Comments Add Comment

छाला बेग्लै स्याल उही (सन्दर्भः लोकतन्त्र दिवस)

११ बैशाख, काठमाडौं । दस वर्षअघिको त्यो दोस्रो जनआन्दोलन, राजतन्त्रको विरुद्धमा सडकमा नेताहरु कुर्लिरहेका थिए । थेगिनसक्ने गरी जनता नेताहरुको साथ र समर्थनमा ओइरिएका थिए ।

त्यसरी जनता ओइरो लाग्नुमा आकर्षणको पात्र बन्ने नामहरु भने राजनीति बाहिरका थिए । तिनीहरु कवि थिए, कलाकार थिए र समाजका लोकपि्रय अनुहार थिए । तिनैमध्येको एउटा नाम हो हास्यव्यङ्ग्य कवि अर्जुन पराजुली ।

ख्याउटे अनुहारमा लामो दाह्री तर कविता पढ्न थालेपछि आवाज निकै भारी । पराजुलीको विशेषता यही हो । यसैले आन्दोलनको बेला नेताभन्दा उनका कुराले जोस्सिनेहरु कम भएनन् । उनका व्यङ्ग्य कविताहरुले जनतालाई घर-घरबाट सडकमा जम्मा गरायो र राजतन्त्र फाल्ने हिम्मत जगायो ।

उनी मञ्चमा उक्लिनासाथै स्वागतमा भिडले थपडी बजाउँथ्यो, भिडको त्यही ऊर्जालाई सम्बोधन गर्दै उनी ‘सत्र साल भाग दुई’ देखि ‘जंगबहादुरको पुनर्मिलन’ सम्मका कविताहरु कड्किँदै सुनाउँथे-

‘जंगबहादुर ! तिमी आयौ ?
अनुहार पनि सर्लक्कै फेरिएछ
यता हामीलाई सञ्चै छ
अनि उताको हालखबर के छ ?
किन काटेको ? जुँगा काटेछौ
अनि घडेरी कहाँ-कहाँ किन्यौ ?
जंगबहादुर ! मलाई चिन्यौ ?’

 

दोस्रो आन्दोलन तात्तिइरहँदा कवि पराजुलीले देशभरिका ५४ वटा जिल्ला पुगेर कविता सुनाए । कतिपय जिल्लामा त दोहोर्‍याई-तेहेर्‍याई पनि पुगे । नागरिक समाजका डा. देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी लगायतले ‘लोकतन्त्र र शान्तिको लागि नागरिक आन्दोलन’ भन्ने अभियान चलाएका थिए । त्यसैको सक्रिय सदस्य भएर उनी शहरमा बुद्धिजीवीको घेरादेखि बर्दियाको थारु बस्तीसम्म पुगे ।

‘त्यतिबेला जनताको साझा कुरा दलहरु आन्दोलनमा राम्ररी लाग्नुपर्‍यो र राजाको शासन हटाउनुपर्‍यो भन्ने नै थियो’, पराजुली सम्झिन्छन् ।

यता राजनीतिक दलहरु जिल्ला सदरमुकाम, बजार र शहरी क्षेत्रमा सभा, जुलुस र प्रदर्शन चर्काउँदै लगेको थियो, उता बुद्धिजीवी, पेशाकर्मी र कवि-कलाकारको समूहले जिल्ला-जिल्ला घुमेर आन्दोलनमा ऊर्जा थपिरहेको थियो । फरक-फरक मञ्चमा मणि काफ्ले, लक्ष्मण गाम्नागे, धीरेन्द्र प्रेमषिर्, रुविन गन्धर्वहरु पनि आन्दोलनमा बल थपिरहेका थिए ।

पराजुली सम्मिलित नागरिक आन्दोलन समूहले मूल रुपमा राजतन्त्र फाल्ने लक्ष्यसहित अभियान चलाएको थियो ।

आन्दोलनको उद्देश्यबारे उनी भन्छन्, ‘त्यतिखेर सीधा अगाडि जे थियो, त्यसैलाई निशाना ताकियो । सीधा कुरा राजतन्त्र फाल्ने नै थियो । त्यसपछाडिका समस्या मिल्दै जालान् भन्ने सोचिएको थियो ।’

देशको सबै शासन सत्ता आफ्नो हातमा लिएर ज्ञानेन्द्र शाह सर्वेसर्वा बनेपछि त्यस विरुद्ध लोकतन्त्र पक्षहरु जुर्मराएका थिए । ०१७ सालको झल्को दिने गरी निरंकुश तन्त्रले शिर उठाएको देखेपछि त्यसैबारे पराजुलीले कविता सुनाए, जुन सबैको ‘हटकेक’ बनिदियो ।

‘बगलीमाराले बगली फोर्न पाउँछ
बगलीले मुख फोर्न पाउँदैन
स्यालले कुखुरा चोर्न पाउँछ
कुखुराले चोरिएँ भनेर छिमेकी जोर्न पाउँदैन
यो मेरो कविता होइन
हामी सबैको राष्ट्रियगान हो
यसका रचयिता यही
सत्र साल भाग दुई’

 

कविता सुनाउन उनी जति पनि ठाउँमा गए, मञ्चमा उनको नाम लिने बित्तिकै ताली गुञ्जिन्थ्यो । उनी मञ्चमा उक्लिनासाथै वरिपरिबाट मान्छे झुम्मिएर आउँथे । उनले कविता पढ्न थालेपछि मान्छेहरु जोशले भरिएर मुठी कस्थे ।

आन्दोलनको उभार छाइरहँदा उनले कविताको शक्ति खासगरी चैत २६ गतेभन्दा अगाडि मात्र देखाउन पाए । किनकि कर्फ्यू तोडेको आरोपमा चैत २६ मा उनी राजधानीको टिचिङ अस्पतालबाट पक्राउ परे । १८ दिनसम्म सशस्त्र प्रहरी गण दुवाकोटमा थुनिए ।

आन्दोलन र सभाहरुमा कविता सुनाउने क्रममा धेरै रोचक सम्झना छन् उनीसँग । तीमध्ये जनआन्दोलन सफल भएपछि सात राजनीतिक दलले टुँडिखेलमा गरेको संयुक्त सभाको संस्मरण उनलाई रोचक लाग्छ ।

बैशाख १४ गते टुँडिखेलमा सात दलको विजय सभा थियो । तर, अस्वस्थताको कारण देखाउँदै गिरिजाप्रसाद कोइराला सभामा आएनन् । वयोवृद्ध अवस्थामा पनि सडकमा उत्रेर जनआन्दोलनका नायक मानिएका र प्रस्तावित प्रधानमन्त्री भइसकेका नेता नआउँदा जनतालाई चित्त बुझेन । गिरिजाको सन्देश लिएर आएका सुशील कोइराला बोल्नासाथ सर्वसाधारणले होहल्ला र ढुंगामुढा गर्न थाले ।

त्यो समयमा कवि पराजुली भिडलाई शान्त पार्ने संयोजनकारी भएर देखा परे । उनले ‘राजाहरु बिक्रीमा छन्’ भन्ने कविता सुनाए-

‘मान्छे नमरेको रात
राम्रोसँग निद्रा नपर्ने
हेलिकोप्टरमा चढेर
मर्निङवाक गर्ने
दूरबीनले हेरेर जनताको लाश गन्ने
मुन्टो बङ्ग्याउने
ठीक छ- ठीक छ भन्ने
राजाहरु बिक्रीमा छन्’

 

उनले कविता सुनाएसँगै हुलदंगा थामियो । त्यसपछि माधवकुमार नेपाल र अरु नेताहरुले बोल्न सुरु गरेका थिए ।

आन्दोलनको बलमा त्यतिबेला राजतन्त्र फालिनुलाई कवि पराजुली ठूलो उपलब्धि मान्छन् । तर, जनआन्दोलन सफल भएपछि जुन किसिमको परिवर्तन होला भन्ने थियो, त्यो नहुँदा उनी खिन्न छन् ।

‘त्यतिबेला मुख्य लक्ष्य राजा फाल्ने भए पनि त्यसपछिका कुरा सपि्रँदै जालान् भन्ने लागेको थियो’, उनी भन्छन्, ‘तर अहिलेको अवस्था सन्तोषजनक छैन ।’

त्यस हिसाबले उनले एक दशक अगाडि लेखेको कविता हेर्दा स्यालको सन्दर्भ अझै पनि पुरानो नलाग्न सक्छ-

‘पर्दा बेग्लै झ्याल उही
खोपडी बेग्लै ख्याल उही
जिब्रो बेग्लै र्‍याल उही
छाला बेग्लै स्याल उही !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment