Comments Add Comment

मधेसी नेता भन्छन्- झापा र कैलालीमा पनि स्थानीय तह थपौं !

११ जिल्लामा स्थानीय तह थप्ने निर्णयबाट मोर्चा चकित

१३ बैशाख, काठमाडौं । सरकारले मधेसका ११ जिल्लामा मात्रै स्थानीय तहको संख्या बढाउने निर्णय गरेकोमा मधेसी मोर्चाका नेताहरुले आश्चार्य प्रकट गरेका छन् । मधेसका ११ जिल्लामा मात्रै स्थानीय तह थप्ने माग आफूहरुले नराखेको मधेसी नेताहरुले स्पष्ट पारेका छन् ।

सरकारले दुई नम्बर प्रदेशका ८ जिल्ला र ५ नम्बर प्रदेशका तीन जिल्ला (कपिलवस्तु, नवलपरासी र रुपन्देही) मा स्थानीय तहको संख्या थप्ने निर्णय गरेको भन्दै प्रतिपक्षी दल एमालेले संसद अवरुद्ध गरिरहेको छ ।

एमालेले यसमा चर्को विरोध जनाइरहेका बेला मधेसी मोर्चाका नेताहरुले समेत सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन् ।

‘हामीले मधेसका ८ वा ११ जिल्लामा मात्रै स्थानीय तहको संख्या बढाइयोस् भन्ने माग राखेकै छैनौं’ राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले भने- ‘हाम्रो भनाइ जनसंख्याका आधारमा मिलाउने हो भने झापा-मोरङ, कैलाली-कञ्चनपुर र काठमाडौंमा समेत स्थानीय तह थपौं हुन्छ भन्ने हो ।’

राजपा नेता यादवले आफूहरु झापाका जनताको समेत अधिकारका पक्षमा रहेको बताए । उनले भने- ‘हामीले झापामा पनि स्थानीय तहको संख्या बढाउनुपर्छ भनेका छौं, यसमा केपी ओली पनि आफ्नो जिल्लाका जनताका अधिकारको पक्षमा बोलुन् ।’

सबै जिल्लाका जनतालाई एउटै मापदण्डअनुसार अधिकार दिइनुपर्ने यादवले बताए । जनसंख्याका आधारमा स्थानीय तह निर्धारण गर्दा काठमाडौं लगायत पहाडका जिल्लामा पनि संख्या थप्नुपर्ने उनको भनाइ छ ।

त्यसैगरी मधेसी मोर्चाका अर्का नेता राजेन्द्र महतोले पनि ११ जिल्लामा मात्रै स्थानीय तह थप्ने माग आफूहरुको नरहेको अनलाइनखबरलाई बताए ।

महतोले भने- ‘जनसंख्याका आधारमा स्थानीय तह बनाउँदा झापा, मोरङ, सुनसरी, बाँके, बर्दिया र कैलाली-कञ्चनपुरले पनि त्यो अधिकार पाउनुपर्छ । सरकारले कसरी ११ जिल्लाको मात्रै संख्या थप्ने निर्णय गर्‍यो, हामीलाई आश्चार्य लागेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment