Comments Add Comment

किन पक्राउ परे नवराज सिलवाल ? के हो कीर्ते काण्ड ?

प्रहरी संगठनको बैठक बहिस्कारदेखि मुद्दा मामिलासम्म

डीआईजी नवराज सिलवाल

११ बैशाख, काठमाडौं । दुई साताअघिसम्म डीआईजी नवराज सिलवाल प्रहरी महानिरीक्षक बन्ने दौडमा थिए । तर, सोमबार विहानै उनी प्रहरी नियन्त्रणमा परे ।

डीआईजी सिलवाललाई प्रहरीले नियन्त्रण लिएको खबर कतिका लागि ‘सरप्राइज’ जस्तो देखियो । धेरैले पत्याएनन् ।

तर, डीआईजी सिलवालका लागि ‘खराब’ दिन भने प्रकाश अर्याल प्रहरी महानिरीक्षक बनेलगत्तै सुरु भइसकेको थियो । त्यसको सुरुवात सिलवाल आफैंले गरेको प्रहरी अधिकारीहरु मान्छन् ।

सरकारले डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि सिलवालले मन्त्रिपरिषदको निर्णय स्वीकार गरेनन् । उनले आईजीपी अर्यालले बोलाएको बैठकसमेत बहिस्कार गरे । सिलवालले त्यति मात्र गरेनन्, उनी अर्याललाई आईजीपी बनाउने निर्णय खारेजीको माग गर्दै र आफूलाई प्रहरी प्रमुख बनाउन माग गर्दै सर्वोच्च गए ।

प्रहरी संगठनमा रहेर बैठक बहिस्कार गर्नु र सरकारको निर्णय विरुद्ध मुद्दा मामिलातिर लाग्नु डीआइजी सिलवालको गल्ती भएको सरकारी अधिकारीहरु बताउँछन् । उनीहरुको तर्क छ, क्याबिनेटले सर्वोच्चको आदेश अनुसार नै कार्यसम्पादन मूल्यांकनको हिसाब गरेको थियो । र, प्रकाश अर्याल पहिलो नम्बरमा भएकाले उनलाई नै आईजीपी बनाइएको थियो ।’

प्रधानमन्त्री कार्यालयका सचिव, तत्कालीन निमित्त प्रहरी प्रमुखसहित ५ जनाले लोसकेवा, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा रहेको कार्यासम्पादन मूल्यांकनसम्वन्धी कागजपत्र भएको सिलबन्दी खोलेर डीआईजीका चार दाबेदारको नम्बर जोडेका थिए । त्यसबेला प्रधानमन्त्री प्रचण्डले त ब्याबिनेटमै त्यो सिलबन्दी पोका खोल्ने इच्छा व्यक्त गरेको एक मन्त्रीले सुनाए ।

तर, मुख्य सचिवले यो त अति हुन्छ प्रधानमन्त्रीज्यू भनेपछि समितिले प्रधानमन्त्री कार्यालयमा बसेर सिलबन्दी पोका खोलेको थियो । र, त्यहीँ कार्यसम्पादन मूल्यांकनको नम्बर जोडिएको थियो ।

त्यसमा सिलवालभन्दा अर्याल अगाडि देखिएपछि उनलाई सरकारले आईजीपी बनायो ।

तर, सिलवालले सर्वोच्चले कार्यसम्पादन मूल्यांकनमा आफू अगाडि रहेको दाबीसहित रिट हाले ।

डीआईजी जयबहादुर चन्दलाई आईजीपी बनाउने सरकारको निर्णय खारेज गरेको फैसला सुनाउने क्रममा सर्वोच्चले कार्यसम्पादन मूल्यांकनमा पहिलो नम्बरमा सिलवाल देखिएको उल्लेख गरेकै पनि हो ।

अनि सुरु भयो कीर्तेमाथि छानविन

जब सरकारले कार्यसम्पादन मूल्यांकनको नयाँ हिसाब निकालेर प्रकाश अर्याललाई आईजीपी बनायो, त्यसबेला नै सर्वोच्च परिसरमा हल्लीखल्ली सुरु भइसकेको थियो । सिलवाल आफैं रिट लिएर पुगेपछि त्यसले तनाव मात्र बढाएन, अंक जोड्न सर्वोच्चले जानेन कि सरकारले जानेन भन्ने प्रश्नको जवाफ दिनुपर्ने भयो ।

तर, डीआईजी सिलवालको दोस्रो रिटको प्रारम्भिक सुनुवाइमा सर्वोच्चले उनको दाबी गरेन । सर्वोच्चले सिलवालको मागदाबी अनुसार अन्तरिम आदेश दिएन र चारै जनाको कार्यसम्पादन मूल्यांकनको सक्कल फाइल बुझाउन भन्यो ।

सर्वोच्चले जब सक्कल खोज्यो, तब डीआईजी सिलवाल स्वयंममाथि कीर्ते गरेको आशंका बढायो ।

त्यही आधारमा क्याबिनेटले सिलवालमाथि छानविन गर्नुपर्ने निष्कर्ष निकाल्यो र गृह मन्त्रालयले डीआईजी विजयकुमार भट्टको नेतृत्वमा छानविन समिति बनाएको छ । यो समितिले सोधपुछका लागि सिलवाललाई बोलाएको थियो । तर, उनले अटेर गरे ।

बयानका लागि नआएको भन्दै प्रहरीले उनलाई सोमबार विहान अधिवक्ता शम्भु थापासँग कानुनी परामर्श लिइरहेका बेला नियन्त्रणमा लिएर हेटक्वार्टर पुर्‍याएको छ ।

सिलवालले अर्यालको नियुक्ति बदरको माग दाबी गर्दै निवेदन दिने क्रममा अर्कै कार्यसम्पादन मूल्यांकनको अर्कै कागज पेश गरेको सरकारी अधिकारीहरुको दाबी छ । यतिसम्म कि सिलवालले सर्वोच्चमा पेश गरेको कासमु फाइलमा प्रकाश अर्यालको फाइलबाट आफ्नो कपीपेष्ट गरेको खबरसमेत आएको छ, जसमाथि अहिले छानविन भइरहेको छ ।

कार्यसम्पादन मूल्यांकनको फाइल कसैले पनि राख्न नपाउने भए पनि सिलवालले आफ्नो मात्र नभई अर्यालको समेत फाइल राखेको र व्यक्तिगत फाइल मिडियालाई बाँडेको सरकारको आरोप छ ।

नवराज सिलवाल लोकपि्रय प्रहरी अधिकारी हुन् । उनीमाथि सरकारले कारवाही गर्दा सामाजिक सञ्जालमा सिलवालप्रति सहानुभूति देखाउनेहरु पनि प्रशस्त देखिएका छन् । तर, कीर्ते गरेको आरोपमा छानविन भोगिरहेका सिलवाल निर्दोष छन् कि दोषी भन्ने कुरा अनुसन्धान हुन बाँकी छ ।

यद्यपि आइजीपीले बोलाएको बैठक बहिस्कार गर्ने र प्रहरी संगठनको अनुशासनमा बसेको व्यक्ति वकिलहरुको पछि लागेर मुद्दा मामिलामा दौडने कार्यले चेन अफ कमाण्डमाथि असर पारेको धारणा राख्ने सुरक्षा अधिकारीहरु पनि छन् ।

सरकारले आइजीपीमा नियुक्त गरिसकेको अवस्थामा पछि हट्न बाध्य भएका जयबहादुर चन्द भने कुनै मुद्दा मामिलामा लागेका छैनन् र उनले आइजीपीले बोलाएको बैठक पनि बहिस्कार गरेका छैनन् ।

यो पनि पढ्नुहोस् 

डीआईजी नवराज सिलवाल पक्राउ

सिलवालले सरकारी कागजात किर्ते गरेको मन्त्रिपरिषद्को ठहर, कारवाहीको तयारी

आईजीपी अर्याललाई काम गर्ने बाटो खुला, सिलवालको रिटमा अन्तरिम आदेश भएन

आईजीपी अर्यालले बोलाएको बैठकमा सिलवाल गएनन्, चन्द भने सहभागी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment