Comments Add Comment

दिनेशले ल्याए ‘भरियाको भूगोल’

१३ बैशाख, काठमाडौं । कवि तथा गीतकार दिनेश अधिकारीले नयाँ काव्य ल्याउने भएका छन् ।

पब्लिकेशन्स नेपालयले प्रकाशन गरेको उनको काव्य ‘भरियाको भूगोल’ यही शुक्रबार पलेंटी शृंखलाको अवसरमा सार्वजनिक गरिने भएको छ । तीन वर्षको विश्रामपछि सुरु हुन लागेको ‘पलेँटी’ मा गीतकार अधिकारीकै उपस्थितिमा उनका गीतहरु प्रस्तुत हुन लाग्दा सोही कार्यक्रममा उनको कृति सार्वजनिक हुनेछ ।

आधुनिक नेपाली कवितामा एउटा युगको अगुवाइ गरिरहेका यी कविले यो काव्यमा भरियामार्फत समकालीन भोगाइको भूगोल विचरण गरेका छन् ।

०३७ सालमा पहिलो कवितासंग्रह ‘अन्तरका चित्तहरु’ प्रकाशन गरेका अधिकारीका त्यसयता दर्जनभन्दा बढी कविता संग्रह र त्यति नै संख्यामा गीति संग्रह निस्किसकेका छन् । ०५१ सालमा प्रकाशित ‘इन्द्रजात्रा’ पछि अधिकारीको यो दोस्रो काव्य हो । उनले ‘इन्द्रजात्रा’ का निम्ति साझा पुरस्कार र ‘अतिरिक्त अभिलेख’ कवितासंग्रहका निम्ति ०५६ सालको मदन पुरस्कार पाएका थिए ।

अधिकारी निजामती सेवामा रहेर नेपाल सरकारको सचिवबाट सेवा निवृत्त भएका थिए । तर, उनलाई साहित्य सिर्जनाले सार्वजनिक परिचय दियो । कविता र गीत लेखनमा लामो समयदेखि क्रियाशील उनका गीतहरु नारायणगोपाल, तारादेवीदेखि नयाँ पुस्तासम्मले गाएका छन् ।

समकालीन विसंगत जीवन र त्यसलाई चुनौती दिँदै मौलाउने सपनालाई सिर्जनाको विषय बनाउने उनी सामान्य मान्छेको कथालाई जीवन्त उभ्याउँछन् ।

अधिकारीको काव्यिक यात्राको पारख गर्दै कवि एवं प्राज्ञ श्रवण मुकारुङले उनलाई ‘रचना शिल्पका कारण भूपी शेरचनपछिका सम्भवतः एक मात्र लोकप्रिय कवि’ भनेर उल्लेख गरेका छन् ।

पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्केले कवि अधिकारीको गीत र कविता सुनेर हुर्किएको पछिल्लो पुस्ताको चाहनाको कदर गर्दै उनको नयाँ कृति ल्याएको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment