Comments Add Comment

नयाँ शक्तिको मसाल : उपेन्द्रको विजय, बाबुरामको विलय ?

अस्तिसम्म आफूसहितका ६८ दललाई अघि-पछि लगाउँदै दलीय चुनाव चिन्ह नदिए आगामी स्थानीय चुनाव हुनै नदिने हुँकार दिँदै आएका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई हिजोआज त्यो मागबाट ‘यु-टर्न’ भएर मसाल चुनाव चिन्हको राजनीतिक मार्केटिङ्ग गर्न थालिसकेका छन् ।

राजनीतिक बजार तताउन सामाजिक सञ्जालको भरपुर उपयोग गर्ने डा. भट्टराईको शैली अहिले सामाजिक सञ्जालमा पनि हिट छ । नयाँ शक्ति पार्टीले आफ्नो रोजाइको दलीय चुनाव चिन्ह निर्वाचन ऐनको तगाराहरुका कारण नपाउने निश्चित प्रायः भएपछि उनले रोजेको विकल्प र बाटो अस्वभाविक होइन, त्यो उनको दलीय रोजाइ, रहर वा वाध्यता जे भए पनि डा. भट्टराईले समेत स्थानीय चुनावमा भाग लिने प्रसंग सुखद नै हो ।

यसका लागि आगामी स्थानीय चुनाव उनको नयाँ दल नयाँ शक्ति र भाडामा लिएको झैं लाग्ने चुनाव चिन्ह बलिरहेको मसाल उनका लागि फलिफाप होस् भन्ने कामना नै गरौं । किनकि देशका एकजना सम्माननीय पूर्वप्रधानमन्त्री भैसकेका विद्धान राजनीतिज्ञले परिस्थितिको वाध्यतालाई अंगीकार गरेर २० वर्षपछि हुन लागेको संघीय गणतन्त्र नेपालको पहिलो स्थानीय तह चुनावमा भाग लिनुु आफैमा व्यवस्थाको जग बलियो पार्ने र जनताको सार्वभौमअधिकारको सम्मान गर्ने एक उन्नत विधि नै हो ।

जसरी बलिरहेको मसालले विद्रोह र परिवर्तनको प्रतिनिधितव गर्छ, त्यसैगरी नयाँ शक्तिका संयोजक डा. भट्टराईले स्थानीय चुनावमा प्रयोग गरिरहेको मसाल चुनाव चिन्हले भने डा.भट्टराईको लालक्रान्तिपूर्ण विगतको संघर्षगाथा, वर्तमानको बदलाव र भविश्यको स्पष्ट मार्गचित्र भने प्रस्तुुत गर्दैन । यस अर्थमा आँखा नपाएर मसाल बोक्ने डा. सा’बको नियति एक राजनीतिक छलाङ होइन, राजनीतिक अवसानको पूर्वसूचक हो भन्नुु अतिशयोक्ति हुने छैन । यो फगत आरोप मात्रै होइन, यसका आधार र कारणहरु पनि पर्याप्त छन ।

भनिन्छ, मर्नु भन्दा बहुलाउनुु नै निको । कुनै पनि सुरवीरले मर्नु अघि नै खुट्टा तान्नुु हुँदैन नै । राजनीतिक रुपमा नयाँ शक्तिका लागि दलीय चुनाव चिन्हरहित भएर चुनाव बहिष्कार गर्नुभन्दा सापटीमा नै लिएर भए पनि मसालको चुुनाव चिन्हमा चुनावी दाउ खेल्नुु उन्नत विकल्प थियो । यस अर्थमा यो सही र जायज मार्ग नै हो नयाँ शक्तिको । भलै उसले दलीय चुनाव चिन्हका लागि आफूसहित लडिरहेका मोहन वैद्यदेखि रिजवान अन्सारीहरुसम्मलाई भने ताक परे तिवारी नत्र गोतामे शैली र चरित्र देखाई नै दिए ।

नामै मात्रैका ६८ दलको दलीय चुनाव चिन्हको संघर्ष अब असरल्ल भैसक्यो । तर, विश्व सर्वहारा वर्गको मुुक्तिको प्रतीक मानिएको हँसिया हथौंडा अंकित विश्व साम्यवादी झण्डा फर्फराउदै ठीक २० वर्ष अघि बन्दुकको नालबाट देशको राजनीति फेर्न जंगल पसेका एकजना साम्यवादी नेता आज उही पुरानै व्यवस्थामा यसरी वाध्यताको रैती बनेर आफै बदलिनुुपर्ने परिस्थिति भने नेपाली जनयुद्धकालीन दशकमा ज्वाज्वल्यमान रहेका क्रान्तिकारी डा. बाबुुरामको राजनीतिक स्खलन नै हो ।

किनभने देश बदल्न निस्केका उनी आफैं बदलिए अनि आफैं बदलिँदा बदलिँदा आफ्नो शक्ति र चुनाव चिन्हमा चुनावी महासमरको सामना गर्ने ल्याकत देखाउन नसकेर अर्कोको चुनाव चिन्ह लिनुुपर्ने तहसम्म झरे ।

उनका समर्थकहरुले जति नै ठूला गुुड्डी हाँके पनि डा. बाबुरामले जनयुुद्धकालका भगौडा पूर्वसहयात्री उपेन्द्र यादवको संघीय समाजवादी पार्टीसँग पार्टीगत सहकार्यको थालनी र एकताको प्रयाश गरिरहँदा चुनाव चिन्ह पैंचो लिनुुपर्ने परिस्थिति उनको राजनीतिक विजय र सफलताको द्योतक होइन, बरु यो जनयुद्धकालका सुुरुवाती वर्षका यादवका नेता डा. भट्टराईलाई अहिले आफ्नो पिछलग्गुु बनाउन सक्ने राजनीतिक विजय हो उपेन्द्र यादवको ।

लेखकः सूर्य खड्का

भट्टराईका लागि यो रणनीतिक रोडम्याप मात्रै हो भनिएला, तर विजय र पौरख होइन, बरु हो विलय । जब कि यादवका लागि त यो सानो दल र मध्यमस्तरीय नेताको राष्ट्रिय राजनीतिक छलाङ नै हो ।

उसो त एकताको पूर्वतयारी स्वरुप नै केही महिना अघिदेखि नै कार्यगत एकताका ब्यानरमुनि रहेका नयाँ शक्ति र संघीय समाजवादी वीचको यो स्तरको सहकार्य अपेक्षित नै थियो । अहिले नयाँ शक्तिका संयोजक डा. भट्टराईले चुनावी प्रयोजनकै लागि भए पनि मसालको राजनीतिक मार्केटिङ गर्दै जाँदा उनी विगतको ओझ र चमकदार छविबाट छायाँ पर्दै गएकै छन् भने यादव निकै तेजवान र चमकदार देखिँदै गएका छन् ।

क्षेत्रीय मधेसी दल संघीय समाजवादी जसै पूर्वएमालेका अशोक राई र राजेन्द्र श्रेष्ठहरुलाई भित्र्याएर जनजाति र आदिवासी लगायतको हुन सक्यो, अहिले त्यसैगरी पूर्व माओवादी डा. भट्टराईहरु समेतलाई सँगै हिँडाउन सकेर अब उ मधेसीवादीको पगरी उतारेर देशकै राष्ट्रिय दलको दाबेदार बन्न अग्रसर छ । यसमा नयाँ शक्तिलाई मन बुुझाउने मेलो भएको छ भने संघीय समाजवादीलाई हौसला र उत्साह थपिएकै छ ।

डा. बाबुरामले ०५२ देखि ०६२ को आलोकमा लालध्वजको लालक्रान्तिको जुन गाथा बुने, त्यो उनी आफैंले पखाले ०६३ पछि निरन्तर, निरन्तर । त्यो उनको स्वेच्छिक रुपान्तरण थियो र व्यक्तिगत अधिकार पनि । तर, जनयुद्धको आलोकमा हेर्दा त्यो उनको आफ्नै विगतप्रतिको गद्दारी थियो । शहीद, वेपत्ता र घाइतेजनहरुप्रतिको धोकाघडी र भगौडा प्रवृत्तिको मानक उदाहरण थियो । ०६३ पछिका हरेक राजनीतिक मुुभमा शान्तिवादी माओवादीका अगुवा बनेका डा. बाबुरामका कदमहरु आफू केन्दि्रत ज्यादा र पार्टी केन्दि्रत कम हुँदै जाँदा जाँदा अन्ततः उनी गैरमाओवादी नै बने दुुई सालअघि ।

एउटा उग्र साम्यवादी नायकको उम्दा प्रजातन्त्रवादी मसिहा ठहरिने रातारातको कोसिस कुनै पनि मानेमा सर्वसम्मत कदम हुन सक्दैन्थ्यो र भएन पनि । आलोचना र समर्थन उनले बरोबरजसो नै पाए ।

तर, जसै जननायक वीपी कोइराला र जननेता मदन भण्डारीका विचारहरुको कपीपेष्टमा उनले साम्यवादी विचारलाई प्रजातन्त्रवादी छायाँछवि बनाउन खोजे, त्यसै दिनदेखि उनका समर्थकहरु शहरमा हराउँदै जान थाले । उनी न रहे क्रान्तिकारी, न बन्न सके वैकल्पिक प्रजातन्त्रवादी । उनका हर राजनीतिक कदमहरुले उनलाई पलायनवादतिर धकेलिरहयो र धकेलिरहेकै पनि छ ।

माक्र्सवादका विद्यार्थी डा. भट्टराईले पेरिसडाँडाको माओवादी दरबारलाई भत्केको रातो स्टीकरवाला काम नलाग्ने घर भनी आफैंले थोपरेको आरोप पनि व्यवहारमा प्रमाणित गर्न सकेनन् । बरु माओवादी सुुपि्रमो प्रचण्डले नै सत्तानायक भएर बाबुरामलाई दलीय चुनाव चिन्ह पनि नपाउने हैसियतामा ठिंग्याइदिए । उनले कांग्रेस, एमालेजस्ता ठूला दललाई पाखा लाउने गरी धक्का नै दिन सकेनन् । बरु आफैं धक्का खाँदै खाँदै उपेन्द्र यादवसम्मको हात र साथ खोज्न विवश भए ।

माक्र्सवाद वा माओवादको मेनुुफेस्टो डेट एक्सपायर्ड थिएन, त्यसको सिर्जनात्मक नेपाली प्रयोगको विधि र थिति मात्रै नेतृत्वको गल्तीका कारण अस्वीकृत भएको थियो भन्ने तथ्य केलाउनतिर लागेका भए मात्रै पनि डा. बाबुुराम स्तरका पठित नेताको यो स्तरको राजनीतिक हरिबिजोक नहुन सक्थ्यो होला । उनले माओवादी नेतृत्वको युद्धकालीन र शान्तिकालीन राजनीतिक भुलको धुलोमैलो ऐनामा देखे, न कि आफ्नो चिन्तन, व्यवहार र अनुुहारमा । फलतः ओराली लागेको हरिणको चालमा पुुगे डा. भट्टराई र नयाँ शक्ति ।

राजनीति जोगी हुुन गरिँदैन भनेर एकातिर राजतन्त्रको झोली र अर्कातिर गणतान्त्रिक सत्ताको मालिक भएर कमल थापाले दुनियाँलाई प्रजातन्त्रको सबक सिकाइरहँदा डा. बाबुरामको नयाँ शक्तिलाई विवकेशील दल वा साझा पार्टीसम्मको एकता र सहकार्य मञ्जुर हुन नसक्नुुले पनि उनले साम्यवादी रुझानमा दिएको पारपाचुके वा उम्दा प्रजातन्त्रवादी हुन गरेको भगिरथ प्रयत्न पर्याप्त र सर्वस्वीकृत थिएन भन्ने नैै सम्झाइरहेको छ ।

छिमेकी भारतमा उदाएको आम आदमी पार्टीको नेपाली संस्करणजस्तो झल्को दिँदै बडा तामझामका साथ उदाएको नयाँ शक्तिको यो स्तरको विलयपथ नेपाली राजनीतिमा नयाँ हुन खोज्ने कुुनै पनि राजनीतिक शक्तिका लागि एक बेजोड शिक्षा पनि हो । कम्युनिष्टहरु जति नै दूधले नुहाए पनि प्रजातन्त्रवादी मसिहाका रुपमा स्वीकृत हुन सक्दैनन् भन्ने मात्रै होइन, आत्मकेन्दि्रत लहड अनुुरुपमा राजनीतिक कदमहरु जनस्तरमा विकल्प शक्तिका रुपमा स्थापित हुन मुस्किल छ भन्ने सन्देश पनि उपेन्द्रको विजय र डा. भट्टराईको विलय यात्राले दिएको सबक नै हो ।

नयाँ दलका रुपमा उदाउँदै गरेको साझा पार्टी होस कि नयाँ केही देखिन खोजेको विवेकशील तिनका लागि पनि नयाँ शक्तिको यो ओराली यात्रा निःशुुल्क पाठ हो ।

नेपालमा कम्तिमा केही वर्ष ठूला भनिएका दलहरुलाई टक्कर र ठक्कर दिने गरी नयाँ राजनीतिक शक्ति स्थापित हुन मुस्किल नहुुनुु पर्दथ्यो, किनभने नेपालले ठूला दलको दलीय सहमतिको आवरणमा गैरप्रजातान्त्रिक हर्कतको पराकाण्ठ प्रदर्शन गरिरहेकैै छन् । तर खोई ठूलालाई माथ गर्ने छाती र छविको नयाँ शक्ति साँच्चै जन्मेला र यही मौजुदा परिस्थितिमा ? किनभने यहाँ स्वतन्त्र जनता भन्दा पार्टीका कार्यकर्ता नै ज्यादा भैरहँदा डा. भट्टराई पनि विकल्प हुन नसक्नुुले उनको विलयपथ कांग्रेेस, एमाले र माओवादीहरुका लागि अरु सहज खर्क बनेकै छ नि छैन त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment