी माथि आउने भएकाले कांग्रेससँगको तालमेललाई जोड दिइएको छ ।

माओवादी प्रवक्ता पम्फा भुसालका अनुसार पहिले एक्लै जित्ने स्थानीय तहको पहिचान गर्ने अनिमात्र कहाँ कोसँग तालमेल गर्दा फाइदा हुन्छ, उसैसँग तालमेल गर्ने नीति तय भएको छ ।

भुसालले भनिन्- कांग्रेस वा एमाले जोसँग पनि तालमेल हुन सक्छ, जोसँग गर्दा फाइदा हुन्छ, उसैसँग गर्ने हो । यो मूलतः स्थानीय आवश्यकता अनुसार हुन्छ ।

राप्रपाको पहिलो रोजाइ एमाले

सत्ता गठबन्धनको तेस्रो ठूलो दल राप्रपाले भने चुनावी तालमेलका लागि प्रमुख विपक्षी नेकपा एमालेलाई प्राथमिकता दिएको छ । एमाले र राप्रपा दुवैले आन्तरिक सर्कुलर गरेरै तालमेल गर्ने समझदारी केन्द्रीयस्तरमा भएकाले सोही अनुसार जिल्लाहरुलाई निर्देशन दिएका छन् ।

राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले भने- राप्रपाले तालमेल गर्ने अधिकार स्थानीय निकायलाई दिएको छ । केन्द्रमा एमालेसँग छलफल भएको हो । काठमाडौं, नेपालगञ्ज, भैरहवा लगायत धेरै ठाउँमा एमालेसँग तालमेल हुन सक्छ । हेटौंडा, धनकुटाजस्ता ठाउँमा एमाले र हामी मुख्य प्रतिस्पर्धी भएकाले प्रतिस्पर्धा हुन्छ ।

मधेसमा के होला ?

मधेसमा मधेसी मोर्चा आवद्ध अधिकांश दलहरुको एउटै पार्टी भएपछि अब त्रिपक्षीय प्रतिस्पर्धा हुने आँकलन हुन थालेको छ । यस्तो त्रिपक्षीय प्रतिस्पर्धा भनेको कांग्रेस, मधेसी मोर्चा र एमालेबीच हो । तर, मोर्चा आवद्ध दलहरुमध्ये राजपा र उपेन्द्र यादवको फोरमबीच तालमेलको सम्भावना कम छ ।

राजपा नेताहरुले अब राजमार्ग दक्षिणमा आफ्नो मुख्य प्रतिस्पर्धी कांग्रेसलाई देख्न थालेका छन् । राजमार्ग उत्तरमा एमाले, कांग्रेस र माओवादी प्रतिस्पर्धी हुन् । यस्तो अवस्थामा उपेन्द्र यादवको पार्टी र एमाले वा माओवादीबीच मधेसका कतिपय नगर तथा गाउँपालिकामा तालमेल हुन सक्ने कतिपयको अनुमान छ ।

वीरगञ्जमा कांग्रेस र राजपाले आफूलाई मुख्य प्रतिस्पर्धी ठानेको अवस्थामा उपेन्द्र यादवले एमालेसँग मिलेर चुनाव जित्ने आँकलन समेत हुन थालेको छ । पछिल्लो पटक वीरगञ्जका प्रतिष्ठित व्यापारी र ठूलो संख्यामा पूर्वजनप्रतिनिधिहरुलाई उपेन्द्रले फोरम प्रवेश गराएका थिए ।

एमालेको मत निणर्ायक हुने अवस्था कांग्रेस राजपालाई रोक्न उपेन्द्र एमाले गठबन्धन हुने सम्भावना पनि छ ।

एमाले नेताहरु पनि मधेसी मोर्चासँग कतिपय ठाउँमा चुनावी तालमेल हुन सक्ने स्वीकार गर्छन् ।

‘मधेसवादी पार्टीहरुको एकीकरणले कांग्रेसलाई चुनौति बढेको छ,हामीलाई यसबाट फाइदै हुन्छ’ एमाले सचिव योगेश भट्टराई भन्छन् ‘अहिले नै तालमेलको कुरा नभए पनि मधेस केन्दि्रत कतिपय दलसँग स्थानीय स्तरमा तालमेल हुन सक्छ’ ।

मधेसका दलहरु एकीकरणपछि अब हुलाकी राजमार्ग आसपासमा कांग्रेसलाई चुनौति थपिएको छ ।

राजमार्ग उत्तरमा एमालेको उपस्थिति बढिरहेका बेला मधेसवादी दलहरुको एकताले कांग्रेसलाई दबाव दिएको एमाले नेताहरुको विश्लेषण छ । यसले मधेसमा पनि यसपटक ठूला दलहरु गठबन्धन बनाएरै चुनाव लड्ने अवस्था पुगेका छन् ।

कांग्रेस माओवादी मिल्लान् ?

पहिलो दल कायमै रहने कांग्रेसको रणनीति र दोस्रोबाट पहिलोमा पुग्ने एमालेको योजनालाई साना दलको साथ चाहिएको छ । कांग्रेस र एमालेबाहेक अन्य दलहरु पनि तालमेल गरेर आफ्नो आकार बढाउने दाउमा छन् । जसले बढी दिन्छ, उसैसँग गठबन्धन गर्ने नीतिमा माओवादी देखिन्छ भने एमालेसँगै तालमेल गरेर जाने नीतिमा राप्रपा देखिएको छ ।

आफूविरुद्ध सबै पार्टीको मोर्चाबन्दी हुन सक्ने भयबाट एमाले विस्तारै मुक्त हुन थालेको छ । त्यसैले चुनावी तालमेलका लागि सत्तारुढ गठबन्धनभित्रकै दलहरुलाई कांग्रेसबाट तान्ने तयारी एमालेको छ । कांग्रेस भने एमालेलाई रोक्न माओवादीलाई आफ्नो नजिक ल्याउन प्रयत्नशील छ ।

स्थानीय तहमा कुरा नमिले केन्द्रबाटै कांग्रेस माओवादी तालमेलको निर्णय गराउन केही नेता लागिरहेका छन् । त्यो धु्रवको नेतृत्व गृहमन्त्री विमलेन्द्र निधी र माओवादी नेता वर्षमान पुनले गरिरहेको एमाले नेताहरुको दाबी छ ।

तालमेल नगरी एक्लै चुनावमा लड्दा अर्कोले लडाउने डर कांग्रेस र एमाले दुबैमा देखिएको छ । बाहिर जति आफ्नो जनलहर आएको दावी गरे पनि दुवै ठूला पार्टीहरु एक्लै जितिनेमा विश्वस्त छैनन् ।

त्यसैले दुबै दलको रणनीति माओवादी र राप्रपालाई सकेसम्म अर्कोसँग तालमेलमा जान नदिने र कुनै एउटासँग तालमेल भएमा अर्कोलाई आफूतिर ल्याउनेमै केन्दि्रत हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment