Comments Add Comment

कांग्रेसको घोषणा पत्रः महानगरमा मोनो रेल, भूकम्प पीडितलाई ५० हजार

शहरमा बिजुली आधा छुट, गाउँ ई-चौतारी !

१२ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि बनाएको घोषणा पत्रमा पूर्वाधार विकासका महत्वाकांक्षी योजनाहरु अघि सारेको छ ।

कांग्रेसले विशेष पहिचानसहित स्मार्ट शहर बनाउने बताएको छ । ठूला सहरमा ‘मास र्‍यापिड ट्रान्जिट’को अवधारणा अनुसार सुविधा सम्पन्न बसलाई छुट्टै लेन, हरित साइकल लेन र पैदल मार्गको व्यवस्था गर्ने बताएको छ ।

कांग्रेसले तराई मधेसमा हुलाकी सडक र पहाडी क्षेत्रमा मध्यपहाडी लोकमार्ग आफ्नो सरकारको पहिलो प्राथमिकतामा रहने बताएको छ भने हिमाली क्षेत्रमा सडक यातायातसँगै ग्रेट हिमालयन ट्रेल विकास गर्ने बताएको छ ।

उसले हरेक स्थानीय तहको केन्द्रलाई पक्की सडकमार्फत राष्ट्रिय सञ्जालमा जोड्ने उल्लेख गरेको छ । नयाँ बस्ती र बजार केन्द्रलाई एकीकृत बस्ती तथा सहरी विकासमा जोड दिने, मध्य पहाडी र तराई मधेसका लोकमार्ग आसपासका स्थानीय तहमा आधुनिक सहर निर्माण गर्न बताएको छ ।

कांग्रेसले हरेक स्थानीय तहको केन्द्रको अवधिक र भौतिक योजना बनाउने भन्दै आफ्ना प्राथमिकता सार्वजनिक गरेको छ । जसमा गाउँ नगरलाई प्रदुषणमुक्त बनाउने, प्रत्येक वडा केन्द्रमा खेलकुद मैदान र पायक पर्ने स्थानमा स्पोर्टस् कम्प्लेक्स, नगरस्तरमा महिला खेलकुद क्लब पर्छ । एक घर-एक रुख, एक गाउँ-एक वन तथा एक नगर-अनेक उद्यानको नारा दिएको छ ।

स्वेदश तथा विदेशी उत्पादनमुलक उद्योगको प्रवर्धन हुने गरी स्थानीय सरकारले ५० प्रतिशतसम्म विद्युत महसुल छुटमा उर्जा उपलब्ध गराउने नीति लिने उसले बताएको छ । स्थानीय सरकारले घरायसी उपयोगका लागि इन्धन र खााना पकाउने ग्यास सहुलियत दरमै उपलब्ध गराउने उसको दाबी छ ।

कांग्रेसले आफ्नो घोषणा पत्रमा भूकम्पपछिको पुनर्निर्माण स्थानीय सरकारको पनि प्राथमिकतामा हुने बताएको छ । भूकम्प प्रतिरोधी घर बनाउन ५० हजार प्रोत्साहन अनुदान दिने प्रतिवद्धता कांग्रेसले जनाएको छ ।

कांग्रेसले राष्ट्रिय परिचयपत्र कार्यक्रमलाई देशव्यापी बनाउने बताएको छ । साथै मौसम, बाली र प्रविधि प्रयोग जस्ता कृषि सम्वन्धी सूचना प्रदान गर्न प्रत्येक गाउँमा अत्याधुनिक इ-चौतारी स्थापना गर्ने कांग्रेसको घोषणा पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment