Comments Add Comment

साना हिमाल सुनसान, विदेशी पर्वतारोहीको आकर्षण घट्यो

१३ बैशाख, काठमाडौं । यो वर्ष सगरमाथा आरोहीको संख्या उच्चरुपमा बढे पनि साना हिमालमा भने पर्वतारोहीको आकर्षण घटेको छ । गतवर्षको यही सिजनको तुलनामा यो वर्ष साना हिमालमा चढ्ने आरोहीको सख्ंया न्यून रहेको पर्यटन विभागले जनाएको छ ।

साना हिमाल भन्नाले ६५ सयदेखि ८ हजार मिटर अग्ला हिमाललाई बुझिन्छ । ८ हजार मिटरदेखि अग्ला हिमाललाई ठूला हिमाल मानिन्छ ।
नेपालका ठूला हिमालहरुमा सगरमाथा, मनास्लु, कञ्चनजंघा, ल्होत्से, मकालु, च्वोयु, धौलागिरी र अन्नपूर्ण गरी ८ वटा छन् । साना हिमाल २० वटा छन् ।

विभागका अनुसार अहिले साना हिमालमा पर्वतारोहीको खासै आकर्षण देखिँदैन ।

टुकुचे पिकमा गत वर्षको बसन्त ऋतुमा ४ टिमबाट ३९ जना आरोही गएका थिए । तर, यो वर्ष भने अहिलेसम्ममा एउटा टिमबाट ४ जनाले मात्रै अनुमति लिएका छन् ।

त्यस्तै आरोहीको आकर्षण रहने सारीबुङमा पनि यो वर्ष एउटा टिमबाट १२ जनाले मात्रै अनुमति लिएका छन् । गत वर्ष भने यो अवधिमा ६ टिमबाट ३६ जनाले अनुमति लिएका थिए ।

थापा पिकमा गत वर्ष ५ टिमबाट ४३ जनाले अनुमति लिएका थिए । तर, यो वर्ष कुनै पनि आरोहीले यो हिमाल चढ्ने इच्छा देखाएका छैनन् ।
आमादब्लम हिमालमा भने पर्यटकको आकर्षण यथावत छ । गत वर्षको बसन्त ऋतुमा ३ टोलीका २६ जनाले अनुमति लिएकोमा यो वर्षको सोही अवधिमा २ टोलीबाट २५ जनाले अनुमति लिएका छन् ।

साना हिमालमा आरोहीहरु अभ्यासका लागि आउने गर्छन् । तर पछिल्लो समयमा उनीहरु आफ्नै देशमा रहेका साना हिमाल आरोहण गर्न थालेको पर्यटन विभागका प्रवक्ता दुर्गादत्त ढकाल बताउँछन् ।

उनले भने ‘पछिल्लो समयमा सगरमाथा आरोहण गर्न चाहनेहरुले उनीहरुकै देशमा रहेका साना हिमालमा अभ्यास गर्ने गरेको पाएका छौं ।’

दाहालका अनुसार पहिले–पहिले अमेरिकन तथा अष्ट्रेलियनहरुलाई आफ्ना हिमालभन्दा नेपालका हिमाल फरक हुन् भन्ने लाग्थ्यो । अहिले उनीहरुले नेपालमा रहेका हिमालका बारेमा इन्टरनेटबाटै अध्ययन गर्न थाले अनि आफ्नै देशका जस्ता रहेछन् भन्ने निस्कर्ष निकालेका छन् ।

ढकालका अनुसार आरोहीहरु विशेषगरी शरद ऋतुमा साना हिमाल चढ्ने गर्छन् । बसन्त ऋतुमा ठूला हिमाल चढ्नेहरुको सख्या बढी हुन्छ भने शरदमा साना हिमाल चढ्नेको संख्या बढी हुने गर्छ । तर, केही आरोहीहरु बसन्तमै पनि साना हिमालको आरोहण गर्ने गर्दछन् । आरोहणका हिसाबले यो ठूला हिमाल आरोहण गर्नका लागि उपयुक्त समय हो ।

गत वर्षबाट नभई विगत ५/६ वर्ष अघिदेखि नै साना हिमालमा आरोहीको आकर्षण कम हुँदै गएको दाहालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment