Comments Add Comment

भूकम्प संस्मरण: प्रकोप र पात्रहरु

यसै त गरिब, उसमाथि ध्वस्त देशमा राहत, उद्धार, जासुसी, धर्मप्रचार जे गरे पनि छुट छ !

अरु बेला भएको भए उसले मलाई एक दर्जन गैरसाकाहारी चुट्किला सुनाइसक्थ्यो । बाइफाले महिला, व्यभिचारी पुरुष, मात्तिएको कुकुर, छिल्लिएको घोडा, देहसुखले कहिल्यै तृप्त नहुने बघिनी, शहरभरिका स्त्रीलाई सेवा प्रदान गर्दै हिँड्ने हम जाएगा, एक हात लामो अङ्गधारी निग्रो, टोलै गन्हाइसक्दा पनि पत्नीको चालामाला थाहा नपाउने सरदार, दरबारका सारा कर्मचारीसँग भोग गर्ने राजकुमारी… । ऊ खानी हो, मांसाहारी चुट्किलाको । हामीले उसको नामै राख्देका थियौं- मिस्टर नन भेज !

तर, आज मिस्टर नन भेज चुट्किला सुनाउने मुडमा छैन । सम्भवत: अब उसले कहिल्यै चुट्किला सुनाउने छैन । सम्भवत: अब उसले कहिल्यै हाँस्ने ल्याकत राख्दैन, हँसाउने सामर्थ्य राख्दैन । सम्भवत: अब उसको जिन्दगी एउटै कहानी सुनेर बित्नेछ । कसरी हल्लिएको थियो धर्ती ? कसरी भत्किएको थियो उसको घर ? कसरी चिलबिल भएको थियो उसको परिवारको ? यो कहानी हाल्दाहाल्दै सम्भवत: ऊ स्वयम् एउटा कहानी हुनेछ । त्यतिन्जेल उसको नाम सहस्र सरकारी तथा गैरसरकारी तथ्याङ्कमा अङ्कित त हुनेछ तर सास फेराइको कालखण्ड (जसलाई कुन्नि कुन भ्रममा, कुन भावुकतामा र कुन सम्मोहनमा हामी जिन्दगी भन्ने नाम दिन्छौं) मा उसको वेदनाको सुनुनाइ हुने छैन ।

घरको बायाँपट्टिको पाखो गर्लसम्म खसेको छ । १२, १५ हात पर जस्ताको कुटी हालेर बसेको छ नन भेजको परिवार । आमा, श्रीमती, दुई छोरा, एक छोरी र ऊ । १२ बाई १५ फिटको टहरोमा बसेका छन् ६ प्राणी । गुम्सिनु, कोच्चिनु, साँघुरिनु, कुण्ठिनु र यावत् असुबिस्तासहित बाँच्नु ! र, बाँच्नु नै ठूलो कुरो हो भन्दै समयलाई लाचारीवश धन्यवाद ज्ञापन गर्नु ! यही हो त जिन्दगी ?

ढोकाको खापामा टाँसिएको छ, रेड स्टिकर । राज्यले अङ्ग्रेजी भाषामा धम्की दिएको छ (आफ्ना नागरिकलाई आफ्नै भाषामा धम्की दिन सक्दैन ऊ । यो लाचारीको हद हो या अकर्मण्यताको ?)

अनसेफ

डू नट इन्टर अर अकुपाई

मान्छेको मुटु बेलेर त्यसलाई चारपाटे बनाई टाँसिए जस्तो रेड स्टिकर मार्फत राज्य भन्छ, ‘तोर्पे जनता ! तेरो घर असुरक्षित छ । भित्र पसिस् भने तेरो मृत्यु हुन सक्छ । कदाचित् बँचिस् भने पनि घाइते चाहिँ पक्का हुनेछस् !’

रेड स्टिकर होइन, रेड कर्नर नोटिस हो यो । जो उर्दी जारी गर्छ- यो घरको अमन, चैन, शान्ति र सुखलाई पक्राउ गर्नू !

पहेँलो स्टिकर, मानौं एलो कार्ड ! एउटा कडा चेतावनी, ‘अर्को एएटा एलो कार्ड… त्यसपछि तँ खेलमैदानबाट बाहिर हुनेछस् ।’ अथवा, ‘एउटम अर्को धक्का… त्यसपछि तेरो भागको पृथ्वी सय टुक्रा हुनेछ ।’

सेतै फुलेकी नन भेजकी माता मानव जातिका काला कर्तुतलाई भुइँचालोका लागि जिम्मेवार ठहर्‍याउँछिन् । घर-घर (या खण्डहर-खण्डहर) मा भूकम्पविद् र भूगर्भशास्त्रीहरु पैदा भइरहेका छन् रातारात । प्रत्येक प्रकम्पमाथि पोखिन्छन्, शिक्षित व्याख्यातादेखि औंठाछापीय प्रलापसम्म । यस कारण गएको हो भूकम्प ! यसरी जान्छ भैंचालो ! प्लेट सर्‍यो ! माछाको काँध गल्यो !

नन भेजकी आमाको सुधो निष्कर्ष छ, ‘पापी, अधर्मी र अपराधीहरु यस्तरी बढे, धर्तीमाताले बोझ थाम्नै सकिनन् । पापले ल्याएको पर्लय हो यो ।’

आकाशमा बडेमानको हवाईजहाज उड्छ । विपद्ग्रस्त देशको कम्पायमान धर्तीमाथिको आकाश कर्कश हुन्छ ।

हो, उडिरहेका छन् विमान, हेलिकोप्टर र ड्रोनहरु । सङ्कटग्रस्त देशको आकाश हो यो । यहाँ जस्तोसुकै बदनियत बोकेर जेसुकै यन्त्र उड्न सक्छ । दुःखी र दुर्बल देशको झण्डा नै निलिदिने अश्लील र कलुषित चरित्र भएका महामहिम देशहरुलाई जरुरी छैन, यो महाविपत्ति दुख्नुपर्छ । यसै त गरिब, उसमाथि ध्वस्त देशमा राहत, उद्धार, जासुसी, धर्मप्रचार जे गरे पनि छुट छ ।

‘अम्रिकी जहा होला, एयरपोर्टमा बस्ने ठाउँ छैन रे । … इन्ड्याले राद्‌नीति खेलिराछ रे क्या !’ ग्रामीण तहको एक जना जान्नेसुन्ने आफ्नो राष्ट्रिय स्तरको विज्ञता प्रकट गर्छ ।

‘पापीहरु !’ नन भेजकी आमा पाप-धर्मको युगीन छ्याविचारमा अड्केकी अड्क्यै छन् ।

पाप र प्रलय ।

म महाशक्ति राष्ट्र अमेरिका सम्झन्छु । ब्रिटेन सम्झन्छु, इजरायल सम्झन्छु । जर्ज डब्लू बुस जुनियर सम्झन्छु । टोनी ब्लेयर सम्झन्छु, बेन्जामिन नेतन्याहू सम्झन्छु । र, सम्झन्छु उनीहरुका महापाप, महाअपराधहरु ।

पापको अन्तर्देशीय वितरण अनुसार नन भेजकी आमाले भन्ने ‘पर्लय’ हुने हो भने… । ईश्वरले अनैतिक र अश्लील हर्कतमा हद नाघेका सोडोम र गोमोराह नगरलाई आगजनी गरेर नष्ट गरे झैं… ।

मन स्थिर छैन । यस्तै-यस्तै सोचिन्छ । यस्तो विशृङ्खलतामा सोचको सिलसिला मिलोस् पनि कसरी ?

म हाँसिदिन्छु ।

‘के हाँस्छस् ? तिमेरु पाप, धर्म क्यैमा विश्वास गर्ने भए पो ! कलिला मूर्तिहरु !’

नन भेज आँखा तर्छ र आमालाई हप्काउँछ, ‘के फतर फतर गरिरा’ भन्या ! भैहाल्योन्त अब, तिमी धर्माती, हामी पापी !’

‘कसैलाई नपर्‍या टेन्सिन यसैलाई पर्‍या छ । तीन शहर नेपालाँ यसको मात्रै घर भत्क्या जस्तो ! यसको दिमाखै ठीक छैन’, आमा पनि मुखको तीतो फाल्छिन् ।

आमाछोराको जुहारी चल्छ केही बेर । घर नरहे पनि घरझगडा छ, गृह नरहे पनि गृहकलह छ । मुस्कानका खातिर दाँतहरू साथ दिनसक्ने अवस्थामा नभए पनि दन्तबजान चाहिँ छ ।

घरसँगै क्षतिग्रस्त छन् मान्छेहरू । घरको जस्तै मान्छेको क्षतिग्रस्तता देखिन्थ्यो भने ऊ कस्तो देखिन्थ्यो होला ? एउटा आँखा आफ्नो ठाउँबाट खसेर तुर्लुङ्ङ झुन्डेको, कम्मर टुटेको, करङ भाँच्चिएको, घुँडा फुटेको… । मान्छेलाई यति भयानक र विद्रुप देख्ने यस्तो अस्वस्थ कल्पना गरेर म एउटा अपराध गर्छु । यसमा जसले काव्यिक आयाम देख्छ, त्यो पनि अपराधी हो । मजत्तिकै ।

अपराध त म अर्को पनि गर्छु । व्यग्रतापूर्वक चाहन्छु- नन भेज जिन्दगीको आफ्नो प्राचीन लयमा फर्कियोस् र सुनाओस् मलाई एउटा घच्चीको गैरशाकाहारी चुट्किला । (मलाई थाहा छ, चुट्किला त मूतको न्यानो न हो । कठोर चिसोले जिन्दगी कक्रेका बेला पिसाबको उष्णता काम लाग्दैन ।) र, पहिले झैं चुट्किलापश्चात् अरू हाँसून् नहाँसून्, ऊ हाँसोस् बेस्कन । आँसु आउने गरी । यो वाहियात र निर्मम कामना अपराधबाहेक अरू के हुन सक्छ ? यो दिल्लगीको समय होइन, चुट्किलाको समय होइन । कम्तीमा सर्वसाधारणका निम्ति ।

असाधारणहरूका निम्ति त हर पल दिल्लगी र चुट्किलाको हो । जस्तो कि, उनीहरू धरहरा बनाउने कुरा गर्छन् र दुई लाख भत्केका घरको हाँसो उडाएर तेजाबी मजाकको आनन्द लुट्छन् । रु. १५,००० का लागि १५ हजार ठाउँमा रोदन र हारगुहार गरिरहेछन् साधारण नेपाली । र, असाधारणहरू समृद्ध नेपालको खाका पेस गरिरहेछन् । मानौँ, समृद्धि भनेको जस्तापाताको देशीय विस्तार हो । यो तेस्रो दर्जाको चुट्किला हो ।

सहरमा एकतले बादशाहीका अनेक चुट्किला बनेका छन् । ७.६ रेक्टर स्केलको भुइँचालो पचाएर सिकन्दरीय मुद्रामा उभिएको जसको एकतले घर छ, ऊ वादशाह हो । सम्पन्न हुन बाँकी उसको ताजपोशीलाई चुट्किला शिल्पकारहरूले पूरा गरिदिएका छन् । जस्तो किः विवाहयोग्य छोरीका अभिभावकहरू हुनेवाला ज्वाइँमा कुल, बेहोरा, व्यसन-दुर्व्यसन, उद्यम आदि खोजिरहेका छैनन् । छोरीको पाणिग्रहण गर्नेको एउटै योग्यता खोजिरहेका छन् उनीहरू- एकतले घरको स्वामित्व । जस्तो किः पाँचतले सङ्गमरमरजडित घरको मालिक एकतले रुखोसुखो घरसँग आफ्नो घर साट्न खोजिरहेको छ, त्यो पनि चार, पाँच लाख रुपियाँ थपिदिने तत्परतासहित । र, यसरी गरिबीको इतिहासमा पहिलोपटक, निर्माणको इतिहासमा पहिलोपटक सानो या होचो घरले हीनतामा खुम्चिनुपरेको छैन । चुट्किला नै सही, चुट्किलामै सही !

नौ हजार मान्छे मरे । पाँच लाख मान्छे विस्थापित भए । दुई लाख घर भत्किए । पाँच खर्बको क्षति भयो । यी आँकडा हुन् । तर, आँकडा मात्र होइनन् । क्यालकुलेटरको भाषाले सबैथोक बयान गर्न सक्दैन । तथ्याङ्क समाचार या प्रतिवेदनमा छापिने अङ्क मात्र होइन । त्यहाँ मान्छे मुछिएको हुन्छ । उसका दुःख र वेदना मिसिएका हुन्छन् । रगत र आँसु घोलिएका हुन्छन् ।

रसुवा, ठूलो गाउँका अम्बर गुरुङले कुलकुटुम्ब र परिवारका गरी २४ जना आफन्त गुमाए । ठूलो गाउँका ७८ जनाले ज्यान गुमाए । के यो अङ्क मात्रै हो ? भोगटेको बोटमुनि घोप्टो परेर रुन्छन् अम्बर । मध्यरातमा छोरी र नातिनी कतै भेटिन्छन् कि भनेर गाउँ चहार्छन् । उनका सुन्निएका आँखाका डिलबाट पुतली जस्ती नातिनी र लाऊँलाऊँ खाऊँखाऊँ उमेरकी छोरीको सम्झनामा बग्ने आँसुलाई कुन गणित, कुन आँकडाले सक्छ समेट्न ? उनलाई परेको घाहा कुनै सपाट तथ्याङ्क होइन ।

गाउँका बारीभरि शव गाडिएका छन् । एउटै पाटोको एक छेउमा मान्छे र अर्को छेउमा चौपाया गाडिएका छन् । एउटै खाल्डोमा चार जनासम्मलाई गाडिएका छन् । के यो चार अङ्क मात्र हो ?

अम्बरको गाउँका ३ सय ७५ घरमध्ये चारवटा मात्र सग्ला छन् । गाउँ नै चकनाचुर भएको छ । घर भनेको ढुङ्गा, माटो, काठ, इँटा, सिमेन्ट, बालुवा, रड आदिले निर्मित भौतिक संरचना मात्रै होइन । नेपाली मनोविज्ञानमा घर स्वामित्वको प्रतीक हो, न्यानोपनको प्रतीक हो, परिवारको मियोको प्रतीक हो । हुन त यो पुरुषार्थको पनि प्रतीक हो । तर, ढुङ्गा र माटोले बनेको कच्ची घरले त्यो प्रतीकको बोझ धान्न सक्दैन । यो धर्तीमा गरिबका लागि आफ्नो भन्ने कुनै प्यारो चिज हुन्छ भने सम्भवतः त्यो घर नै हुनुपर्छ । संसारमा घर नभएका मान्छे करोडौं छन् । घर नहुनु पीडादायी हुन्छ । अझ भएको घर भत्किएर नरहनु झन् पीडादायी हुन्छ ।

भत्केको घरलाई हेरेर टोलाइरहन्छन् तेजराज । पत्नी र छोरी गुमाएका छन् । भत्केको घरमा पुरिएका छन् थुप्रै स्मृति । ढुङ्गा उठाउँछन्, राख्छन् । उठाउँछन्, राख्छन् । दिमागै ठीक ठाउँमा छैन उनको । यतिविघ्न क्षतिग्रस्त भएको मान्छेको दिमाग होस् पनि कसरी ठीक ठाउँमा ?

दिमाग त काठमाडौं, युटिकीकी सीता बाँस्तोलाको पनि ठीक ठाउँमा छैन । भत्केको घरमा छोराको स्कुल ब्याग खोज्दै थिइन् । कोदालीले गारो खोस्रँदै गरेकी उनलाई नियालिरहको थिएँ म । अलिकति असन्तुलन देखाउँदा चिच्याएको थिएँ, ‘खस्नुहोला नि दिदी !’ भयानक उदासीनतामा उनले भनेकी थिइन्, ‘खसे पनि के र ?’

काठमाडौंको दक्षिणी पाखाभित्तामा पर्ने हुँडु गाउँकी ललिता लामाको पनि दिमाग कहाँ सही ठाउँमा छ र ? उनको प्रणय यही साल लक्ष्यमा पुग्दै थियो । तर, प्रकोपले हाल्यो भाँजो । ‘यस्तो विपद्‌मा के घरजम गर्नु र ?’ तय भएको लगन रद्द हुँदा उनले सुस्केरा काढेकी थिइन् ।

भुइँचालोले नेपालीबीच भाइचारा, मित्रता या एकता बढायो भन्ने हतारको निष्कर्ष खण्डन गरिदिएको थियो, मैले भेटेको एक जना प्रकोप-पात्रले । एउटा एनजीओको साथ लागेर म राहत बाँड्न पुगेको थिएँ, काँठ क्षेत्रको एउटा गाउँमा । सो प्रकोप-पात्र र उसको भाइका लागि आठ बाई १२ को एउटा त्रिपाल एनजीओले दिएको थियो ।

‘यो त्रिपाल दुई टुक्रा पार्न मिल्दैन सर ?’ उसले मलाई सोधेको थियो ।

‘किन दुई टुक्रा पार्ने ? यसै त सानो छ । दुई टुक्रा पार्‍यो भने कामै लाग्दैन नि,’ म छक्क परेको थिएँ ।

‘कुरो के भने नि सर, म र भाइ त मिल्थ्यौं तर बूढीहरू मिल्दैनन् । दुई टुक्रा पार्दिए एक-एक टुक्रा लिन्थ्यौं नि !’

‘अहिले पनि नमिले कहिले मिल्ने -‘

‘मिलौंला नि बिस्तारै,’ त्यसपछि ऊ हाँसेको थियो ।

अर्को एक ठाउँमा हामी रेकी गर्न गएका थियौँ । एनजीओको भाषामा  क्षति तथा आवश्यकता मूल्याङ्कन कि के जाति भन्छ त्यसलाई । एनजीओकर्मी मित्रले गाउँलेलाई ढाडस दिँदै भन्यो, ‘हामी विवरण लिन आएका । तपाईंहरूले सबथोक पाउनुहुन्छ । पाल, चामल, दाल, चिउरा, तेल, नुन…।’ उसले नायकत्वको आवेगमा ‘सबथोक’ मा जोड दिँदै भन्यो, ‘सबथोक पाउनुहुन्छ, सबथोक ।’

एक जना उरन्ठेउलो ठिटोले प्वाक्क भन्यो, ‘त्यो सबथोकमा कन्डम पर्छ कि पर्दैन ?’

‘कसलाई चाहियो कन्डम ?’ एनजीओकर्मीले मुख रातो पारेर भन्यो ।

‘मलाई चाइयो, मलाई,’ केटोले नधकाई छातीमा चोर औँला टक-टक पार्दै भन्यो ।

‘किन चाहियो तपाईंलाई कन्डम ?’ एनजीओकर्मी रिसायो ।

‘काठमान्डूको धर’रा ढले नि यो ज्यानको धर’रा त सग्लै छ नि ।’ उसको कुरा सुनेर भेला भएका प्रकोप-पात्रहरू गलल हाँसे । भेलाको महिला खण्ड पनि मुख छोपेर हाँस्दै थियो ।

‘छाडा मोरो !’ भीडबाट आवाज आएको थियो ।

‘केको छाडा नि ? अन्नपानीको देही, सबलाई चाहिने त्यही !’ त्यो वाचाल किशोरले आफ्नो बचाउ यसरी गरेको थियो ।

काँठ क्षेत्रकै एउटा दलित बस्तीमा पुगेको थिएँ म । त्यहाँ क्रिस्चियन मिसिनरीको एउटा डफ्फालाई भेटेको थिएँ । एक जना कोरियाली युवती पनि थिइन् । उनीहरूका आँखामा खै केको चमक थियो, बिछट्टको ।

राहत प्याकेजसँगै उनीहरू एउटा दम्भपूर्ण घोषणाका साथ पुगेका थिए । त्यो घोषणाको भाषा ठ्याक्कै यही त होइन तर मजबुन ठ्याक्कै यही थियो, ‘मन्दिरहरू ढलिहाले । ब्रहृमा-विष्णु-महेश्वरका दिन गए अब । अब खुट्टा घुमाउने पालो हाम्रो यिशुख्रिष्टको !’

उनीहरूलाई एक जना जँड्याहाले बोर गरिरहेको थियो । ऊ डफ्फाका हरेकलाई झिँजो लगाइरहेको थियो, ‘एक फुल रोयल स्ट्याग किन्दिनुस्, धरोधर्म क्रिस्सेन बन्छु । घर भुइँचालोलाई चढाइहालेँ, अब धर्म तपैँहरलाई चढाउँछु ।’ उनीहरू उसलाई उपेक्षा गरिरहेका थिए । ऊ भने डफ्फालाई उही रटानसाथ पछ्याइरहेको थियो, ‘एक फुल रोयल स्ट्याग किन्दिनुस्, ऐले यहीँ, ठाउँको ठाउँ क्रिस्सेन बन्छु ।’

दिमाग ठाउँमा नभएको अर्को प्रकोप-पात्र हो, साने । बस्तीमा ऊ बौलायो भन्ने हल्ला चलेको थियो । ४५ लाख रुपियाँ ऋण निकालेर बनाएको थियो उसले तीनतले घर । भर्खर फिनिसिङ सकिएको थियो । सनै नपाई घर चकनाचुर भयो । तल्लो आधा तलाजति जमिनमा धस्सिएको थियो । घर केराको पातमा चक्कु चलाए जस्तो थियो । चिरैचिरा परेको ।

वडा कार्यालयमा बस्तीका प्रतिष्ठित व्यक्तित्व गोपालकुमारलाई हात हालेपछि सानेको मगज सड्किएको तथ्य प्रमाणित भएको थियो । त्यहाँ बस्तीमा रहेका डेरावाललाई राहत दिनु ठीक कि बेठीक भन्ने विषयमा विवाद चलिरहेको थियो । प्रतिष्ठित गोपालकुमारले डेरावाललाई राहत दिनु भनेको बस्तीका मान्छेको भाग खोसेर उनीहरूमाथि अन्याय गर्नु हो भन्ने तर्क दिएपछि मगजले अलि-अलि धर्म छोड्दै गरेको सानेले रौद्र रूप देखाएको थियो र ऊमाथि खनिएको थियो ।

(मलाई सुनाइए अनुसार) उसले पहिले मुख छाड्यो, ‘यो मा… गोपेलाई हेर् त, खाते साला ! यसको घर एक अम्मल पनि चर्क्या छैन । दलाली गरेर लाखौँ कमा छ । बाउबाजेले दुनियाँलाई मारेर करोडौंको जग्गाजमिन जोड्देका छन् । तर, चामलको बोरा समाउन यही दौडिन्छ । पाल यसैलाई चाहिएको छ । जस्ता यसैलाई चाहिएको छ । अहिले डेरावासीलाई राहत दिनु हुन्न भन्छ । उनीहरूसँग खा’को भाडा ओकल्न त भाते !’ त्यसपछि उसले गोपालकुमारको अनुहारमा दुई-चार जोरदार मुक्का बजाएको थियो । गोपालकुमारको नाकबाट बगेको रगतलाई बस्तीले सानेको मानसिक सन्तुलन बिग्रिएको प्रमाणका रूपमा ग्रहण गर्‍यो ।

गाउँ-गाउँ घुमिरहेको मनोविद्हरूको टोलीसँग म उसको जस्ताको कुटीमा पुगेको थिएँ । उसको छोरो सामीन (पिता सानोबाबु र माता मीनाका नामका अक्षर मिलाई राखिएको नाम) मुढामा बसेर मोबाइल चलाइरहेको थियो । मलाई देख्नेबित्तिकै भन्यो, ‘हेलो, अङ्कल द जर्नालिस्ट ! भूकम्प द ग्रेट डिज्यास्टरको रिपोर्टिङ गर्दै हो कि क्या हो ?’

युवा पुस्ताले दक्षिण भारतीय फिल्म असाध्यै रुचाइरहेको छ । भुइँमा खुट्टा रगडेका भरमा आँधी ल्याइदिन सक्ने, एक मुक्कामा एक दर्जन गुन्डा र एक लातमा दुई दर्जन बदमासलाई हावामा उडाइदिन सक्ने हिरोहरूका थुप्रै फ्यान छन् नेपालमा । उनीहरूका अतीव शौर्ययुक्त क्रियाकलापमा युवा पुस्ताको उग्र लगाव र आशक्ति कतै आफ्नो निरीहता विरुद्धको कारबाही पो हो कि ?

सामीन यस्ता फिल्मको मैले भेटेका सबैभन्दा ठूलो पारखी हो । उसमा यस्ता फिल्मका नाम कसरी गढेका छन् भने उसको कुराकानी गर्ने शैलीमा त्यसको छनक पाइन्छ । शिवाजी: द बोस, दाग: द बर्निङ फायर, नानी: द म्याजिक म्यान, विध्वंसक: द डिस्ट्रोयर, जानवर: अन दी एलर्ट, नम्बर वन जुडवा: द अनब्रेकेबल… ।

यस्ता असङ्ख्य फिल्म हेरेपछि सामीनले संवादको आफ्नै विशिष्ट शैली विकास गर्‍यो । एउटा शब्दका पछाडि केही अङ्ग्रेजी शब्दका फुँदा गाँस्नु उसको प्रिय मनोरञ्जन भयो । उसबाट मैले सुनेका केही शब्द यस्ता छन्- भात: द हङ्गर किलर, कलेज: द वेस्ट अफ टाइम, घर: द ड्यान्जरस सेल्टर, गाउँ: द स्टुपिड भिलेज, त्रिपाल: द बिग सर्च, राहत: द ग्रेट ड्रामा… ।

‘तेरो बाउ खोइ त ?’ मैले सोधेँ ।

‘बाउ: द लेटेस्ट साइको इन भिलेज भित्र हुनुहुन्छ । बोलाइदिन्छु पख्नुस् ।’

साने र उसका बाउ कुटीबाहिर आए ।

साने टुक्रुक्क बस्यो । हाम्रो वास्ता गरेन । चुरोट सल्कायो र तान्न थाल्यो । कसैले यति तन्मयतापूर्वक चुरोट खाएको मैले देखेकै थिइनँ । मानौँ, ऊ मानव सभ्यताको अन्तिम खिल्ली चुरोट तानिरहेको थियो ।

‘हाम्रो साने त बौलाउँछ कि क्या हो, साइँला ?’ उसका बाले मलाई भने, ‘दिनमा चार, पाँच बट्टा चुरोट खान्छ । भात खाँदा पनि चुरोट खान्छ । त्यस्तो सोझो मान्छे ! यसले ठूलो स्वरले बोलेको तिमेर्लाई था छ ? भैँचालो गएदेखि त उग्र भा’ छ । अहिले त जसलाई पनि झम्टिन्छ । डाँकोले निल्न खोज्छ । भन्नु नभन्नु भन्छ । गाउँका पञ्च भलाद्मी कसैलाई गन्दैन । कसैको अदबै राख्दैन ।’

‘किन यतिविघ्न चुरोट खा’को तैँले दाइ ?’ उमेरले मभन्दा धेरै जेठो भए पनि ऊसँग मेरो तँ-तँ म-म चल्छ । हामी एक बेलाका दारु सङ्गाती थियौँ ।

‘मर्नुभन्दा बहुलाउनु निको । बहुलाउनुभन्दा गीत गाउनु निको । स्वर आफ्नो टपरीमा मुत्याजस्तो छ । गीत गाउनुभन्दा चुरोट तान्नु निको !’ यति भनेर साने हाँस्न थाल्यो । धुवाँ सर्कायो ।

मनोविद् युवतीले सानेका बाउलाई सम्झाउन थालिन्, ‘हेर्नुस् बा । उहाँलाई चारवटा कुरा भएको हुन सक्छ । यस्तो ठूलो विपत्तिमा यस्तै हुन्छ । पहिला एड्जस्टमेन्ट डिसअर्डर हुन्छ, त्यसपछि एन्जाइटी डिसअर्डर हुन्छ अनि डिप्रेसन हुन्छ र लास्टमा पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर हुन्छ, जसलाई पीटीएसडी भनिन्छ । कुरा बुझ्नुभो त बा ?’

सानेका बाले कुरा बुझेनन् र ट्वाँ परेर मलाई हेरे । यो अनुदानको ज्ञान थियो । बुझिँदैन पनि ।

वैशाख १२ पछिको पाँच-६ हप्तामा मैले थुप्रै प्रकोपपीडित भेटेँ । एक पात्र भने मेरो दिमागमा छापिएका छन्, टङ्कन भए जस्तो । अम्बर गुरुङ । छुट्टिने बेलामा उनले भनेका थिए, ‘धर्ती नै भासिन्छ भने पनि गाउँचाहिँ छोडिन्नँ ।’

अम्बर गुरुङलाई भेटेपछि मैले जानेको छु- नेपाली कस्तो जात हो ?

(०७२ को विनाशकारी भूकम्पबारे २७ जना लेखकको संस्मरण र अनुभूतिको सँगालो अप्रिय अप्रिल बाट । पुस्तक राजकुमार बानियाँको सम्पादनमा गत वर्ष प्रकाशन भएको थियो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment