Comments Add Comment

स्थानीय चुनावमा लमजुङका आधा दर्जन पत्रकार आकाङ्क्षी

१५ वैशाख, लमजुङ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै लमजुङका क्रियाशील पत्रकार पनि आकाङ्क्षी देखिएका छन् । लमजुङका स्थानीय तहमध्ये वडा, गाउँपालिका र नगरपालिका प्रमुखका लागि पत्रकार आकाङ्क्षी देखिएका हुन् ।

प्रेस युनियनका पूर्व गण्डकी अञ्चल संयोजक एवम् लमजुङ आवाज साप्ताहिक पत्रिकाका प्रधान सम्पादक मिलन शर्मा दनाईंले बेसीसहर नगरपालिकाअन्तर्गत वडा नं ८ बाट अध्यक्षका लागि पार्टीमा उम्मेदवारी दिएका छन् ।

नेपाल प्रेस युनियनका अध्यक्ष एवम् नेपाल टेलिभिजनका लमजुङ प्रतिनिधि परमेश्वर अधिकारीले नेपाली काँग्रेसबाट सुन्दरबजार नगरपालिकाको मेयर पदको उम्मेदवारमा आकाङ्क्षा देखाएका छन् । उनले पार्टीमा आन्तरिक उम्मेदवारीसमेत दिएका छन् ।

यस्तै, प्रेस युनियनका अर्का सदस्य एवम् अन्नपूर्ण पोष्ट दैनिकका लमजुङ समाचारदाता दीपक अधिकारीले दोर्दी गाउँपालिका–१ को वडा सदस्यमा टिकट पाएका छन् । अधिकारीले वडा सदस्य जितेर जिल्ला समन्वय समितिमा आउने दाबी गरेका छन् ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सन्तोष पौडेलले दोर्दी गाउँपालिकाको प्रमुख पदको उम्मेदवारमा आकाङ्क्षा देखाएका छन् । पौडेल हाल जिल्लास्थित रेडियो भोटेओडारको निर्देशक र मूलखबर अनलाइनमा आबद्ध छन् ।

प्रेस सेन्टरका जिल्ला अध्यक्ष रुद्रहरि ढकालले पनि स्थानीय तह निर्वाचनमा सुन्दरबजार नगरपालिका–८ को वडाध्यक्ष पदको उम्मेदवारका लागि पार्टीमा निवेदन दिएका छन् । उनी पनि जिल्लास्थित रेडियो भोटेओडारको व्यवस्थापक हुन् ।

परिवर्तन सन्देश पत्रिकाका सम्पादक नारायण पौडेलले राइनास नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । उनले नयाँ शक्ति पार्टीबाट उम्मेदवारी दिने तयारी गरेका हुन् ।

सोही पत्रिकाका कार्यकारी सम्पादक एवम् प्रेस सोसाइटी लमजुङका जिल्ला अध्यक्ष वासुदेव थापाले मस्र्याङदी गाउँपालिकामा प्रमुख पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
सबैजनाले आन्तरिक पार्टीमा आकाङ्क्षा व्यक्त गर्दै उम्मेदवारी दिए पनि उम्मेदवार टुङ्गो भने कसैको पनि भएको छैन । पार्टीमा आकाङ्क्षी धेरै भएपछि दललाई उम्मेदवार चुन्न सकस भएको छ ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment