Comments Add Comment

नेपालमा औलो रोगीको संख्या एक हजारभन्दा बढी

१२ वैशाख, काठमाडौं । नेपालमा औलो रोगीको संख्या १ हजारभन्दा बढी भएको एक अध्ययनले देखाएको छ । संक्रमित लामखुट्टेको टोकाइबाट ५४१ स्थानीय संक्रमितका साथै खुला सीमानाका कारण भारतबाट आउने संक्रमितको संख्या ४९५ छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौ, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा उपस्वास्थ्य प्रशासक डा.भेषराज पोखरेलका अनुसार नेपालमा रहेका औलो संक्रमितमध्ये ४५ प्रतिशत खुला सीमानाकाका कारण भित्रने गरेको बताए ।

विश्व औलो दिवसको सन्दर्भमा ‘सदाका लागि औलोको अन्त्य गरौ’ भन्ने नाराका स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै डा. पोखरेलले बाँकीको संक्रमण नेपालमै पाइने लामखुट्टेका कारण हुने गरेको बताए ।

विश्वमा हरेक वर्ष अप्रिल २५ तारिखका दिन विश्व औलो दिवस मनाइन्छ ।

कार्यक्रममा उनले नेपाललाई सन् २०२५ सम्म्मा नेपाललाई औलोमुक्त बनाउने गुरुयोजना रहेको बताउँदै औलो कार्यक्रमको रणनिति २०१४-२०२५ बारे जानकारी गराएका थिए ।

उनका अनुसार हाल नेपालका २५६ गाउपालिका औलोको उच्च जोखिममा रहँदै आएको छ । त्यसमध्य १५ जिल्ला उच्च जोखिममा, १० जिल्ला मध्य जोखिममा तथा १५ जिल्ला निम्न जोखिममा रहेका छन् ।

‘नेपालमा औलो रोगीका संख्या घट्ने क्रममा रहेको देखिए पनि नेपालकै लामखुट्टेले औलो रोग लाग्ने क्रम भने बढ्दो छ । यसको रोकथामका लागि पनि खुला सिमानाको समस्यालाई व्यवस्थापन गर्न राजनैतिक प्रतिवद्धता आवश्यक छ’ ।

कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखाका डा. किरण राज अवश्थीले नेपालमा औलो रोगको अवस्थाबारे अवगत गराएका थिए ।

उनले विगत दुई वर्ष देखि नेपालमा औलो रोग निर्मुलनका लागि नेपाल सरकारले राष्ट्रिय स्तरमा नै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन, नेपाल प्रतिनिधि निहाल सिंहले सन् २०२० सम्ममा विश्वका २१ देशमा औलो उन्मुलन गर्ने कार्यकम रहेकोमा नेपाल पनि त्यसमध्यको एक रहेको जानकारी दिए ।

उनले भने, ‘विश्व स्वास्थ्य संगठनले नेपाललाई २१ देशको सूचीमा सूचिकृत गरे पनि सन् २०२५ अगावै नेपालमा पनि औलो उन्मुलन हुनेमा हामीले आशा लिएका छौं ।’

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र प्रसाद पाण्डेले नेपालले विभिन्न रोग नियन्त्रणमा फड्को मारेको जीकिर गर्दै विभिन्न परिसूचकहरुले समेत यसलाई प्रमाणित गरिसकेको हुदाँ हत्तोत्साही भई हाल्नु नपर्ने बताए ।

उनले सन् २०२० सम्ममा विभिन्न देशहरुको सहकार्यमा नेपालले पनि औलो उन्मुलनको क्षेत्रमा धेरै काम गरी औलोलाई शून्यमा ल्याउनेमा आशा व्यक्त गरे ।

‘बजेट समस्या, आवश्यक जनशक्तिको कमी, दातृ निकायहरुसँगको निर्भर, भौगोलिक विकटता लगायतका विभिन्न समस्याका बाबजुद नेपालले औलोलाई शून्यमा झार्न नसके पनि औलो उन्मुलनको क्षेत्रमा धेरै काम गर्न सफल भएको छ ।’ विभागका महानिर्देशक डा. पाण्डेले भने, ‘नेपालले रोग नियन्त्रणका क्षेत्रमा कामलाई हेर्दा मलाई लाग्छ, सन् २०२५ भन्दा अगाडी नै हामीले केही रोगाई नियन्त्रणमा राखिसक्नेछौ । तर त्यसको लागि सबैको सहयोग आवश्यक छ । यदी सबैको सहयोग भएमा भोलीका दिनमा कुनै पनि नेपालीले औलो रोगबाट ज्यान गुमाउनु पर्दैन’ ।

के हो औलो रोग ?

नेपालको प्रमुख सरुवा रोगमध्ये पर्ने औलो नियन्त्रणका लागि सरकारको प्राथमिकतामा परेको रोग हो । औलो संक्रमित संक्रमित पोथी एनोफिलिज लामखुट्टेको टोकाईबाट यो रोग मानिसमा सर्ने गर्छ ।

यस रोगको जोखिममा गर्भवती महिला तथा पाँच वर्ष मूनिका बालबालिका अत्याधिक रहने गर्दछन् ।

संसारमा पाइने औलो परजीवीमध्ये दुई परजीवी प्लाज्मोडियम फाल्सिपेरम र प्लाज्मोडियम भाइभेक्स जातको परजीवीमात्र नेपालमा पाइन्छ । यसमध्ये प्लाज्मोडियम फाल्सिपेरम गराउने औलो रोग बढी कडा र खतरनाक हुन्छ । नेपालमा वर्षेनी करिब एक हजारको हाराहारीमा प्रयोगशालामा प्रमाणित औलो रोगी भेटिन्छन् ।

औलोको लक्षणः

१. कामज्वरो यसको प्रमुख लक्षण हो ।
२. निरन्तर ज्वरो आउनु
३. टाउको बेस्सरी दुख्नु वान्ता हुनु
४. जाडो हुनु, कम्पन हुनु, ज्वरो आउनु र ज्वरो घटपछि पसिना आई थाकेको महसुस हुनु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment