Comments Add Comment

कांग्रेसको विश्लेषणः एमाले अतिवादी पासोमा, मधेसी दल हठधर्मिताको चक्रब्यूहमा

सत्ता सहयात्री माओवादीमा सत्ताको लाभ खोज्ने प्रवृत्ति

१२ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले सबै राजनीतिक दलसँगको सम्वादमार्फत देशलाई सहमति र मेलमिलापको बाटोमा हिँडाउने संकल्प गरेको छ । एमाले, माओवादी, राप्रपा र मधेसी मोर्चाको चरित्र चित्रण गर्दै कांग्रेसले अतिवादी र ढुलमुले प्रवृत्ति लोकतन्त्रका लागि जोखिमपूर्ण भएको बताएको छ ।

अतिवाद र नक्कली राष्ट्रवादको पासोमा एमाले

नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल एमाले अतिवाद र नक्कली राष्ट्रवादको पासोमा पर्दै गएको विश्लेषण गरेको छ ।

एमालेको अतिवादी राजनीतिक अडानले तराई मधेसको आन्दोलन चर्किएको कांग्रेसको आरोप छ । एमाले नेतृत्वको अदूरदर्शी अडानकै कारण संविधान संशोधन प्रक्रिया र सहमतिको राजनीति जोखिममा परेको उसले बताएको छ ।

कांग्रेसले भनेको छ, ‘मधेस र पहाडबीच मतभेद चर्काउने, मधेसी र पहाडी समुदायको राष्ट्रियताको भावनमलाई बेग्लाबेग्लै ताराजुमा जोख्ने र प्रचार गर्ने एमालेको अतिवादी विचारले देशलाई एकता, समाजिक सद्भाव, संविधानको कार्यान्वयन र लोकतान्त्रिक अभ्यासलाई ठूलो क्षति पुर्‍याएको छ ।’

माओवादीमा सत्ताको लाभ खोज्ने प्रवृत्ति

कांग्रेसले आफ्नो घोषणा पत्रमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रको पनि आलोचना गरेको छ ।

माओवादीमा अस्थिर राजनीतिको समयमा सत्ताको लाभ खोज्ने प्रवृत्ति देखिएको कांग्रेसको विश्लेषण छ । घोषणा पत्रमा भनिएको छ, माओवादी केन्द्रको ढुलमुले प्रवृत्तिले राजनीतिक अस्थिरता बढाएको छ । सहमति र सम्वादको राजनीतिबाट परिणाम निकाल्ने प्रक्रियालाई कमजोर बनाएको छ ।’

मुलुकको राजनीति मुठभेडको गम्भीर मोडमा पुगेका बेला माओवादी केन्द्रले दृढ संकल्प र प्रष्ट लोकतान्त्रिक बाटो पहिल्याउन नसकेको उसले बताएको छ ।

हठधर्मिताको चक्रब्यूहमा मधेसी दल

कांग्रेसले घोषणा पत्रमा मधेस केन्द्रीय दलहरु आफैं हठधर्मिताको चक्रब्यूहमा फस्दै गएको बताएका छन् । मधेसका जनतालाई सँधै निर्मम आन्दोलन र क्षतिमा होमेर राजनीतिक सम्वाद र सहमतिलाई कहिल्यै परिणाममुखी बन्न नदिने र आन्दोलनलाई समाजिक सद्भाव विग्रने सीमासम्म फैलिन दिएर मधेस केन्द्रीय दलहरुले मधेसमा अतिवादी सोच र प्रवृत्तिलाई बल पुर्‍याउने गल्ती गरिसकेका छन्, कांग्रेसले भनेको छ ।

आन्दोलनको चक्रव्यूहबाट निस्किएर संविधान संशोधनमार्फत समस्या समाधानमा अग्रसर हुन आहृवान गरेको छ ।

राप्रपा अवसरवादी सत्ता राजनीतिको दलदलमा

कांग्रेसले अर्को सत्ता साझेदार राप्रपाबारे पनि आफ्नो धारणा घोषणा पत्रमा समावेश गरेको छ । लोकतान्त्रिक शक्तिसँग विश्वसनीय सहकार्य र संविधान संशोधनमार्फत देशको समस्या समाधान गर्न राप्रपा आफ्नो अतृप्त सत्ता राजनीति र पञ्चायत मोहको प्रवृत्तिबाट बाहिर आउनुपर्ने उसले बताएको छ ।

‘नयाँ संविधानलाई निष्ठाका साथ स्वीकार नगर्ने प्रवृत्तिले राप्रपालाई अवसरवादी सत्ता राजनीतिको दलदलमा फसाउँदै ल्याएको छ, कांग्रेसले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment