Comments Add Comment

आमाको मुख हेर्ने दिनः नाफा र घाटामा अडिएको सम्बन्ध   

“घर कहाँ हो आमा ?”

मेरो प्रश्नको जवाफ आमाले आँसुले दिनुभयो ।

अनपेक्षित थियो मेरो लागि आमाको आँसु । सन्नाटा चिर्दै आमा बोल्नु भयो- “मेरो घर यही हो नानी ! यहीँ बस्छु । यही पिपलबोट हो मेरो घर ।”

“तपाइको परिवार….?”

“परिवार….!?” करेण्ट लागे झैं आमा तरंगित हुनु भयो ।

“तिमी को हौ मेरो मुटुको घाउको खाटा उप्काउने ?” आमाको कुराले झस्किएँ म ।

“मकै साह्रै मीठो पोल्नु हुँदो रहेछ ।” मैले कुरा टार्न खोजें ।

“सधैं मकै खान आउँछु है आमा ।” मेरो कुराले आमाको ओंठमा फिस्स हाँसो देखियो ।

बिशालनगर पिपलबोटमुनि त्यसपछि पनि म आमाले पोलेको मकै खान धेरै पटक गएँ । मेरै आमाको उमेर हाराहारीकी तिनी आमासँग समयको अन्तरालसँगै धेरै कुराहरू पनि हुँदै जान थाल्यो । लोग्ने मरेपछि छोरा-बुहारीको बुहार्तन सहन नसकेर आमाले घर छाडेर केही बर्षदेखि पाटीको बास बस्न थाल्नु भएको रहेछ । केही समय त पशुपति, गुहेश्वरीमा माँग्न पनि बस्नु भएछ । पछि आफैँलाई लाज लागेर मकै पोलेर बेच्न थाल्नु भएको रहेछ ।

श्रमप्रति आमाको निष्ठा देखेर श्रद्धाले शिर झुक्यो मेरो । मनमनै नमन गरेँ आमालाई ।

गफैगफमा एकदिन आमा निकै बहकिनु भयो । आमाको चुराे कुरा थाहा पाउन म पनि निकै दिनदेखि उत्सुक थिएँ ।

“हेर नानी ! खाइ नखाई छोरोको इच्छानुसार इन्जिनीयर बनाइयो । छोरोभन्दा धेरै खुशी थिएँ म, ऊ इन्जिनीयर भएकोमा । छोरोको बानिब्यहोरामा देखेर डाहा नगर्ने कोही थिएन । छोरो हुनु त फलानाको जस्तो पो त ! गर्वले छाती चौडा हुन्थ्यो छोराको प्रशंसा सुनेर । तर नानी ! हुने हार दैव नटार भन्छन् । बज्रपात भयो हामीमाथि पनि ।” एकाएक भावुक बन्नु भयो आमा ।

भावुकता तोड्दै पुन: आफ्नै सुरमा बोल्न थाल्नु भयो- “घरको भर्यांगबाट चिप्लेर पछारिनु भयो उहाँ । ऐय्या… पनि भन्न नपाई हामी सबलाई टुहुरा बनाएर जानु भयो । छोरो भर्खर जागिरमा जोडिन थालेको थियो । बाउको काजकिरिया सक्ने बित्तिकै छोराको बाहिर सरूवा भयो । जानै पर्थ्यो, ऊ बाहिर गयो । घरमा एक्लै भएँ म ।

कि घरपाइक सरूवा गर, कि बिहे गर । छोरालाई दिनदिनै कचकच गर्न थालें । दशैं बिदामा घर आउँदा उसले एउटा फोटो ल्याएर देखायो ।

“डाक्टर पढ्दै गरेको केटी हो । खान्दानिया हुन् । आमालाई मन पर्छभने बिहे गरौं त ?” छोराको बोली नटुंगिदै “हुन्छ” भने मैले । मंसिर महिनाको पहिलो लगनमै बिहे सकियो । जीवनमा म दोश्रो पटक त्यति धेरै खुसी भएँ । के ढाँट्नु नानी ! आफ्नै बिहेमा पनि त्यति खुसी भाकिथिन म ।” आमाको अनुहार फेरी मलिन भयो ।

आमाले फेरी कथा जोड्नु भयो- “बिहे भएको बर्ष दिन नबित्दै बुहारीको कचकच सुरू भो । छोरोलाई मोहनी लाइस् पो भन्छ ए मलाई त । साँच्चै आज्ञाकारी थियो त्यो । भनेको कुरा एउटै नकाट्ने । छोरासँगै बुहारीलाई पनि पठाई दिएँ त्यसपछि । दिन बिराएर सन्चोबिसन्चो सोध्ने छोरो हप्ता, पन्ध्र दिन हुँदै महिनादिनमा पनि फोन नगर्ने भयो । पीर बढ्दै गएर होला, म पनि बिरामी पर्न थालेँ ।”

एकदिन छोरा-बुहारीको सल्लाह सुनेँ । “यो बिरामी बुढीलाई पाल्नुभन्दा त बृद्धाश्रममा लगेर छाडिदिउँ ।” बुहारीको यस्तो कुरा सुनेर पृथ्वी भासिए जस्तै भयो  नानी मलाई त्यसबेला । भाउन्न छुट्यो । सुन्या नसुन्यै गरें । आँखाबाट आँसु थामिएन रातभरि । रोएरै रात बित्यो ।

स्वास्नीसँगै मिलेर मलाई गाली गर्न सुरू गर्यो । अमृत जस्तै उस्को वचन तीर बनेर मुटुमा गढ्न सुरू भइसकेको थियो । सहनुको पनि सीमा हुन्छ नि ! कहिलेकहिँ त मलाई मर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । के गर्नु आफुले सोच्दैमा काल नआउॅदोरहेछ ।’

“बिस्तारै छोराबुहारीले नोकर्नी जस्तै गर्न थाले । खान पनि अड्कलेर दिन थाले ।  बिरामी हुँदा वास्ता गर्न छाडे । जे भए नि म त आमा हूँ नि नानी ! बुहारी त अर्काकी छोरी, छोरो त मेरै हो नि । स्वास्नीको कुरा सुनेर आमालाई त्यस्तो नराम्रो गर्नु हुन्छ त ?” आमाको आँखामा आँसु अटेन । परेलीको खोंच हुँदै आँसुको खोली बग्न थाल्यो । मेरो पनि रसिला भए दुबै आँखा ।

“सहनै नसकेपछि बैरागिएर घर छोडेँ नानी । कति दिन भोकै बसेँ । कति रात सडकपेटीमा कुकुरसँगै रात बिताएँ । आफ्नै छोराबाट लत्याइएकी म, अरू कसले पो कठै भन्थ्यौ र ? जवान युवाहरू देख्दा आफ्नै छोराको याद आउँथ्यो । मन थाम्नै नसक्ने गरी बाउँडिन्थ्यो । मेरो सहारा को थियो र ? यही आँखाको आँसु न हो । अचम्म नानी ! रोएर मान्छेको आँसु कहिल्यै नसकिदो रहेछ । यी हेर न, अहिले पनि यो आँसु बगेको ।” सरक्क आँसु पुछ्नु भो आमाले ।

आमाको कुरा सुनेपछि एकतमासले अमिलो भयो मेरो मन । फिल्मी कथा जस्तै लाग्यो आमाको जीवन । सन्तानहरूमा बढ्दै गएको कठोरता र मूल्यहिनताले मुटु चिमोटिरह्यो । जन्म दिने आमाप्रति यति निर्मम हुन सक्ने सन्तानहरूबाट समाजमा कसरी मानवीय मूल्य स्थापित होला ? कतै यो समाज पाषाण युगतिरै त फर्कँदै छैन ? भावी पुस्तालाई कस्तो संस्कृति छाडेर जाँदैछौं ?  प्रश्नै प्रश्नको चक्रब्यूहमा रूमल्लिएँ म ।

आमा केवल दिन जान्दछिन् लिन जान्दिनन् । वास्तवमा आमा सम्बन्धको नाम मात्र होइन । आमा समय र ममताको अपूर्व दर्शन हो

प्रसंग: आमाको मुख हेर्ने दिन ।

भोलि आमाको मुख हेर्ने दिन । पिपलबोटमुनि मकै पोल्दै गरेकी आमालाई आज पनि भेट्न गएँ । आमा मकै पोल्दै हुनुहुँदो रहेछ । प्रेमपूर्वक एक घोगो कलिलो मकै पोलेर दिनुभयो । असाध्यै मीठो थियो मकै । मातृस्नेह घोलिएको ।

“भोलि के हो थाहा छ आमा ?”

आमाले अनभिज्ञता प्रकट गर्नु भयो । एकमनले सोंचे, आमालाई थाहा दिएर बेकार किन रूवाउँ ? अर्को मनले सोचें म पनि त सन्तान हूँ, यी आमाको सम्मान किन नगरूँ ? अन्तत: थाहा दिने निर्णयमा पुगें र भनें- “आमा ! भोलि त आमाको मुख हेर्ने दिन हो नि त ।”

आमाको मन हो । कसरी थामियोस् ? आमा नौनी झैं पग्लनु भयो । आमालाई आश्वासन दिँदै भने- “आमा ! आफूले जन्माएको मात्रै आफ्नो सन्तान हुन्छ र ? म पनि त एक सन्तान हूँ । के मैले आमाको कोटीमा तपाईंको सम्मान गर्न मिल्दैन र ? म तपाईलाई सहयोग र सम्मान गर्न चाहान्छु आमा ।”

स्वीकार गर्नु भयो आमाले । प्रेमपूर्वक मेरो कपाल मुसार्नु भयो ।

“म भोलि भेट्न आउँछु आमा ।” मेरो मनमा सुनामी उठ्यो । म फटाफट अघि बढें ।

आमा शब्दबारे मनमा यसरी उत्ताल तरंगहरू तरंगित भइरह्यो-

आमा- जो आफ्नो यौवनका सप्तरङ्गी क्षणहरु सन्तानको निम्ति निस्वार्थ खर्चन्छिन् । आफू फुस्रिँदै र रितिँदै जाँदा पनि सन्तानको निम्ति गर्व गर्छिन् । सन्तानको पूर्णता र सन्तुष्टिमा मुग्ध भएर बाँच्छिन् ।  आमा केवल दिन जान्दछिन् लिन जान्दिनन् । वास्तवमा आमा सम्बन्धको नाम मात्र होइन । आमा समय र ममताको अपूर्व दर्शन हो । आमा शब्दको वर्णन गर्ने कुनै शब्दै छैन ।

साँच्चै भन्ने होभने मातृ ऋण चुकाउन संभव छैन । सायद यसैले होला, हामी आफ्नो देशलाई पितृभूमि नभनेर मातृभूमि भन्छौं । हाम्रा लागि माता तथा मातृभूमि समान महत्वको हुनाले आफ्नी आमालाई र मातृभूमिलाई उत्तिकै सम्मान गर्छौं । तर निष्ठुर सन्तानहरूका कारण घरपरिवारमा आमा संकटमा परे जस्तै हाम्रा राजनीतिक नेतृत्व वर्गको अदुरदशिॅता र स्वार्थका कारण  हाम्रो मातृभूमि पनि संकटमा पर्दै गइरहेको छ ।

आफ्नो सारा आयु सन्तानमाथि खर्चेर रितिएकी आमालाई वर्षको एकदिन सामान्य उपहार दिनुमा सन्तानको कर्तव्य पूरा हुँदैन । त्यसो गर्नुको कुनै ओॅचित्य पनि छैन । सपना बिग्रॅदा तथा छाती चर्कँदा सन्तानमाथि अनिष्ट आइपर्ने आशङ्कामा रातभर जागा रहने आमाको सम्मान बर्षको एकदिने औपचारिकतामा सीमित गर्नुहुँदैन । मातृसम्मान के एक दिनको औपचारिकतामा ब्यक्त गर्न सकिन्छ ? कदापि सकिँदैन ।

एकदिन आफू पनि बूढो भइन्छ । जीवन कुमालेको चक्र जस्तै हो । घुमिरहन्छ आफ्नै गतिमा

आजको युगले मान्छेलाई मान्छेबाट वस्तुमा रुपान्तरित गरिदिएको छ । त्यसैले आजको मान्छेले हरेक कुरालाई नाफा-घाटाको तराजुमा तौलन्छ । यहाँसम्म कि नाता सम्बन्ध पनि मान्छेका लागि नाफा-नोक्सानसॅग तुलनीय भएका छन् ।

आज हाम्रो समाजमा पुस्तैनी दुरी बढ्दै गैरहेको छ । जसका कारण अघिल्लो पुस्ताको मनमा चोट पुग्दैछ । उनीहरु आत्मसम्मान खोजिरहेका छन् । नाता सम्बन्ध औपचारिकतामा सीमित हुँदै जाँदा परिवार मात्र होइन, मान्छेको मन पनि खण्डित हुँदै जान थालेको छ । अघिल्लो पुस्ताको योगदानको महत्व पछिल्लो पुस्ताले बिर्सनेक्रम जारी छ । किनकि उसलाई नाफा-घाटाको हिसाब मिलान गर्न फुर्सद छैन ।

र अन्त्यमा

हरेक आमा-बाबुको छोरा-छोरीप्रति एउटा मीठो सपना हुन्छ । आफ्नो सन्तान असल बनुन् । कर्तब्यनिष्ठ होउन् । सक्षम र सुयोग्य होउन् । बुढेसकालको सहारा बनुन् । तर, घडीको सुईमा चल्नुपर्ने शहरी ब्यस्त जीवन र मानवीय मूल्यहीन संस्कृतिका कारण मान्छेको बुढेसकाल एकदमै असुरक्षित र अत्यासलाग्दो बन्दै गइरहेको छ । पुरानो पुस्तालाई बोझ मानेर पन्छाउन खोज्ने नयाँ पुस्ताले बुझ्नु पर्छ- एकदिन आफू पनि बूढो भइन्छ । जीवन कुमालेको चक्र जस्तै हो । घुमिरहन्छ आफ्नै गतिमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
राधा पोखरेल

अनलाइनखबरमा नियमित स्तम्भ लेख्ने युवापुस्ताकी लेखिका राधा पाेखरेल सामाजिक-राजनीतिक विषयमा केन्द्रित रहेर विशेषतः नारी एवं बालबालिकाकाे पक्षमा कलम चलाउँछिन्

ट्रेन्डिङ

Advertisment