Comments Add Comment

काठमाडौंको चुनावः नानीमैयादेखि रञ्जु दर्शनासम्म !

ठूला दलले उम्मेद्वार दिएनन्, महानगरमा कसलाई भोट हाल्ने ?

१३ बैशाख, काठमाडौं । नेपालको ऐन-कानुनले नकारात्मक भोटिङलाई कार्यान्वयनमा ल्याएको छैन । तर, धुलो र हिलोबाट वाक्कदिक्क बनिसकेका राजधानीबासीले महानगरको चुनावमा ‘नकारात्मक भोट’ प्रयोग गरे भने के होला ? कसले पाउला यस्तो भोट ?

सोसल मिडियाको ट्रेन्डलाई हेरेर धारणा बनाउने हो भने काठमाडौंको मेयरकी उम्मेदवार रञ्जु दर्शना त्यस्तो भोटको हकदार बन्न सक्ने संकेत देखिएको छ । तर, यसवीचमा कोही ‘नानीमैया’ आइनन् भने ।

प्रमुख दलका नेताहरुले अहिलेसम्म काठमाडौं महानगरमा उम्मेद्वार उभ्याउन नसक्दा रञ्जु एक्ली ‘टक अफ दी टाउन’ बनिरहेकी छिन् ।

२१ वर्षको उमेरकी रञ्जु विवेकशील नेपाली दलका तर्फबाट काठमाडौंको मेयरको उम्मेद्वार बनेकी छिन् । उनी यतिबेला अनलाइन, सोसियल मिडिया र टेलिभिजनका पर्दामा छाएकी छिन् । रञ्जुका विषयमा आउने समाचारले अरु भन्दा बढी नै पाठक तानेका छन् ।

मानिसहरुले यो उम्मेदवारीलाई ‘रेष्टुरेन्टको मेनु’ जसरी मात्रै हेरेका होइनन् भने युवा पुस्ताकी उम्मेद्वार दर्शना ठूला पार्टीका ठूला नेताहरुका लागि चुनौती बन्ने अनुमान लगाउन हामीले बाध्य हुनैपर्छ ।

के तपाईहरुलाई यस्तो होला भन्ने विश्वास लाग्दैन ?

नानीमैयालाई हेरौं

०३७ सालको जनमत संग्रहको एक वर्ष नबित्दै सुधारिएको पञ्चायती व्यवस्था अन्तर्गत ०३८ साल बैशाख २० गते राष्ट्रिय पञ्चायतका लागि आम चुनाव भयो । काठमाडौंको बौद्धिक जमात जनमत संग्रहमा व्यहोरेको हारले निराश थियो । काठमाडौंबासीमा एक प्रकारको ‘मास फ्रस्टेशन’ थियो ।

नानीमैया दाहाल नकारात्मक भोटकी प्रतीक हुन्, तर उनी आफैं चाहिँ नकारात्मक पात्र होइनन्

जनमत संग्रहमा काठमाडौंमा पञ्चायतले हारेको थियो र बहुदलले जितेको थियो ।  काठमाडौंमा निर्दलको पक्षमा ६८ हजार १ सय ४० भोट खसेको थियो । बहुदलको पक्षमा ८३ हजार ८ सय ८४ मत खसेको थियो ।

जनमत संग्रहको अर्को वर्ष भएको आम चुनावमा निराश काठमाडौंबासीले पञ्चहरुलाई हराएर सामान्य व्यक्तिलाई संसदमा पठाउने ‘रोमान्टिक’ बाटो अवलम्वन गरे । र, यसैका लागि उम्मेद्वारका रुपमा अघि सारिइन्- नानीमैया दाहाल ।

नानीमैया  नकारात्मक भोटकी प्रतीक हुन्, तर उनी आफैं चाहिँ नकारात्मक पात्र होइनन् । नानीमैया चुनाव लड्दा ३७ वर्षकी थिइन् । उनले विद्यालय टेकेटी थिइनन् । उनी गरीब किसानकी छोरी थिइन् ।

जब चुनाव भयो, काठमाडौंको एउटा सीटबाट चर्चित पञ्च जोगमेहर श्रेष्ठले जिते । त्यसबेलाका मन्त्री भइसकेका चर्चित पञ्चका श्रेष्ठले पाएको भोट २९ हजार ७ सय ४१ थियो ।

तर, नानीमैयाले चाँहि जोगमेहरको भन्दा दोब्बर ६५ हजार ७ सय ७७ मत पाइन् र लोकपि्रय जित हासिल गरिन् । उनले त्यसबेला काठमाडौंका तत्कालीन मेयर एवं चर्चित पञ्च कमल चित्रकारलाई हराइदिइन् ।

सामान्य किसान परिवारकी, कसैले नचिनेकी, पढाइ लेखाइ पनि नभएकी नानीमैया एकाएक शहरमा चर्चित बनिन् । नेपालको इतिहासमा यो घटना ‘नेगेटिभ भोटिङ’को अनुपम उदाहरण मानिन्छ अहिलेसम्म । कसैले पनि यो इतिहासलाई ब्रेक गर्न सकेको छैन ।

त्यसो त झापामा पनि ०३८ सालमै कम्युनिष्टहरुले अर्का गरीबका छोरा पुहातु चौधरीलाई जिताएर राष्ट्रिय पञ्चायतमा पठाएका थिए । पुहातुले राजा र पञ्चायतको विरोधमा बोलेपछि उनलाई बर्खास्त गरियो ।

नानीमैया अहिले ७३ वर्षकी भइन् । उनी प्रायः डिल्लीबजार र चाबहिल मालपोत कार्यालय आसपास भेटिन्छिन् । उनी आफू समाज सेवाका लागि खटिएको बताउँछिन् । कहिलेकाहिँ कर्मचारीहरुसँग विवाद गर्छिन् । उनी मालपोतमा कसैको कुनै काम लिएर भनसुन गर्न आएको बताउने गर्छिन् ।

काठमाडौंको चुनावको पहेली

काठकमाडौंको चुनावका निकै रोचक पक्षहरु छन् । ०१५ सालमा सम्पन्न संसदीय चुनावमा काठमाडौं क्षेत्र नं १ बाट कांग्रेसका लौहपुरुष गणेशमान सिंह र कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ आपसमा भिडेका थिए ।
गणेशमानले १० हजार ९ सय ८६ भोट ल्याएर जिते । कम्युनिष्ट नेता पुष्पलाल ७ हजार ८ सय ४८ भोट पाएर हारे ।

त्यसबेला काठमाडौं- ३ मा अर्का कम्युनिष्ट नेता तुल्सीलाल अमात्यले जितेका थिए ।

राष्ट्रिय पञ्चायतको दोस्रो आम चुनाव ०४३ साल जेठ ५ र १२ गते भयो । त्यसबेला भने काठमाडौंबासीले नानीमैयालाई उठाएनन् । बरु जनपक्षीय उम्मेद्वारका रुपमा पदमरत्न तुलाधारलाई अघि सारे र उनले जिते । राष्ट्रिय पञ्चायतमा पुगेर तुलाधरले निरंकुश पञ्चायतको विरोध गरे ।

निरंकुशताविरुद्ध संघर्ष गरेका तुलाधर अहिले नानीमैयाजस्तै बूढ्यौली अवस्थामा पुगेका छन् । यद्यपि उनी राजनीतिबाट टाढा छैनन् ।

बहुदल आइसकेपछि ०४६ सालपछि काठमाडौंमा भएका चुनावहरुको पनि रोचक पक्ष पाइन्छ । ०४८ सालमा काठमाडौं १ मा एमाले महासचिव मदन भण्डारीले कांग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई हराइदिएका थिए । काठमाडौं ५ बाट पनि मदन भण्डारीले नै जितेका थिए ।
काठमाडौं ३ मा पदमरत्नले गणेशमान पत्नी मंगलादेवीलाई हराएका थिए । क्षेत्र नं ४ मा कांग्रेस नेता प्रकाशमान सिंहलाई एमाले नेतृ साहना प्रधानले हराइदिएकी थिइन् । कांग्रेसका तर्फबाट काठमाडौंमा दमननाथ ढुंगानाले जितेका थिए ।

त्यस्तै ०५१ सालको चुनावमा काठमाडौं २ बाट विद्या भण्डारीले कांग्रेस नेता दमननाथ ढुंगानालाई हराइन् । काठमाडौं ३ मा मनमोहन अधिकारीले प्रकाशमानलाई हराए ।

मनमोहनले काठमाडौं १ बाट पनि जिते । ०५६ को चुनावमा एमालेले काठमाडौंबाट २ सीटमध्ये ५ सीट जित्यो । ०६४ सालमा भने एमालेले काठमाडौंका सबै सीट गुमायो । ०७० सालमा एमालेले ३ सीट जित्यो । उपनिर्वाचनमा फेरि उसले एउटा सीट गुमायो ।

स्थानीय निकायको कुरा गर्दा ०४९ सालमा काठमाडौंको मेयर कांग्रेसका पीएल सिंह जितेका थिए भने ०५४ मा एमालेका केशव स्थापित मेयर बनेका थिए ।

मैदानमा रञ्जुको मात्रै चर्चा !

मेयरकी उम्मेदरवार रञ्जु दर्शनाले जहाँ बोल्दा पनि काठमाडौंको हिलो, धुलो, फोहोर र सार्वजनिक यातायातको बेथितिबारे चर्चा गरिरहेकी छिन् । तथापि आँखा चिम्लेर घोकिएका कुराहरु बोलेजस्तै गर्ने रञ्जुले अहिलेसम्म राज्य सञ्चालनको अनुभव गरेकी छ्रैनन् । तर, उनी नानीमैयाजस्तै सामान्य युवती नभएर पार्टीमा संगठित, स्नातक तहको अध्ययन गरिरहेकी नयाँ पुस्ताकी सचेत नागरिक हुन् ।

तथापि दर्शनाले महानगरको कुनै वडामा काम गरेको अनुभव संगालेको भए मेयरमा काम गर्न उनलाई जिलो हुन सक्थ्यो । एकैपटक महानगरको मेयर उनले कसरी चलाउलिन् भन्ने प्रश्न मानिसहरुमा छ । तर, नेताहरुको काम गराइबाट वाक्क भएका राजधानीबासीले यिनै अवोध किशोरीलाई भोट दिएर आफ्नो नकारात्मक भोटिङ प्रयोग गरे भने नि ? यो नेपालको आधुनिक राजनीतिक इतिहासमा अर्को रोमाञ्चक घटना हुनेछ । र, यो एउटा निकै रमाइलो राजनीतिक ‘प्रहसन’ पनि हुन सक्छ । र, राजधानीको बेथितिबारे पूर्णतः आँखा चिम्लँदै आएका ठूला पार्टीका ठूला नेताहरुका लागि यो एउटा फलामे चुनौती पनि सावित हुन सक्छ ।

विवेकशील पार्टीमा परिपक्व र अनुभवी नेताहरु नभएका होइनन् । सो पार्टीका नेता उज्जल थापा वौद्धिक व्यक्ति हुन् । उनी आफैं काठमाडौंको मेयरमा उठेका भए धेरैले अचम्म मान्ने थिएनन् । तर, कलिलो उमेरकी दर्शनालाई नै किन यत्रो भारी बोकाइँदैछ ? कतै उनलाई नकारात्मक भोटको संवाहक बनाउन त खोजिएको होइन ? योजनाकारहरुलाई नै थाहा होला ।

काठमाडौंको महानगरको मेयर बन्नका लागि उमेरमात्रै योग्यताको कसी होइन, उम्मेद्वारमा उमेर र अरु पनि केही क्षमता र अनुभव चाहिन्छ । जस्तै-सनयात सेनले सन् १९११ मा चीनमा राजतन्त्र ढालेकै हुन् । तर, शासन चलाउने अनुभव नभएकै कारण उनी असफल भए ।

यो त भयो दार्शनिक कुरो । तर, राजधानीजस्तो महत्वपूर्ण ठाउँको महानगरमा चुनाव आउन अब १९ दिनमात्रै बाँकी छ । अहिलेसम्म कांग्रेस, एमाले र माओवादीजस्ता मुख्य दलहरुले मेयर र उपमेयरको उम्मेद्वार टुंगो लगाउन सकिराखेका छैनन् ।

एकताका गगन थापा र योगेश भट्टराईको नाममा चर्चा चले पनि त्यो सेलाइसकेको छ । केही व्यक्तिले कुलमान घिसिङलाई पनि चर्चामा ल्याएका थिए । तर, स्वयं घिसिङले नै यसको खण्डन गरिसकेका छन् ।

राप्रपाले राजाराम श्रेष्ठलाई मेयरका रुपमा अघि सारेको छ । उपमेयरका रुपमा अघि सारिएकी रेखा थापाले उपमेयरमा नलड्ने बताइसकेकी छिन् ।

यसबाहेक रविन्द्र मिश्रको साझा पार्टीले पूर्वसचिव एवं शहरी विकासमा परिपक्व र अनुभवी व्यक्तित्व किशोर थापालाई मेयरका रुपमा अघि सारेको छ । तर, सोरियल मिडियामा भने साझा पार्टीका अनुभवी उमेद्वार थापाको भन्दा अनभव नभएकी सही, नयाँ पुस्ताकी रञ्जु दर्शनाकै चर्चा बढी छ ।

एकातर्फ ठूला दलले समयमै उम्मेद्वार तय गर्न नसक्नु र अर्कोतिर परिपक्व उम्मेद्वारभन्दा पनि नयाँपुस्ताकी रञ्जुतर्फ धेरैको चासो देखिनुले कतै काठमाडौं महानगरमा नयाँ सुनामी आउन लागेको त होइन ?
ठूला भनिएका पार्टीले चुनावको मुखैमा आएर पनि उम्मेद्वार दिन सकेका छैनन् । अब काठमाडौंबासीले महानगरको मेयरमा कसलाई मतदान गर्ने ?
एमालेले काठमाडौंका पूर्वमेयर केशव स्थापितलाई नै टिकट दिने चर्चा पनि नचलेको होइन । तर, गत संविधानसभामा काठमाडौं- ६ बाट एमाले नेता योगेश भट्टराई हराउने भूमिका खेलेर १ हजारमात्रै भोट बटुलेका केशव स्थापित रञ्जु दर्शनाका सामु पूर्वमेयर कमल चित्राकार त बन्ने होइनन् ?

फेरि पनि प्रमुख दलहरुलाई काठमाडौंबासीको प्रश्न उही नै छ- महानगरपालिकाको चुनावमा कुन एजेण्डाका आधारमा कसलाई भोट हाल्ने ? खोई त उम्मेद्वार ? कि रञ्जु, किशोर थापा र राजाराम मध्ये एकजनालाई छान्नुपर्ने हो ? कि ठूला दललाई नकारात्मक भोट दिनुपर्ने हो काठमाडौंबासीले ?

हिलो र धुलोमा हिँडेर वाक्क भएका काठमाडौंका मतदाताले शायद अबको १९ दिनपछि यसको फैसला गर्नेछन् ।

यो पनि पढ्नुहोस्

राजनीतिमा ताजा हावा चाहिएको छ, त्यसैले काठमाडौंको मेयरमा उठेँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अरूण बराल

अरूण बराल अनलाइनखबर डटकमका सम्पादक हुन् ।

ट्रेन्डिङ

Advertisment