Comments Add Comment

‘यत्रो भुइँचालोमा नकमाएको कहिले कमाउने ?’

बैशाख १२ को भुइँचालोले अरूलाई जस्तै मलाई पनि त्रिपालको बास गरायो। घर भत्केकाहरू त घर बाहिर बस्ने नै भए। घर नभत्केका म जस्ताहरू पनि डरले त्रिपालमुनि बस्न बाध्य थिए। करिव एक डेढ महिनासम्म पालमुनि बस्दा धेरै कुरा जान्ने र सिक्ने मौका पाइयो।

पालमुनि बास बस्ने क्रममै एक रात किन हो किन निन्द्रै लागिरहेको थिएन। यत्तिकैमा अलि पर कता-कता हल्का कल्याङ् मल्याङ् आवाज सुनें । मोबाइल हेरें रातको एक बज्न लाग्या रैछ । अरूको निन्द्रा नखल्बलियोस् भनी कसैले चाल नपाउने गरी विस्तारै उठेर त्यही आवाज आएतिर सोझिएँ। अलिकति पर रामेश्वर दाइको करीब पाँच फूट अग्लो कम्पाउण्ड-वाल लगाएको एक रोपनी जति जमीन छ। महाभूकम्प पछि खाली जमीन जताततै भरिभराउ देखिए पनि अग्लो पर्खालले छेकेकोले होला त्यसमा कोही पनि बसेका थिएनन्।

यो आवाज त्यहीँबाट आए जस्तो लाग्यो। सरक सरक पाइला चाल्दै सास बिस्तारै बिस्तारै लिंदै त्यतातिर लागें। मधुरो हल्लखल्ला आई नै राख्या छ। जति जति म रामेश्वर दाइको जग्गातिर लम्कन्छु उति-उति त्यो हल्ला-खल्ला सङ्लिँदै जान्छ मेरो मुटुको धड्कन पनि बढ्दै जान्छ।त्यो कम्पाउण्ड-वालको बाहिर पट्टी एक ठाउँमा सास पूरै रोकेजस्तै गरी टुक्रुक्क बसें। त्यहाँबाट तिनको गफ अलि बुझिने गरी सुनियो।

एउटाले भन्दै थियो –
‘आज चाहिं यही टोलको गतिलो ठाउँ हान्नुपर्छ है । हिजो त रातभरि करायो दक्षिणा हरायो जस्तो भो ।’ यो वाक्यले म स्तब्ध भएँ। मैले कान ठाडा ठाडा पारें। सास त अघिदेखि नै रोकेजस्तै गरी बसेको छु।

साउती मारेजस्तो आवाज आयो-
‘मान्छे सब आफ्नो घर बाहिर गहिरो निन्द्रामा छन्। यस्तो मौकामा नकुम्ल्याएको कहिले कुम्ल्याउने?’
मेरा कान झन् ठाडा भए।

अर्कोले झन् बिस्तारी भन्यो- ‘हेर केटा हो! अरुलाई अभिशाप, दशा, काल जे जे भए पनि हामीलाई मालामाल बनाउने भगवान् को चाल हो यो। यस्तो अवसरलाई गुमाउँदा भगवान् रिसाउनु हुन्छ ।’

यो संवाद निकै मुश्किलले बुझें।

‘हो नि! यत्रो भुइँचालोमा मालामाल नभए कहिले हुने ?’

मलाई भने त्यही अगाडिको ठूलो ढुङ्गो उठाएर ‘लु हो मालामाल’ भन्दै तीनलार्इ त्यहीँ किच्याउँ जस्तो रीस उठेको थियो। तर, सम्हालिएँ।
‘बिस्तारी बोल । भित्ताका पनि कान हुन्छ भन्छन् । कसैले सुन्यो भने त खत्तम हुन्छ नि।’ अर्कोले खबरदारी गर्यो।

‘हो नि हामीलाई छुटाउन कोही पनि आउँदैन ।’

‘अस्ति हामीसंगै जेलबाट छुटेको त्यो नाके थियो नि अहिले त पार्टीमा लागेछ ।’

‘सालेलाई पूलीसले हत्तपत्त समाउँदै समाउँदैन समायो भने पनि तुरुन्तै छुटिहाल्छ । त्यस्तो हैसियत अलिक भा´छैन हाम्रो।’
`त्यसैले अलिक होशियारी अपनाउनु पर्छ।´

‘म त्यो त्रिपाल बस्तीको नजिकै गएर चियो गर्छु। कोही उठ्ने बित्तिकै आयो आयो भन्दै कराउँछु। तिमीहरू हामीले छानेका घरहरूबाट माल लिएर निस्कनु।’

शायद नाइकेको आवाज होला यो।

म त एकछिन चित खाएँ । आत्तिएँ पनि। डराएँ पनि। नडराउनु पनि कसरी । भुकम्पको वास्तविक परकम्प त अब पो शुरू भए जस्तो लाग्यो।
यस्तो विपद् मा सहयोग गर्नु त कता हो कता उल्टै यस्तो योजना ! पख्लास् लिएर जालास् टन्न भन्दै तुरुन्तै टोलै थर्किने गरी होहल्ला गरेर सबैलाई उठाएँ । त्यसपछि तीनको योजना असफल भो। ती भागे।समात्न सकिएन। शायद अर्को टोल हान्न अन्तै गए।

भोलिपल्ट साँझको करीब साढे सात बजेको हुँदो हो। यसो घुम्न निस्कनु पर्यो भनेर सडक तिर निस्कियौं म सहित तीनजना साथी। बाटोको छेवैमा रहेको अर्को अलिक ठूलो सार्बजनिक चौरमा ठाँटबाँटका टेन्टहरुमा केही अपरिचित मान्छेहरु बस्थे। उनीहरू कहाँका थिए को थिए हामीलाई थाहा थिएन । सोध्ने हिम्मत पनि भएन। हाम्रो टोलमा घरहरूको किनबेच निकै हुन्थ्यो । शायद घर किनेर आएका नयाँ मान्छे होलान् भन्ठान्यौं।

हप्ता दश दिन पालमा बस्दा हामीलाई तीनको रवाफिलो जीवनशैली नजर गर्ने अवसर मिल्यो। घर बाहिर टेण्टमा त तीनको जीवनशैली यस्तो छ भने घरमा कस्तो होला भनेर हामी सोच्न वाध्य भएका थियौं।

त्यो दिन पनि त्यहाँको एउटा टेण्ट भित्र करीब पाँच-सात जना मान्छेहरु भेला भएर निकै गफगाफ गरिरहेका रै’छन्। टेण्ट भित्रबाट घरी घरी प्रष्ट घरी घरी अष्पस्ट आवाज सुनिन्थ्यो। घरी ठूलो र चर्को आवाजमा अनि घरी सानो र मसिनो आवाजमा सुनिन्थ्यो। डुब्ली, ट्रायल, जोकर, माल, सिक्वेन्स्- यस्ता शब्दहरु पनि बाक्लै सुनिन्थे। यो हिसाबले हेर्दा त्यहाँ भित्र मादकता सहितको ‘म्यारिज’को माहौल भएको लख काट्न सकिन्थ्यो। टेन्ट भित्रबाट अलिक ठूलै आवाज आयो । यो आवाजले चाहिं हाम्रा कान अलिक ठाडा भए। शायद बाटो हिँड्ने अरुले पनि यो आवाज सुनेहुन् तर तीनले वास्ता गरेनन् । के भएको रहेछ भन्ने उत्सुकता तीब्र भो । अनि कान टेण्टतिर नजर अर्कोतिर लगाएर उभियौं।
‘यत्रो भुइँचालोमा नकमाएको कहिले कमाउने?’ सही थाप्दै अर्को आवाज आयो –

‘हो हो मौका आउँछ पर्खिंदैन।’

‘अरूलाई हल्लाएको होला हामीलाई हल्लाएको होइन झकझकाएको हो। जाग बजिया हो जाग अब फेरि अर्को मौका आयो भन्या हो ।’
लरबरिएको अर्को आवाज आयो –

‘हुन सक्छ। त्यही भएर होला मलाई त भुइँचालो जाउन्जेल पिङ् मा हालेर कसैले मच्चाईदिए जस्तो मजा पो आयो।’
निकै मोटो अर्को स्वर सुनियो-

‘त्यसैले भुइँमान्छेहरूलाई यो भुइँचालो भुइँचालो हो तर हामी जस्ताको लागि फेरि कुस्त कमाउने पालो हो ।’

‘हो अब हामी फेरि जाग्नु पर्छ । सँगै जेल परेका साथी अरबपति भईसके। हामी पनि अब चाँडै अरबपति हुनुपर्छ।’

अर्को आवाज रिसाए जसरी अलिक कडा स्वरमा सुनियो-

‘उनीहरू पजेरो र प्राडो फेरिफेरि चढ्छन् आफू भने बर्षों देखि त्यही थोत्रे एउटा पजेरो। अनि चवन्न पचपन्न सालतिर कमाएको पैसाले बनाएको त्यही जाबो दुईटा बंगला।‘ उसले पीडा पोख्यो-

‘एउटा बंगलामा जेठीले ढिम्किन दिन्न अर्कोमा कान्छीले। बुढेसकालले पनि छोयो। त्यही भएर आफ्नो लागि एउटा सानोतिनो वंगला नबनाई भा’छैन ।’

अर्कोले नाके बोलीमा सुझायो –

‘अलिक बिस्तारी बोल्! सुन्लान् बाटो हिँड्नेले।’

निश्चिन्त पार्दै अघिको स्वर फेरि दोहोरियो-
‘आSSSS बटुवाले सुनेर के फरक पर्छ र ? एउटा कानले सुन्छन् अर्कोले उडाउँछन्। सुनेपनि हामीलाई कस्ले छुन सक्ने?’

हुन पनि हो हामी जस्ता भुइँमान्छेले तीनको कुरा सुनेर उडाउनु बाहेक के नै पो गर्न सकिन्थ्यो र ! निरीह हामी जो भुकम्पको अर्को भयावह परकम्प सहन अभिशप्त छौं। पुस्तौं पुस्ता हल्लाईरहने पराकम्प । नेपालीलाई उठ्नै नदिने पराकम्प सुनेर ।

उडाउन नै सही, उनीहरूको कुरा थप सुन्न मन लाग्यो। साथीहरूलाई चाहिं दिक्क लागेछ जाउँ भन्न थाले । मलाई भने अझै सुन्न मन लागिराखेको छ तीनको गफ । त्यसैले तिमीहरू जाओ म पछि आउँला भनेर पठाईदिएँ ।

उनीहरूको गफ जारी छ । सुन्नेमा अब म एक्लै परें।

सुरिलो आवाजमा एकजना बोल्दै रै’छ –

‘ … … त्यो गङ्गे हेर न पञ्चायत इतरको राजनीतिमा हामीसंग लाग्दा लाग्दै कङ्गाल भैसक्या थियो । चवालीस सालमा पञ्चायत छिरेर पैंतालीसको भुइँचालोमा राहतको खटन पटन यसो के पा’थ्यो हामी भन्दा अगाडी नै अरबपति भैसक्यो। अहिले हामीलाई मान्छे नै गन्दैन साले।’

‘त्यो अवसरवादी ! दशतिर चरेर अघाएर हामीसंग फूर्ति गर्छ साले । कम से कम हामी पञ्चायत त छिरेनौं नि!’

‘के गर्नु पार्टीले पनि त्यस्तै घुमीफिरी रुम्जाटार गर्नेहरुलाई पत्याउँदो रै’छ ।’

‘ हामी सनातन सदस्यको सम्मानै छैन ।’

मरन्च्याँसे आवाजमा विरक्तिलो स्वर सुनियो ।

उनीहरूको आवाज बिस्तारै बिस्तारै मलिन हुँदै जान थाल्यो।अनि निकै लर्बरिएको पनि । बुझ्नै कठीन भयो। शायद तीनलाई निकै लागिसकेको हुनुपर्छ। कुरा त अझै सुनौं सुनौं लाग्या थियो । तर यो भन्दा बढी कुरा सुन्न उनीहरू सँगै बसेर मात्रै संभव थियो । त्यसैले अब त्यहाँ निरर्थक रूपमा बस्न मन लागेन।

यसको तीन चार दिनपछि पत्रपत्रिकामा एउटा समाचार प्राथमिकताका साथ आयो। एउटा ’भूकम्पको मौका छोपी घर घरमा चोरी गर्ने गिरोह पक्राउ।’

करीव एक महिनापछि अर्को समाचार आयो – ‘भूकम्प पीडितलाई आएको त्रिपाल, जस्तापाता, चामल, कम्बल लगायतका राहत सामाग्रीमा व्यापक अनियमितता, भ्रष्टाचार र चलखेल।’

म भने यी दुई समाचार र त्यसका पात्रहरूमा मूलभूत भिन्नता आजसम्म खोजिरहेको छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment