Comments Add Comment

तीन वर्षपछि फेरि ‘पलेँटी’

बायाँबाट गायिका मीना निरौला, गायक/संगीतकार आभास र गीतकार दिनेश अधिकारी

११ बैशाख, काठमाडौं । हरेक महिना हुँदै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृंखला’ तीन वर्षको विश्रामपछि फेरि सुरु हुने भएको छ ।

अंग्रेजी क्यालेन्डर अनुसार हरेक महिनाको अन्तिम शुक्रबार आयोजना हुने परम्परालाई निरन्तरता दिँदै यसपालिको पलेँटी अप्रिल २८ तारिखमा हुनेछ । कालिकास्थानमा रहेको नेपालयको पुरानै कक्ष आरशालामा कार्यक्रम हुने जनाइएको छ ।

यसपालि पलेँटीमा कवि तथा गीतकार दिनेश अधिकारीको उपस्थितिमा उनका सिर्जनाहरु गायक-गायिकाहरुले प्रस्तुत गर्नेछन् ।

गीतसँग जोडिएका सर्जकहरुकै उपस्थितिमा हुने पलेँटी शृंखला आधुनिक नेपाली संगीतको विकासक्रम सम्झाउने र यसको स्वर्णिमकालको उपासना गर्ने मञ्चको रुपमा रहेको छ ।

कवि, गायक एवं संगीतकार आभासको सहभागितामा सन् २००५ देखि सुरु भएको पलेँटीमा एक वर्षसम्म उनको मात्र प्रस्तुति समेटिएको थियो । त्यसपछि भने आधुनिक नेपाली संगीत जगतका अग्रज कलाकारहरुलाई समेटेर अघि बढ्ने सोचसहित ‘पलेँटी शृंखला’ को रुप लिएको थियो । त्यस क्रममा ४१ जना कलाकारहरु नेपालयको आरशालामा आएर प्रस्तुति दिएका थिए ।

पलेँटीको निरन्तरतामा आर्थिक समस्या बाधक बन्ने गरेकोमा अब भने त्यसलाई निराकरण गर्न चर्चित लोक-रक ब्याण्ड नेपथ्य अघि सरेको छ । ब्याण्डले आफ्नो स्थापनाको २५औं वर्ष मनाउने क्रममा पलेँटी शृंखलाको व्ययभार आफैं बेहोर्ने घोषणा गरेपछि कार्यक्रम गर्न सम्भव भएको हो ।

‘आधुनिक नेपाली संगीतको क्षेत्रमा योगदान दिने हस्तीहरुकै योगदानको सम्मान गर्ने उद्देश्यका साथ हामीले पलेँटीलाई ब्युँताउने निधो गरेका हौं’, नेपथ्यका मुख्य गायक अमृत गुरुङ भन्छन्  ।

पलेँटीका प्रस्तोता आभासले तीन वर्षको विश्रामपछि पलेँटीले श्रोता-दर्शकलाई पुरानै स्तरीयताको साथ आधुनिक संगीतको स्वाद पस्कने बताए ।

पलेँटी शृंखलामा गीतकारहरुका सिर्जनालाई गायक आभास, योगेन्द्र र मीना निरौलाले सुनाउनेछन् । नयाँ शृंखलाका लागि कलाकारहरुले आरशाला कक्षमा अभ्यास सुरु गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment