Comments Add Comment

‘दोस्रो धुर्मुस’ भन्छन्-आधा काम सकियो !

'घरले खान दिँदैन, एकीकृत वस्तीमा जिविकोपार्जनको उपाय खाेज्दैछु'

१३ बैशाख, काठमाडौं । ३६ वर्षीय दिनेशकुमार तामाङ एउटा विपन्न परिवारका युवा हुन् । कुनैबेला दुई सय रुपैयाँको जोहो गर्न नसकेर कलेज पढ्न नपाएका यी युवाले १६ करोड रुपैयाँको जोहो गरेर भूकम्पले ढालेको एउटा बस्तीलाई पुनस्थापन गराएका छन् ।

भूकम्पपीडितका लागि नमूना बस्ती निर्माण गरेर धुर्मुस-सुन्तली निरन्तर मिडियामा छाइरहे । तर, यी युवाको पौरख मिडियाले ढीलो मात्र थाहा पायो । ‘मिडियामा जाने फुर्सद नै भएन,’ चुपचाप काम गर्नुको कारणबारे उनी भन्छन्, ‘नाम कमाउने उद्देश्य पनि छैन ।’

दिनेशले आफ्नो निजी जीवन र भूकम्पपछि गरेको संघर्षको कथा अनलाइनखबरलाई यसरी सुनाएः

२ सय रुपैयाँ नभएर कलेज पढ्न सकिनँ

म धादिङको उत्तरी बेल्टमा पर्ने दुर्गम गाविस लापाको वडा नम्बर १ कपुरगाउँमा जन्मेको हुँ । मेरो परिवार अति विपन्न थियो । जग्गा जमिन केही थिएन । बुवा-आमा ज्याला-मजदुरी गर्नुहुन्थ्यो । १० जनाको परिवार पाल्न उहाँहरुलाई कम्ति गाह्रो भएन ।
हामी तीन दाजुभाइ र पाँच दिदीबहिनी थियौं । दिदीबहिनीले त स्कुलको मुख देख्न पाउनुभएन, तर मलाई बुवाले जसोतसो स्कुल भर्ना गर्नुभयो । मेरो पढाई राम्रो थियो । १० कक्षासम्म फस्र्ट भएँ । एसएलसीमा सेकेन्ड डिभिजन आयो । तर, पनि आफ्नो स्कुलमा फस्र्ट नै भएँ ।

एसएलसीपछि कलेज पढ्ने ठूलो रहर थियो । बुवाले कता-कताबाट ७ सय रुपैयाँ जुटाउनुभयो र मलाई पढ्न काठमाडौं पठाउनुभयो । बुवाले दिएको सात सय बोकेर सरस्वती क्याम्पसमा पुगेँ । तर, भर्ना हुन र कापी किताब किन्न ९ सय लाग्ने रहेछ । दुई सय रुपैयाँ पुगेन । काठमाडौंमा चिनेजानेको कोही थिएन, कोसित सहयोग माग्ने ? म निराश बनेर घर फर्केँ ।

जागिर खुस्किएपछि मजदुरी र समाजसेवा

घर फर्केपछि स्थानीय एक स्कुलमा शिक्षकको काम पाएँ, एक वर्षका लागि । दुई हजार तलब थियो । यसले परिवारको गर्जो टथ्र्यो । त्यही बेला बिहे पनि गरेँ । तर, एक वर्षपछि जागिर खुस्कियो । त्यसपछि म पनि ज्याला मजदुरी गर्न थालेँ ।

तर, फेरि परिवार पाल्न धौधौ परेपछि परिवारसहित भारत गएँ । तीन वर्ष बसेर गाउँ फर्केँ । त्यसपछि सामाजिक कार्यमा रुची बढ्यो । गाउँका केही युवाहरुको साथ लिएर नमस्ते युवा क्लव खोलेँ र त्यसमार्फत शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम अघि बढाएँ । यही क्रममा धेरैवटा विदेशी संघ-संस्थाहरुसँग मेरो व्यक्तिगत सम्बन्ध भयो ।

एसएलसी पास भएको १७ वर्षपछि फेरि मलाई हेल्थ असिस्टेन्ट पढ्ने मौका जुर्‍यो । सोही संस्थाकी इन्टरनेसनल डाइरेक्टर बोनी क्यापिचिनोले एचए पढ्न छात्रवृत्तिको अफर गर्नुभयो । आफ्नो अधुरो रहेको पढ्ने इच्छा फेरि साकार भयो । त्यसपछि मेरो पढाइ र सामाजिक काम समानान्तर रुपमा अघि बढ्यो ।

सामाजिक काममा व्यस्तताका बाबजुद पहिलो र दोस्रो वर्ष मैले लगातार पास गरेँ । तेस्रो वर्षमा प्रोजेक्ट वर्कका लागि एक महिना फिल्डमा जानुपर्ने थियो । ०७२ साल चैतको १५ गते हामी २० जनाको समूह सिन्धुपाल्चोकको नवलपुरमा गयौं ।

भूकम्पको त्राशदी र उद्दार

सिन्धुपाल्चोकमा काम गरेको २७ दिन बितिसकेको थियो । वैशाख १२ र १३ गते नवलपुर स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीले तालिम दिने कार्यक्रम थियो । तालिमका लागि १२ गते २० जना साथी ३ ग्रुप बनाएर पि्रजेन्टेसनको तयारी गरिरहेका थियौं ।

दिउँसो ११ बजेर ५५ मिनेटमा एक जना महिला स्वयम्सेविका दिदीले मलाई आउन खबर पठाउनुभएछ । म होटलबाट निस्केँ । बाहिर निस्कनेवित्तिकै जमिन हल्लिन थाल्यो । भूकम्प आएको थाहा पाएर म साथीहरुलाई बोलाउन होटलमा फर्किन खोजेँ । तर, लड्खडाएर जानै सकिनँ । त्यसपछि त मेरो आँखै अगाडि होटलको तीन तल्ले विल्डिङ गल्र्यामगुर्लुम ढल्यो । विल्डिङभित्र रहेका १९ जना साथीभाई सबै पुरिए । कोही पनि निस्किन भ्याएनन् ।

भग्नावशेषभित्रबाट चिच्याहटको आवाज आउन थाल्यो । गाउँवासीहरु जम्मा भए । हामी तुरुन्त उद्दारमा लाग्यौं । दुई बहिनीहरुको घटनास्थलमै मृत्यु भएछ । १३ जनाको अवस्था नाजुक थियो । कसैको खुट्टा थिएन, कसैको हात थिएन, कसैको टाउको फुटेको थियो । ४ जनाचाहिँ छतमाथि रहेकाले सामान्य घाइते मात्रै भएछन् । ६-७ घन्टा लगाएर उद्दार गर्‍यौं ।

माउन्टेन एयरको हेलिकोप्टरका क्याप्टेन पासाङ शेर्पासँग मेरो चिनजान थियो । बेलुका उनलाई फोन गरेँ । गाउँको अवस्था बताएँ र घाइतेहरुलाई काठमाडौं लैजानका लागि सहयोग गर्न आग्रह गरेँ । उनी १३ गते हेलिकोप्टर लिएर आउन तयार भए ।
सो गाउँमा नवलपुर स्वास्थ्य चौकीको आरसीसी गरिएको एउटा भवन मात्रै सग्लो थियो । त्यो रात सबैले त्यहीँ आश्रय लियौं । तर, बारम्बार पराकम्प आइरहन्थ्यो । जमीन हल्लनासाथ सबैजना बाहिर कुद्थ्यौं, घाइतेलाई बोकेर । फेरि पानी पर्न थालेपछिभित्र आउँथ्यौं । रातभर यसरी नै बित्यो । मैले भाइबहिनीहरुलाई भोलि हेलिकोप्टर आउँछ र काठमाडौं लगेर उपचार गर्छु भनेर सान्त्वना दिँदै राखेको थिएँ ।

गाउँबाट १५/२० मिनेटको दुरीमा हेलिप्याड थियो । भोलिपल्ट सबै भाइबहिनीलाई हेलीप्याडमा ओसार्‍यौं । क्याप्टेनले लोकेसन थाहा पाउन धुवाँ उडाउनु भनेका थिए । हेलीप्याड नजिकै धुवाको मुस्लो उडायौं ।

बेलुकी ६ बजे मेलम्चीको आकाशमाथि हेलिकोप्टरको आवाज आयो । मैले लामो सास फेरेँ । भाइबहिनीसँग गरेको वाचा पुरा हुनेभयो भनेर सन्तोष मानेँ ।

पहिलो चरणमा सिकिस्त घाइते ६ जनालाई हेलिकोप्टरमा हाल्यौं । उनीहरुलाई काठमाडौं पुर्‍याएर हेलिकोप्टर फर्कियो । दोस्रो चरणमा ६ जनालाई हालेर लग्यौं । तर, त्यसपछि सरकारले हेलिकोप्टर आफुखुशी उद्दारमा जान नपाउने निर्णय गर्‍यो । त्यसैले अन्य घाइतेलाई पठाउन सकेनौं ।

काठमाडौं पठाएका घाइतेहरुलाई ग्राण्डी अस्पतालमा लगेर उपचार गरियो । भगवानको कृपाले सबैको ज्यान बच्यो । केहीबेरमा घाइतेहरुका आफन्त अस्पतालमा जम्मा हुनुभयो । उहाँहरु मलाई अंकमाल गरेर रुनुभयो । ‘तिमी त हाम्रो लागि भगवान जस्तै भयौं’ भनेर स्यावासी दिनुभयो । म भावुक बनेँ । मैले त आफ्नो कर्तव्य मात्रै पूरा गरेको थिएँ । तर, उहाँहरुको स्यावासीले मलाई ठूलो हौसला प्राप्त भयो । म पनि संयोगले भूकम्पबाट उम्किएको थिएँ । एक हिसाबले मेरो पनि यो बोनस जीवन नै हो । त्यसैले पनि मैले प्रण गरेँ कि अब आफूलाई समाजसेवामै समर्पित गर्नेछु ।

साथीभाइलाई उपचार गराउँदैमा चार दिन बित्यो । मेरा श्रीमती र दुई छोराछोरी काठमाडौमै थिए । उनीहरु सकुशल रहेको जानकारी फोनबाट पाएको थिएँ । तर भेट्न जान भ्याएको थिइनँ । यता धादिङको घरमा आमा मात्रै हुनुहुन्थ्यो । उहाँको खोजखबर केही थिएन । सम्पर्क गर्ने कुनै माध्यम नै भएन ।

पाँच दिनपछि धादिङबाट भाञ्जाको फोन आयो । उनले भने, ‘भूकम्पले गाउँ सोत्तर भयो । हाम्रा आफन्त चारजना मरे । माथिबाट सुख्खा पहिरो खसिरहेको छ । हामी गाउँभन्दा पर एउटा चौरमा आएर बसिरहेका छौं । अहिलेसम्म सबैजना भोकभोकै छन् । राहत कतैबाट आएको छैन । सकिन्छ भने नून खोजेर पठाइदिनू । नूनपानी खाएर भए पनि बाँच्नेछौं ।’

मेरा भिनाजु, ज्वाइँ, दाइ र भतिजी भूकम्पमा परेछन् । मलाई एकदमै छटपटी भयो । साथीभाइको ज्यान त जोगाएँ, तर आफन्तहरुको मृत्युको खबर सुन्नुपर्‍यो ।

राहत अभियान

अब मैले ती व्यक्ति र संस्थाहरुको सुची बनाउन थालेँ, जसले आपतमा मलाई सहयोग गर्न सक्छन् । सबैभन्दा पहिले एशिया फाउन्डेसनका नेपाल प्रतिनिधि डा. जर्ज बर्गिजकहाँ पुगेँ । उहाँले मलाई विगतमा स्वास्थ्य चौकी बनाउन व्यक्तिगत ३ लाख सहयोग गर्नुभएको थियो । उहाँलाई भेटेर आफ्नो गाउँको अवस्था अवगत गराएँ सहयोगका लागि हात जोडेँ ।

उहाँले मलाई २५ वटा स्लिपिङ ब्याग, १५ वटा टेन्ट र औषधिको प्याकेज उपलब्ध गराइदिनुभयो । अरु राहत सामाग्रीहरु पनि प्रशस्तै व्यवस्था गर्नुभयो । तर, ती सबै सामानहरु गाउँमा कसरी पुर्‍याउने भन्ने चुनौती खडा भयो । गाउँ जाने बाटोघाटो सबै भूकम्पले अवरुद्ध भएका थिए । त्यहाँ जानका लागि हेलिकोप्टरको विकल्प नै थिएन ।

म फेरि बर्गिजकहाँ पुगेर यो अवस्थाको जानकारी गराएँ । उहाँले तत्कालै एकजना सरकारी अधिकारीलाई फोन गरेर हेलिकोप्टर मगाउनुभयो । अन्ततः भूकम्प गएको एक हप्तापछि शनिबार सरकारी हेलिकोप्टरमा राहत सामग्रीहरु लिएर म आफ्नो गाउँ पुगेँ ।

गाउँ पुरै तहस-नहस थियो ।

मेरो सुन्दर गाउँ विभत्स भग्नावशेषमा परिणत भएको थियो । एउटा घर पनि ठाडो थिएन । गाउँवासीहरुको रुवावासी थियो । ९९ वर्षकी एक हजुरआमाले मलाई हात जोडेर भन्नुभयो, ‘हामीलाई यहाँबाट निकाल बाबु ।’

उहाँको विलौनाले मेरो आँखामा आँशु आयो । म एउटा विपन्न परिवारको व्यक्ति । ममाथि गाउँवासीहरुले यति ठूलो आशा गरेका थिए । त्यसैले मैले केही गर्छु भन्ने अठोट गरेँ ।

आफूले लगेका सामग्रीहरु गाउँका साथीभाइको जिम्मा लगाएँ । गम्भीर घाइतेहरुलाई हेलिकोप्टरमा राखेर काठमाडौं पठाएँ । अरु घाइतेहरुलाई धादिङ जिल्ला अस्पतालमा पुर्‍याएर उपचार गराएँ ।

अब मेरो गाउँका लागि राहत बटुल्ने र हेलिकोप्टरका लागि भाडाको जोहो गर्ने सिलसिला सुरु भयो । काठमाडौं आएर आफूले सुची बनाएका व्यक्ति र संस्थाहरुकहाँ धाउन थालेँ । गाउँको स्थिति अवगत गराएपछि जो पनि मागेको सहयोग गर्न तयार भए । कसैले नाइनास्ती गरेनन् ।

एक ठाउँबाट राहत सामग्री माग्थेँ, अर्को ठाउँबाट हेलिकोप्टरको भाडाको जोहो गर्थेँ । यसरी मैले एक महिनामा १८ पटक हेलिकोप्टर ओहोर दोहोर गराएँ । आफ्नो गाउँमा मात्र नभएर छिमेकी गाउँहरुमा समेत राहत सामग्री पुर्‍याएँ । यसरी गाउँमा राहत सामग्री टन्नै थुपि्रयो ।

पुनर्वासको सोच

तत्कालीनरुपमा राहतको प्रवन्ध त भयो । तर, गाउँवासीहरुलाई अब कहाँ राख्ने भन्ने चिन्ता सुरु भयो । गाउँको अवस्था बस्न लायक थिएन । भिरको मुनि छ गाउँ । यहाँ २०११ सालमा पहिरो गएर ३५ जना गाउँलेहरु मरेका थिए । भूकम्प र पराकम्पबाट गाउँमाथिको भिरमा एक-एक मिटरको धाँजा फाटेर छियाछिया भएको थियो । बषर्ातमा बगाउने डर पनि थियो । त्यसैले गाउँलाई अन्यत्र सार्नुको कुनै विकल्प थिएन ।

सुरुमा त राज्यले नै केही गर्ला भन्ने लाग्यो । हिजो राजाका पालामा कतै पहिरो गयो भने स्थानीयवासीलाई अन्यत्र पुनर्वास गराइन्थ्यो । अहिले त झन् जनताको सरकार भएको बेलामा पक्कै केही गर्ला भन्ने थियो । भूकम्प गएको केही दिनपछि प्रधानमन्त्री सुशील कोइराला र प्रचण्ड आएर गाउँलाई अन्यत्र सार्ने वचन पनि दिएका थिए । त्यसैले मैले केही समय प्रतिक्षा गरेँ । गाउँलाई स्थानान्तरण गर्न केही सम्भावित ठाउँहरु पनि हेर्न थालें । तर, सरकारका तर्फबाट केही पनि पहल भएन । म निराश भएँ । अन्ततः यो काम आफैंले गर्नुपर्छ भन्ने निस्कर्षमा पुगेँ ।

अन्तिम पटक गाउँमा हेलिकोप्टर आउँदा मैले एकजना भिडियोग्राफर पनि लिएर आएँ । उनले तीन दिन लगाएर गाउँको भिडियो खिचे । त्यसमा गाउँवासीहरुको चित्कारलाई समावेश गरे । र, पछि सबै छाँटकाँट गरेर १२ मिनेटको डकुमेन्ट्री तयार गरेँ ।

त्यो डकुमेन्ट्री प्रधानमन्त्री र विपक्षी दलका नेतालाई देखाउने मेरो मनसाय थियो । म धेरै धाएँ । तर, भगवानलाई भेट्न सजिलो होला, उहाँहरुलाई भेट्न सकिनँ । सबै कोशिश नाकाम भयो ।

त्यसपछि म भिडियो लिएर मलाई एचए पढाउन सहयोग चाइल्ड हेभनकी आमा क्यापिचिनोकहाँ पुगेँ । भिडियो हेरेर उहाँ निकै भावुक बन्नुभयो । पूरै हेर्न पनि सक्नुभएन ।

‘ल, मैले के गर्नुपर्छ भन,’ उहाँले सोध्नुभयो ।

मैले गाउँवासीहरुलाई सार्नका लागि बेंसीमा जग्गा किन्न सहयोग गर्नुपर्‍यो भनेँ । उहाँले स्वीकार गर्नुभयो । भोलिपल्टै मलाई १५ लाख रुपैयाँ उपलब्ध गराउनुभयो । त्यो १५ लाखले मैले गाउँबाट तीन दिनको दुरीमा रहेको सुगम ढोला गाविसमा २१ रोपनी जग्गा किनेँ ।

मेरो गाउँमा ७५ परिवार थिए । उनीहरुमध्ये एकदमै आपतमा रहेका २६ परिवार छानेर सो खाली जग्गामा ल्याएँ । उनीहरुलाई घारी फाँड्न लगाएँ र त्रिपालमुनि राखेँ ।

तर, एक महिना नपुग्दै गाउँबाट ठूलो गुनासो आउन थाल्यो ‘हामीलाई किन हेला गरेको’ भनेर धेरै जनाले गुनासो गर्नुभयो । उहाँहरुमध्ये थुप्रै परिवार सार्नैपर्ने अवस्थामा पनि थिए ।

त्यसपछि म फेरि आमाकहाँ पुगेँ । उहाँलाई भनेँ, ‘तपाईंको कृपाले २६ परिवारको त उद्दार भयो । तर, अझै केही परिवार सार्नैपर्ने अवस्थामा छन् ।’ उहाँले ‘ठीक छ, केही गर्छु’ भन्नुभयो । त्यसको एक हप्तामा मलाई १४ लाख रुपैयाँ उपलब्ध गराउनुभयो । त्यो १४ लाखले मैले त्यही गाविसमा दोस्रो प्लट जग्गा किनेँ । त्यहाँ २९ परिवारलाई ल्याएर राखेँ । जम्मा ५५ घर भए ।

त्यसपछि फेरि काठमाडौं गएर राहत सामग्री संकलन गर्न थालेँ । मारवाडी सेवा समाजमा पुगिनँ कि, पतञ्जलीमा पुगिनँ कि, गुम्बामा पुगिनँ कि, चर्चमा पुगिनँ कि, एनजीओ-आइएनजीओमा पुगिनँ कि । सबैतिर पुगेर ब्रा र पेन्टीदेखि स्यानिटरी प्याडसम्म र थाल, कचौरादेखि ग्यास सिलिण्डरसम्म ओसारेँ । ६ महिनासम्म यसैमा व्यस्त रहेँ ।

त्यतिबेला म राति नसुती-नसुती राहत व्यवस्थापनमा खटिएको हुन्थेँ । दिनमा २४ घण्टा होइन, ४८ घण्टा भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो ।

६ महिनापछि अस्थाई आवास क्षेत्रमा एउटा गुम्बा बनाइदिएँ । एउटा अस्थाई हेल्थपोष्ट बनाएर मासिक तलब दिने गरी एकजना एचए नियुक्त गरेँ । स-साना नानीहरुका लागि बालविकास केन्द्र खोलेर शिक्षक नियुक्ति गरेँ । बृद्धवृद्धाहरुका लागि प्रौढ कक्षा सञ्चालन गरेँ ।

यसरी भयो स्थायी आवास निर्माण

सबै कुराको त प्रवन्ध भयो । अस्थायी आवासमा कति दिन राख्ने ? अब जसरी पनि स्थायी आवास बनाउनतिर लाग्नुपर्छ भन्ने ध्याउन्नमा लागेँ । श्रम शक्तिको दुःख थिएन । तर, घर बनाउन आवश्यक स्रोत-साधन किन्नै पथ्र्यो । अब मेरो अभियान त्यसतर्फ केन्दि्रत भयो । डोनरहरु खोज्न थालेँ ।

सुरुमा साल्भेसन आर्मी इन्टरनेसनल नामक रिलिफमा काम गर्ने आइएनजीओ भेटेँ । यसले डेढ लाख पर्ने एक-एक कोठाको बाँसको घर बनाइदिने वचन दियो । मेरा लागि यही पनि ठूलो कुरा थियो । तर, उहाँहरुले आफ्नो वचन पूरा गर्नुभएन । केही समयपछि वास्तै गर्न छोड्नुभयो ।

त्यसपछि माउन्टेन फर हिमालयन फाउन्डेसन नामको अर्को डोनर भेटेँ । उसले गोरखाको बारपाकमा काम गरेको रहेछ । मैले गाउँको अवस्था अवगत गराएपछि सहयोग गर्न तयार भयो । सुरुमा एक गाडी राहत सामग्री पनि पठाइदियो र पक्की आवास बनाउनका लागि एक लाख १० हजार यूरो सहयोग गर्ने वचन दियो । म निकै खुशी भएँ । तर, केही समयपछि उसले पनि हात झिक्यो ।

त्यसपछि म बौद्धनाथमा रहेको सेतोगुम्बामा धर्मगुरु छोगी निमा रिम्पोछेको दर्शन गर्न पुगेँ । गाउँको बारेमा जानकारी गराएँ । धेरै संघ-सस्था भेटेको तर सबैले अन्तिम समयमा धोका दिएको गुनासो सुनाएँ । उहाँले गाउँको फोटोहरु छ ? भनेर सोध्नुभयो । मैले भूकम्पले ढलेको गाउँ र अहिलेको अस्थाई शिविरको फोटोहरु उहाँलाई देखाएँ । त्यसपछि रिम्पोछेले एकजना भिक्षु लामालाई बोलाउनुभो र जति सकिन्छ सहयोग गर्ने आदेश गर्नुभो । अब चाहिँ पक्का घर बन्ने भयो भनेर म ढुक्क भएँ ।

नभन्दै उहाँहरुले घर निर्माणका सम्पूर्ण सामग्रीहरु उपलब्ध गराइदिनुभयो । मैले थुप्रै इञ्जिनियरको सहयोग लिएर वस्तीको व्यवस्थित डिजाइन बनाएँ । नेपालीपना झल्किने र भूकम्पप्रतिरोधी हुने गरी वस्तीको डिजाइन तयार भयो ।

वस्ती निर्माणका लागि बाहिरबाट श्रमिक ल्याउनुपर्ने आवश्यकता परेन, किनकि गाउँका धेरै भूकम्पपीडितहरु सिकर्मी नै थिए । सुरुमा अरु युवाहरुलाई पनि तालिम दिइयो । यसरी दैनिक १८ घण्टा काम गरेर त्यहाँ आएको २२ महिना र जग खनेको १६ महिनामा सुन्दर बस्ती निर्माण भयो र गाउँवासीलाई लालपुर्जासहित हस्तान्तरण गरियो । बस्तीमा दुई तल्लाका ८ कोठे घरहरु छन् जसमा प्रत्येक परिवारलाई ४ कोठा दिइएको छ ।

भूकम्प आएपछिको राहत, अस्थाई शिविर, गुम्बा, हेल्थपोष्ट स्कुललगायत सम्पूर्ण कार्यमा ९ करोड रुपैयाँ खर्च भएको छ भने ७ करोड बराबरको श्रमदान भएको छ । यसरी बस्तीको कुल लागत १६ करोड पुगेको छ ।

यसमा सबैभन्दा ठूलो ५ करोड बराबरको सहयोग रिम्पोछेको रह्यो भने चाइल्ड ह्याभन इन्टरनेसनलले पौने एक करोड सहयोग गर्‍यो । पछि गएर माउन्टेन फर हिमालयन फाउन्डेसन र साल्भेसन आर्मी इन्टरनेसनल पनि बस्ती निर्माणमा जोडिए ।

जिविकोपार्जनको सवाल

बस्ती हस्तान्तरणलाई मैले आधा काम सकिएको रुपमा लिएको छु । अब मेरो चिन्ताको विषय बनेको छ, उनीहरुको जिविकोपार्जन । घर जति सुन्दर भए पनि त्यसले खान दिँदैन ।

सधैं संघ-संस्थाहरुसँग राहतका लागि हात फैलाएर पनि साध्य हुँदैन । वस्तीमा रहेका सबैजसो परिवार विपन्न वर्गका छन् । भूकम्पअगाडि पनि उनीहरुलाई खान-लाउन समस्या थियो । त्यसैले अब उनीहरुको जीविकोपार्जन कसरी गर्ने भन्नेमै मेरो सम्पूर्ण ध्यान केन्दि्रत छ । प्रत्येक परिवारलाई ५ वर्षभित्र १० लाख रुपैयाँको मालिक बनाउने उद्देश्य लिएर हिँडेको छु ।

तर, बस्ती निर्माणमा सहयोग गर्ने संस्थाहरुले अब हात उठाइसकेका छन्, र उनीहरुसँग फेरि सहयोग माग्न जानु व्यवहारिक पनि हुँदैन । अहिले म नयाँ दाताहरु खोजिरहेको छु ।

आयआर्जनका लागि १२/१३ वटा विकल्प सोचेको छु । तर, दाता नभेटेसम्म त्यो सम्भव छैन । त्यसका लागि अहिले प्रपोजल राइटिङ भइरहेको छ ।

सरकारले भूकम्पपीडितलाई घर बनाउन दिने भनेको तीन लाख पनि हाम्रो गाउँका बासिन्दाले नपाउने कुरा आएको छ । अरु दाताबाट सहयोग लिएर घर बनाएकाहरुले सरकारबाट सहयोग नपाउने प्रावधान रहेछ । मैले चाहिँ उनीहरुले ३ लाख पाउनुपर्छ भनेर तर्क गर्दै पुनर्निमाण प्राधिकरणमा फाइल पेश गरेको छु । यदि सो रकम सरकारले उपलब्ध गराएको खण्डमा ती परिवारलाई सानोतिनो उद्यम गरेर जिविका चलाउन सहयोग पुग्ने थियो ।

अर्को योजना

धादिङको उत्तरी बेल्ट हरेक वर्ष अखबारका पानाहरुमा समाचार बनिरहेको हुन्छ । फलानो गाविसको यो गाउँ पहिरोले पुरियो र यतिको मृत्यु भयो भनेर समाचार आउँछ । सरकारको काम भनेको बस्ती पहिरोले पुरिएपछि आकाशमा हेलिकोप्टर उडाउने हो ।

भूगर्भविदले समेत यी गाउँहरु बस्न लायक छैनन् भनेर सिफारिस गरिसकेका छन् ।

अब मैले भुगर्भविदले सिफारिस गरेको टोल छानेर १०० वटा घरलाई नमूना वस्तीमा सार्ने योजना बनाइरहेको छु । यसका बारेमा विभिन्न संघ-संस्थासँग गरेको छलफल सकारात्मक रुपमा अगाडि बढेको छ । अर्को बस्ती बनाउँदा पनि जग्गा किनेर नै बनाउनेछु ।

धुर्मस-सुन्तलीबारे

धुर्मुस सुन्तलीको बारेमा धेरै सुनेको छु । अस्ति धुर्मुसलाई उहाँको अफिसमा गएर भेटेँ र अनुभव आदान-प्रदान गरेँ । आफ्नो पेशालाई समेत थाती राखेर सामाजिक कार्यमा जुट्नुभएको छ । उहाँहरुको काम सह्रानीय छ । उहाँहरु सेलिबि्रटी भएका कारणले मिडियाहरुको पनि ठूलो साथ रह्यो र सहयोग जुटाउन सजिलो भयो ।

मेरो भने मिडियामा कुनै पहुँच थिएन । मिडियामा जाने फुर्सद पनि भएन । आफ्नै हिसाबले काम गरें । पछि मिडियाहरुले आफैं थाहा पाएर लेखे । तर, मैले नाम कमाउने यो काम गरेको होइन । सेवाभावले गरेको हुँ । आफ्नो गाउँप्रतिको कर्तव्य पूरा गरेको हुँ । यसवापत मैले कतैबाट केही पनि आशा गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चिरञ्जीवी पौडेल

झण्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय पौडेल अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment