Comments Add Comment

मधेसमा भाषाको सवाल र ‘हिन्दी’को विवाद

राष्ट्रभाषाबारे के भन्छ नेपालको संविधान ?

सरकारी तथ्यांक अनुसार प्रदेश नम्बर २ मा नेपाली मातृभाषीहरुको जनसंख्या केवल ७.५३ प्रतिशत मात्रै छ । कुल जनसंख्याको ९२.४७ प्रतिशत जनताको मातृभाषा नेपाली होइन ।

संविधानमा लेखिएअनुसार ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ’ भन्ने वाक्यले उनीहरुलाई आघात गरेको छ ।

विगतमा तराई मधेसमा मैथिली भाषा पनि नेपाली सरह सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा थियो । तर, सर्वोच्च अदालतको ०५६ जेठ १८ गतेको फैसलामार्फत् त्यसमा रोक लगाइयो  । यही कारण प्रत्येक जेठ १८ गतेको दिनलाई ‘कालो दिन’ मनाउने गरिएको स्थिति छ ।

आम पाठकलाई लाग्न सक्छ, गैरनेपाली मातृभाषीहरु प्रदेश नम्बर २ मा ९२.४७ प्रतिशत भए पनि उनीहरुमध्ये दुईतिहाई भन्दा बढीको दोस्रो भाषा त पक्कै नेपाली भाषा होला । तर, नेपाल सरकारको तथ्यांक विभागले प्रकाशन गरेको ‘नेशनल पपुलेशन एण्ड हाउसिङ सेन्सस् २०११ (काष्ट/इथ्नीसिटी एण्ड ल्याङवेज)’ मा प्रकाशित अभिलेखले त्यस्तो दृष्टान्त देखाउँदैन ।

उक्त पुस्तकमा उल्लेख भएअनुसार प्रदेश नम्बर दुईको कुल जनसंख्या मध्ये केवल ३०.१३ प्रतिशत जनसंख्याले मात्रै नेपाली भाषालाई आफ्नो दोस्रो भाषा मान्छन् ।

दोस्रो भाषा नेपालीलाई मान्नेहरुको बाहुल्यता सप्तरी, सिराहा, धनुषा, बारा र पर्सा जिल्लामा छ । तर, महोत्तरी, सर्लाही र रौतहट जिल्लामा भने हिन्दी भाषालाई दोस्रो भाषा मान्नेहरुको जनसंख्या पहिलो स्थानमा रहेको सो सरकारी तथ्यांकले देखाएको छ ।

हिन्दी भाषासम्बन्धी यो सरकारी तथ्यांक सही छ कि गलत ? छुट्याउने जिम्मा विश्लेषकहरुको हो । तर, यो कुरा स्पष्ट छ कि प्रदेश नम्बर २ मा मुख्यगरी नेपाली भन्दा पनि भारोपेली खलक अन्तर्गतको मैथिली, भोजपुरी र बज्जिका भाषा बोलिन्छ ।

तथ्यांक विभागले प्रकाशन गरेका तथ्यांकहरु र त्रिभुवन विश्वविद्यालय अन्तर्गत केन्द्रीय विभाग सोसियोलोजी/एन्थ्रोपोलोजी मार्फत प्रकाशित ‘सोसल इन्क्लजन एटलस अफ नेपाल’ (खण्ड १ र २) शीर्षक पुस्तकहरु विश्लेषणका आधारमा प्रदेश नम्बर २ का ८ वटा जिल्लामा बोलिने भाषाहरुको चित्रण गर्दै यो लेख प्रस्तुत गरिएको छ ।

सप्तरी: मिथिला क्षेत्रमा बोलिने भाषा नै मिथिला भाषा भनेर नामकरण भएको हो । उहिले उक्त भाषालाई हिन्दी अथवा बंगली भाषाको एक भाषिका मानिन्थ्यो । तथ्यांकमा उल्लेख भए अनुसार सप्तरी जिल्लामा तीन चौथाइ भन्दा बढी जनताको मातृभाषा मैथिली हो । उक्त जिल्लाको कुल जनसंख्यामध्ये तराई दलित र मधेसी समुदायको जनसंख्या ६५.९४ प्रतिशत छ ।

त्यो तथ्यांकमा तराई जनजाति, मुस्लिम र अन्यको संख्या समावेस छैन । तर जनसंख्या सम्बन्धी तथ्यांकमा उल्लेख भए अनुसार सप्तरीमा मैथिली भाषालाई मातृभाषा मान्नेको संख्या ५ लाख ५ हजार ८ सय सन्तानब्बे छ । त्यो आंँकडा अनुसार सप्तरीको ७९.१४ प्रतिशत जनसंख्याको मातृभाषा मैथिली हो ।

उसो त सप्तरीमा पहाडे जनजाति, पहाडे दलित, पहाडे क्षेत्री बाहुन र मुश्लिमको जनसंख्या मात्र १५.४२ प्रतिशत छ ।

उता जनसंख्याकै तथ्यांकमा मुस्लिमहरु सप्तरीमा ५७ हजार १ सय ४५ संख्यामा छन् भन्ने छ । जब कि मुस्लिमले बोल्ने उर्दू भाषीको संख्या सप्तरीमा २४ हजार ६ सय १९ जना रहेको जनाइएको छ । यसले मुस्लिम सबैले उर्दू भाषा बोल्दैनन् बरु केहीले मैथिली नै बोल्छन् भन्ने पुष्टि हुन्छ ।

सप्तरी जिल्लामा गैरमैथिली भाषीहरु जम्मा २०.८६ प्रतिशत छन् । मैथिलीपछि थारु, नेपाली र उर्दू भाषी क्रमशः १०.४०, ४.११ र ३.८६ प्रतिशत छन् ।

भोजपुरी र बज्जिका भाषा बोल्ने क्रमशः ०.०९ र ०.०१ प्रतिशत छन् । हिन्दी भाषीको संख्या ५ सय ६५ जनामात्रै छ । नेपाली भाषालाई आफ्ना दोस्रो भाषा मान्ने ४०.४७ प्रतिशत जनसंख्या छ । हिन्दी र मैथलीलाई दोस्रो भाषा मान्ने क्रमशः ५.९५ र ३.०१ प्रतिशत जनसंख्या छ ।

उता भारतमा करिब ३ करोड संख्यामा मैथिली भाषी छन् । उत्तर बिहारको मधुवनी, दरभंगा, समस्तीपुर, मुजˆर्फपुर, सीतामाडी लगायत १ दर्जन बढी जिल्लामा मैथिली भाषा बोलिन्छ ।

सिराहाः सिराहामा मैथिली भाषा बोल्ने सबैभन्दा बढी ८५.८२ प्रतिशत जनसंख्या छ । नेपाली र उर्दू भाषा बोल्ने मात्र ४.३० र ३.६० प्रतिशत जनसंख्या छ । भोजपुरी र बज्जिका भाषा बोल्नेको संख्या क्रमशः सिराहामा चौधौं र एक्काइसौं स्थानमा छन् । तिनीहरुको संख्यामा ०.०५ र ०.०१ प्रतिशत मात्रै छ ।

सिराहामा नेपाली भाषालाई आफ्नो दोस्रो भाषा मान्ने ४२.८६ प्रतिशत जनसंख्या छ । त्यसैगरी हिन्दीलाई आफ्ना दोस्रो भाषा मान्ने ४.९५ प्रतिशत जनसंख्या । मैथिलीलाई दोस्रो भाषा मान्ने ३.२१ प्रतिशत जनसंख्या छ ।

धनुषाः धनुषामा ८५.७८ प्रतिशत जनसंख्याले मैथिली भाषा बोल्छन् । नेपाली भाषा बोल्ने ४.४७ प्रतिशत जनसंख्या छ । तेस्रो स्थानमा मगदी भाषा बोल्ने ३.०६ प्रतिशत जनसंख्या छ । भोजपुरी र बज्जिका बोल्ने क्रमशः ०.०५ र ०.०१ प्रतिशत जनसंख्या छ । त्यहाँ १ हजार ४ जनाले हिन्दी मातृभाषाका रुपमा बोल्छन् ।

यो जिल्लामा ३६.२२ प्रतिशत जनसंख्याले नेपाली भाषालाई दोस्रो भाषा मान्दछ । हिन्दी र मैथलीलाई दोस्रो भाषा मान्ने क्रमशः ९.५१ र २.८८ प्रतिशत जनसंख्या छ ।

महोत्तरीः यो जिल्लामा ८०.५८ प्रतिशत जनसंख्याले मैथिली भाषा बोल्छन । उर्दू र नेपाली भाषा बोल्नेको संख्या क्रमशः ७.२७ र ५.५७ प्रतिशत छ । भोजपुरी ०.१५ प्रतिशत र बज्जिका ०.०२ प्रतिशत जनसंख्याले बोल्छन् । १ हजार ५ सय ३६ जना हिन्दीभाषी छन् । महोत्तरीमा ३५.१५ प्रतिशत जनसंख्याले हिन्दीलाई आफ्ना दोस्रो भाषा मान्दछन् । २३.०४ प्रतिशतले नेपाली भाषालाई दोस्रो भाषा मान्छन् ।

सर्लाही: सर्लाहीमा बज्जिका भाषा बोल्ने ४९.०२ प्रतिशत जनसंख्या छ । भारतको बिहारस्थित बैशालीमा बज्जिका भाषाको उदभव भएको मानिन्छ । उहिले  लिच्छवी कालमा वैशालीमा बज्जिका भाषा बोलिन्थ्यो । हिजोआज वैशाली बिहार राज्यको एक जिल्ला हो । बिहारमा १ कडोड १५ लाख बज्जिका भाषी छन् ।

यता सर्लाहीमा बज्जिकापछि मैथिली र नेपाली भाषा बोल्ने क्रमशः  २१.२५ र ११.८१ प्रतिशत जनसंख्या छ । भोजपुरी ०.९० प्रतिशत जनसंख्याले बोल्छन् । हिन्दी मातृभाषा मान्ने २ हजार ३४ संख्यामा छन् । दोस्रो भाषामा हिन्दी बोल्ने सबैभन्दा बढी यही जिल्लामा ३६.२६ प्रतिशत जनसंख्या छ । यहाँ नेपालीलाई दोस्रो भाषा मान्ने २०.८३ प्रतिशत जनसंख्या छ । त्यसपछि बज्जिका र मैथिली दोस्रो भाषा मान्नेे जनसंख्या छ ।

रौतहटः यो जिल्लामा बज्जिका भाषा बोल्ने ६०.२७ प्रतिशत जनसंख्या छ । उर्दू, नेपाली, भोजपुरी र मैथिली बोल्ने क्रमशः  १९.२५, ६.१३, ४.३० र ३.०० प्रतिशत जनसंख्या छ । हिन्दी भाषी ८ सय ४१ को संख्यामा मात्रै छन् । हिन्दी र नेपालीलाई दोस्रो भाषा मान्ने क्रमशः ३०.३७ र १६.७७ प्रतिशत जनसंख्या छ । त्यसपछि भने भोजपुरी, बज्जिका र मैथिलीलाई दोस्रो भाषा मान्नेहरुको बाहुल्यता छ ।

बाराः बारा जिल्लामा भोजपुरी भाषा बोल्ने ७२.०३ जनसंख्या छ भन्ने ०६८ को जनगणना तथ्यांकले देखाउँछ । भोजपुरी भाषा बिहारस्थित भोजपुरबाट नामकरण भएको मानिन्छ । हिजोआज बिहारमा एक जिल्लाको नाम नै भोजपुर नामाकरण भएको छ । भारतमा करिब ३ करोड ७८ लाख भोजपुरी भाषी छन् ।

यता बारा जिल्लामा भोजपुरी भाषापछि नेपाली, थारु, मैथिली बोल्ने क्रमशः ९.६७, ७.५१ र ३.८२ प्रतिशत जनसंख्या छ । बज्जिका भाषा बोल्नेको जनसंख्या २२ औं स्थानमा अर्थात ०.०२ प्रतिशत मात्र छ । ५ सय ७ जना हिन्दी भाषी छन् ।

नेपाली, हिन्दी र भोजपुरीलाई दोस्रो भाषा मान्ने जनसंख्या बारामा क्रमशः ३०.६०, १६.४७ र ३.१८ प्रतिशत छन् ।

पर्साः यो जिल्लामा भोजपुरी भाषा बोल्ने जनसंख्या प्रतिशत सबैभन्दा बढी छ । पर्सामा ७८.१४ प्रतिशत जनसंख्याले भोजपुरी भाषा बोल्छन् । नेपाली र मैथिली भाषा बोल्ने क्रमशः ६.४३ र ५.१० प्रतिशत जनसंख्या छ । हिन्दी भाषी १ हजार ५ सय ३० संख्यामा छन् । नेपाली र हिन्दीलाई दोस्रो भाषा मान्ने क्रमशः  ३०.४२ र ४.८७ प्रतिशत जनसंख्या छ । गज्जब के पनि छ भने भोजपुरीलाई दोस्रो भाषा मान्नेहरु पर्सा जिल्लामा ५.४२ प्रतिशत छन् ।

हिन्दी भाषाको विवाद

हिन्दी भाषालाई नेपालको ‘राष्ट्र भाषा’ मान्ने कि नमान्ने र त्यसलाई संविधानको अनुसूचीमा राख्ने कि नराख्ने भन्ने विवाद  नेपालमा बेलाबखत हुने गरेको सुनिन्छ । यसबारेमा चर्चा गर्दा हाम्रो संविधानको प्रावधान, भाषाविदहरुको विश्लेषण र हिन्दी भाषाको अवस्थालाई विचार गर्नुपर्ने हुन्छ ।

नेपालको संविधानको धारा ६ मा लेखिएको छ- नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्रभाषा हुन् ।’

संविधानमा लेखिए अनुसार मातृभाषा र राष्ट्रभाषा एकै हुन् ।

संविधानले गरेको यस्तो व्यवस्था अनुसार के प्रश्न उठ्छ भने सबै मातृभाषालाई राष्ट्र भाषा मान्ने हो भने हिन्दीलाई पनि राष्ट्रभाषा मान्ने त ?

संविधानको धारा ७ को उपधारा (१) मा सरकारी कामकाजको भाषाबारे यस्तो भनिएको छ- ‘देवनागरि लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ ।’

संविधानको सोही धाराको उपधारा (२) मा यस्तो पनि लेखिएको छ-‘नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानून बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने छ ।’

कमल मादेन

संविधानले नेपालमा बोलिने ‘मातृभाषा’ लाई ‘राष्ट्रभाषा’ मानेको र प्रदेशमा नेपालीबाहेक अरु पनि ‘राष्ट्रभाषा’लाई सरकारी कामकाजको भाषा मान्न सकिने  भनेको स्थितिमा अब प्रश्न उठ्छ, उसोभए संविधान अनुसार ‘हिन्दी’ नेपालको राष्ट्रभाषाको परिभाषाभित्र पर्छ कि पर्दैन ? नेपालको संविधान ०७२ को धारा ६ मा प्रष्टसँग ‘नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्र भाषा हुन्’ भनिएको छ ।

नेपालमा बोलिने सबै मातृभाषालाई ‘राष्ट्रभाषा’ मान्ने हो भने नेपालका मातृभाषा सम्बन्धी सरकारी तथ्यांकमा हिन्दी मातृभाषीहरुको जनसंख्या पनि देखाइएको छ । राष्ट्रिय जनगणनामा मातृभाषा अनुसार देखाइएको जनसंख्या विवरणमा हिन्दीभाषीहरुलाई १६ औं नम्बरमा समावेश गरिएको छ । सो तथ्यांकमा हिन्दीभाषी जनसंख्या ७७ हजार ५ सय ६९ देखाइएको छ । त्यसमध्ये ४६ हजार ९ सय ३३ तराईमा र बाँकी अन्य भूभागमा रहेको उल्लेख छ ।

संविधानमा राखिएको यो प्रावधानलाई भाषाविदहरुले के कसरी लिएका छन् ? भोलिका दिनमा स्पष्ट होला । तर, यतिखेर नेपालमा बोलिने भाषाहरुमध्ये कुन-कुन राष्ट्रभाषा हुन र कुन-कुन होइनन् अनि तिनीहरु संविधानको अनुसूचीमा राख्ने/नराख्ने भन्ने सन्दर्भ संविधान संशोधनको मुद्दा बनेको छ ।

भाषाशास्त्रका पुस्तकहरुमा उल्लेख भएअनुसार- जुन भाषा मान्छेले सब भन्दा पहिले सिक्छ र जुन भाषा बोल्न सबभन्दा बढ्ता जान्दछ, उसको मातृभाषा त्यही हो ।

भाषाविदद्वय माधवप्रसाद पोखरेल र नोवलकिशोर राईको एक लेखअनुसार हँस्यौली गर्दा, रिसाउँदा, गाली गर्दा, विलाप गर्दा, माया गर्दा, खेल्दा, गोप्य कुरा गर्दा, पारिवारिक र जातीय भेटघाटका बोलचालमा मान्छेले जुन भाषा बोल्छ, उसको मातृभाषा त्यही हो ।

तथ्यांक विभागले प्रकाशन गरेको ‘नेशनल पपुलेशन एण्ड हाउसिङ सेन्सस् २०११ -काष्ट/इथ्नीसिटी एण्ड ल्याङवेज)’मा उल्लेख भए अनुसार नेपालमा १२३ मातृभाषा (मदर टङ्ग) का रुपमा बोलिन्छ (पृष्ठ घ) । उक्त पुस्तक अनुसार नेपालको कुल जनसंख्यामध्ये ४४.६, ११.७, ६.०,  ५.८, ५.१, ३.२, ३.०, ३.०, ३.० र २.६ प्रतिशतले क्रमशः नेपाली, मैथिली, भोजपुरी, थारु, तामाङ, नेवार, बज्जिका, मगर, डोटेली र उर्दू भाषा मातृभाषाका रुपमा बोल्छन् । संविधान अनुसार यी सबै मातृभाषाहरु राष्ट्रभाषा हुन् ।

संविधान संशोधनमा मधेसवादी पार्टीहरुले भाषाको विषयमा सरोकार राखेको देखिन्छ । तर, मधेसवादी पार्टीहरुले जे-जस्तो माग गरे पनि  प्रदेश नम्बर २ मा मुख्यरुपमा राज्यले गैरनेपाली भाषीलाई उपेक्षा गरेको छ कि छैन ? यो नै मुख्य प्रश्न हो ।

सामान्य ढंगमा हेर्दा प्रदेश नम्बर २ का गैरनेपाली भाषीहरुको बुझाइ राज्यबाट आफूहरुमाथि भाषिक विभेद भयो भन्ने रहेको छ ।

यो बुझाइ संविधानको धारा ७ को (१) मा लेखिएको सरकारी कामकाजको भाषा सन्दर्भमा लेखिएको ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ’ भन्ने एक वाक्यले करिब-करिब पुष्टि गर्छ ।

तर, उपधारा (२) लाई इमान्दारितापूर्वक कार्यान्वयन गर्ने हो भने भाषिक विभेद र विवादको निरुपण हुन पनि सक्ला कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment