Comments Add Comment

कांग्रेसको विकासे नाराः ३ लाखलाई रोजगारी, हजार किलोमिटर फास्ट ट्राक

१२ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय चुनावको घोषणा पत्रमा अबको १० वर्षमा नेपालः एक झलक भन्दै निकै महत्वकाक्षी योजना अघि सारेको छ ।

पार्टी कार्यालय सानेपामा एक कार्यक्रम गरी कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय चुनावमा लागि बनाएको ५१ पृष्ठको घोषणा पत्र सार्वजनिक गरे । घोषणा पत्रमा कांग्रेसलले परिकल्पना गरेको स्थानीय सरकारसँगै आगामी १० वर्षमा नेपाल कस्तो हुन्छ भन्ने समेत उल्लेख छ ।

कांग्रेसले अबको दश वर्षमा काठमाडौं-मधेस एक्सप्रेस वेका साथै ४ देखि ६ लेनका हजार किलोमिटर भन्दा बढी द्रतु मार्ग बनाउने दाबी गरेको छ । साथै ५०० किलोमिटर बढी रेल्वे लाइन र ५० हजार बढी किलो मिटर कालोपत्रे सडक र टनलको सञ्जाल निर्माण गर्ने उसको दाबी छ ।

दोहोरो अंकको बाषिर्क आर्थिक बृद्धिद्धर हासिल गर्ने र हरेक वर्ष कम्तिमा १०० अर्ब बराबरको विदेशी लगाानी भित्र्याएर एक दशकमा नेपाललाई मध्यम आय भएको देश बनाउने दाबी समेत घोषणा पत्रमा गरिएको छ ।

अबको १० वर्षभित्र १० हजार मेगावाट बढी उर्जा उत्पादन गर्ने कांग्रेसको योजना छ । चार वटा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने, प्रत्येक वर्ष ३२ लाख पर्यटक भित्र्याउने र ४० लाखलाई पर्यटन उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी दिनको घोषणा पत्रमा उल्लेख छ ।

हरेक वर्ष लाख बढी रोजगारी सृजना गर्ने र १५ देखि २४ वर्षका सबै युवालाई साक्षर र कुनै न कुनै विषयमा सीप र दक्षता हासिल गर्ने उसको दाबी छ । साथै अब बन्ने सबै भवन अनिवार्य रुपले भूकम्प प्रतिरोधी बनाउने र नेपालको ४५ प्रतिशत भूभाग बनजंगलले ढाक्ने बनाउने उसले बताएको छ ।

१० वर्षमा तराई मधेस र पहाडका १८ लाख हेक्टर बढी हेक्टर खेती योग्य जमिन बाह्रै महिना सिचाई हुने बनाउने, प्रमुख तरकारी र खाद्यान्नमा अत्मनिर्भर बनाउने कांग्रेसको दाबी छ ।

  • अबको १० वर्षमा नेपाल: एक झलक
    १. मध्यम-आय भएको, उद्यममैत्री, गतिशील, लोककल्याणकारी राज्य ।
    २. दोहोरो अङ्कको वाषिर्क आर्थिक बृद्धि हासिल ।
    ३. हरेक वर्ष कम्तिमा रु. १०० अर्ब बराबरको विदेशी लगानी भित्रिएको ।
    ४. स्वदेशी र विदेशी निजी लगानीलेे वर्षेनी तीन लाख भन्दा बढी रोजगारी सिर्जना ।
    ५. गरिबीको रेखामुनी रहेका जनताको हिस्सा ३ प्रतिशत भन्दा कम ।
    ६. अधिकांश नेपाली मध्यमवर्गीय स्तरका ।
    ७. समग्रमा ९५ प्रतिशत नेपालीे साक्षर ।
    ८. सबै युवाहरु (१५ देखि २४ वर्षका) साक्षर र कुनै न कुनै विषयमा सीप र दक्षता हासिल ।
    ९. नेपालमा कुपोषण र भोकमरी निर्मुल ।
    १०. औसत नेपालीकोे आयु ७७ वर्ष ।
    ११. शिशु मृत्यु दर ३३ (प्रति १००० जीवित जन्म) बाट घटेर ५ र मातृ मुत्युदर २५८ -प्रति एक लाख जीवित जन्म) बाट घटेर ५० ।
    १२. १०,००० मेगावाट भन्दा बढी ऊर्जाको उत्पादन ।
    १३. आफ्नो आन्तरिक खपत भन्दा बढी ऊर्जा निर्यात र नेपालको अन्तर्राष्ट्रिय छवि “शत प्रतिशत स्वच्छ उर्जामा आधारित वातावरणमैत्री अर्थतन्त्र” ।
    १४. काठमाडौं-मधेश एक्सप्रेसवे लगायत ४ देखि ६ लेनका १००० कि.मी भन्दा बढी द्रुत-मार्ग, ५०० कि.मी. भन्दा बढी रेल्वे लाईन, ५०,००० भन्दा बढी कि.मी. कालोपत्रे सडक र टनलको संजाल निर्माण ।
    १५. चारवटा अन्तर्राष्ट्रिय विमानस्थलहरुको संचालन ।
    १६. प्रत्येक बर्ष ३२ लाख भन्दा बढी पर्यटक नेपाल भित्रिने र चालीस लाख नेपालीहरुको पर्यटन उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी ।
    १७. तराई-मधेशका र पहाडका १८ लाख हेक्टर भन्दा बढी खेती योग्य जमीन बाह्रै महिना सिंचित ।
    १८. प्रमुख तरकारी र खाद्यान्नहरुमा नेपाल आत्मनिर्भर ।
    १९. मोबाइल फोनको पँहुच जनसंख्याको अनुपातमा १३५ प्रतिशत पुगेको र इन्टरनेट सबै गाउँ तथा नगरपालिकामा उपलव्ध ।
    २०. नेपालको ७५ प्रतिशत भन्दा बढी जनसंख्याको व्यबस्थित, सुविधासम्पन्न, आधुनिक नगरहरुमा बसोबास ।
    २१. सबै नयाँ भवनहरु अनिवार्य रुपले भूकम्प प्रतिरोधी ।
    २२. बाढी, पहिरो, आगलागी जस्ता प्राकृतिक विपद्का अकालमा मृत्यु हुनेको संख्या अहिलेको वाषिर्क औसत ४१५ जनाबाट घटेर २ दर्जन भन्दा कम ।
    २३. नेपालको ४५ प्रतिशत भू-भाग वनले ढाकेको हुने, जलवायु परिवर्तन र अल्प-कालीन जलवायु प्रदूषकहरुको नकारात्मक प्रभावलाई यथासम्भव न्यूनीकरण ।
    २४. सरकारी निकाय, निजी क्षेत्र र सामाजिक संस्थाहरु वातावरण संरक्षण, आर्थिक विकास तथा सामाजिक सेवामा तत्परताका साथ सहकार्य ।
    २५. सबै तहमा संसदीय लोकतन्त्रको जगमा समावेशी, उत्तरदायी, भ्रष्टाचार-रहित शासन व्यवस्था कायम ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment