Comments Add Comment

कुलेखानी तेस्रोको काम सुस्त, आयोजना प्रमुख भन्छन्-साउनसम्म असम्भव


१२ बैशाख, काठमाडौं । प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डले कुलेखानी तेस्रो जलबिद्युत आयोजनाको काम साउनसम्ममा काम सक्न निर्देशन दिएका छन् । तर, काम साह्रै सुस्त गतिमा अघि बढेकाले साउनसम्म सकिने कुनै सम्भावना नरहेको आयोजना प्रमुख सुवासकुमार मिश्र बताउँछन् ।

मिश्रका अनुसार अहिले इलेक्ट्रोमेकानिकलको काम राम्रोसँग अघि बढ्न सकेको छैन । चिनियाँ ठेकेदार कम्पनी झे जियाङ जिल्लुनले काम त थालेको छ तर गति एकदमै सुस्त छ ।

आयोजना प्रमुख मिश्र भन्छन्, ‘चिनियाँ कम्पनी स्थानीय प्रतिनिधि हुलाससँग पूर्णरुपमा भर परेकाले काम सुस्त भएको हो ।’
झे जियाङका प्रतिनिधिले फेब्रुअरीदेखि आएर काम थालेका छन् । तर चीनबाट आएको टोली ठुलो भने छैन । यो टोलीमा जम्मा ४/५ जना मात्रै भएको मिश्र बताउँछन् ।

इलेक्ट्रोमेकानिकलको धेरै काम बाँकी छ । तर झे जियाङले तत्परताका साथ काम गरेको छैन । इलेक्ट्रोमेकानिकल अन्तर्गतको सामान सप्लाईको ८० प्रतिशत काम सकिएको छ भने उपकरण जडानको काम भने ५० प्रतिशत मात्रै सकिएको छ ।

मिश्रले भने, ‘उपकरण जडानको काम सुस्त भएको छ, हामीले घच्घच्याइरहेका छौ । तर उच्च तहबाट दवाव नपरेसम्म छिटो हुनेवाला छैन ।’

सिभिलतर्फको काम भने २ प्रतिशत मात्र बाँकी छ । २ प्रतिशत मध्ये १ प्रतिशत सिभिल आफैंले सम्पन्न गर्न सक्छ भने अर्काे एक प्रतिशतको लागि इलेक्ट्रोमेकानिकलको सहायता लिन पर्दछ । इलेक्ट्रोमेकानिकलको काम अघि बढ्न नसक्दा सिभिलको काम पनि प्रभावित भएको छ ।

बिद्युत प्राधिकरणले यही वर्षको साउन १५ सम्ममा कुलेखानीको सबै काम सक्ने लक्ष्य लिएको थियो । प्राधिकरणकै लक्ष्यअनुसार प्रधानमन्त्री प्रचण्डले पनि साउनमै सक्न निर्देशन दिएका छन् ।

तर काम सुस्त गतिमा अघि बढेकाले लक्ष्य भन्दा ५ महिना पर धकेलिने सम्भावना रहेको मिश्र बताउँछन् । अहिले पनि चीनबाट ल्याइएको कैयन उपकरण जोड्नै बाँकी छ । कति उपकरण आइपुगेकै छैनन् । उत्पादित बिजुलीलाई प्रशारण लाइनमा जोड्ने गरी पूर्वाधार बनाउन पनि बाँकी छ ।

पाँच वर्षसम्म मिति सरेको सर्‍यै

सन् २००८ को अपि्रलदेखि सुरु भएको यो आयोजनाको निर्माण सन् २०११ डिसेम्बरसम्म सक्ने लक्ष्य थियो । तर तोकिएको समय गुज्रेको पाँच वर्ष बितिसक्दा पनि काम भने सकिएको छैन ।

पहिलो पटक ३० महिना म्याद थपिएको थियो । फेरि क्रमशः ९ महिना, ३ महिना र ६/६ महिना गरी आयोजनाको म्याद थपिएको हो ।

इलेक्ट्रोमेकानिकलले गत पुसको १६ गते सम्पन्न गर्ने गरी विद्युत् प्राधिकरणले छैटौंपटक म्याद थप गरेको थियो । म्याद गुज्रेपछि आगामी साउन सम्ममा सक्न प्राधिकरणले झे जियाङलाई निर्देशन दिएकेा छ । तर साउन सम्ममा पनि छाँटकाँट देखिएको छैन ।

मकवानपुरको भैंसेमा निर्माणाधीन यो आयोजना १४ मेगावाट क्षमताको हो । सुरुको लागत दुई अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएकोमा विविध कारणले आयोजनाको म्याद लम्बिँदा झण्डै चार अर्ब बढी खर्च भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment