Comments Add Comment

राष्ट्र बैंकले ८ करोडमा बेच्यो दुईवटा दरबार, विभाग रुष्ट


१५ वैशाख, काठमाडौं । दुई वर्षअघि गएको भूकम्पका कारण भत्किएका राष्ट्र बैंकको बालुवाटारस्थित मुख्यालय भवन (ललितानिवास) र थापाथलीस्थित बैंकिङ कार्यालय भवन (थापाथली दरबार–सिंहमहल)को सम्पूर्ण संरचना करिब ८ करोड रुपैयाँमा बिक्री भएको छ । ‘दुवै भवन भत्काएर त्यसमा भएका सबै संरचना ठेकेदार आफैँले लाने गरी सम्झौता भएको छ,’ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने, ‘यसबाट राष्ट्र बैंकलाई ८ करोड रुपैयाँ प्राप्त हुनेछ ।’

पुरातत्व विभागले यी दुई राणाकालीन दरबार भत्काउन स्वीकृति दिएपछि भवन भत्काएर भग्नावशेष बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । ‘ऐतिहासिक महत्वको भवनको भग्नावशेष बेच्दा ठूलो पैसा आउने भएपछि नेपाल सरकारले राष्ट्र बैंकको दुवै भवनको भग्नावशेष बिक्री गर्ने निर्णय गरेको छ,’ राष्ट्र बैंकको सामान्य सेवा विभाग प्रमुख एवं कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले भने । राष्ट्र बैंकका अधिकारीहरूले शनिबारबाटै भवन भत्काउने र भग्नावशेष पन्छाउने काम सुरु हुने बताएका छन् ।

‘हाम्रो वार्षिकोत्सव समारोह गर्नुपर्ने भएकाले काम सुरु गर्न केही ढिलाइ भएको हो,’ राष्ट्र बैंक सञ्चालक समितिका सदस्यसचिव एवं सहप्रवक्ता राजेन्द्र पण्डितले भने, ‘अब तुरुन्तै काम सुरु हुन्छ ।’

गत वर्षको सरकारको नीति तथा कार्यक्रममा सरकारी स्वामित्वका ऐतिहासिक भवनहरू सरकारले नै बनाउने घोषणा गरेपछि सोही बुँदामा टेकेर राष्ट्र बैंकले आफ्ना दुई भवन निर्माण गर्ने जिम्मा सहरी विकास मन्त्रालयलाई सुम्पियो । ‘सुरुमा राष्ट्र बैंक आफैँले बनाउने भनेका थियौँ,’ कार्यकारी निर्देशक पोखरेलले भने, ‘पछि पुनर्निर्माण प्राधिकरणका तत्कालीन सिइओ सुशील ज्ञवाली, सहरी विकास मन्त्रालयका सचिव, राष्ट्र बैंकका गभर्नरलगायतको बैठकमा सरकारले नै भवन निर्माण गर्ने सहमति भयो ।’ सोही सहमतिअनुसार सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले ती दुई भवन भत्काएर त्यसको भग्नावशेष बिक्री गिर्ने निर्णय गरेको पोखरेलले बताए ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले राष्ट्र बैंकका यी दुई भवनको संरचना भत्काउन आफूहरूले निर्देशन दिएको भए पनि भग्नावशेष बेच्न सहमति नदिएको बताएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment