Comments Add Comment

संविधान संशोधनमा आ-आफ्नै दाबी, पारित नभए के हुन्छ ?

मोर्चाका नेता भन्छन्- एमालेले पनि समर्थन गरोस्

१५ बैशाख, काठमाडौं । सरकारले संसदमा टेबल गरेको संविधान संशोधन प्रस्तावका विषयमा सत्तापक्ष र प्रतिपक्ष दुबैले आ-आफ्नो पक्षले जित्ने दाबी गरिरहेका छन् । सरकारले यो प्रस्तावमा दुई तिहाई बहुमत पुग्ने दाबी गरेको छ भने प्रतिपक्षी एमालेले दुई तिहाई मत पुग्न नदिने आफूसँग पर्याप्त मत रहेको दाबी गरेको छ ।

सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन प्रस्तावमा संशोधन दर्ताका लागि संसदले ७२ घण्टा समय दिएको छ, जुन समय शनिबार साँझ सकिनेछ र त्यसपछि यो प्रस्ताव मतदानको प्रक्रियामा जानेछ ।

संसदमा हाल ५९३ सदस्य छन् । सभामुख ओनसरी घर्ती र फौजदारी कसुरमा जेल परेका सांसद सञ्जय साहले मतदान गर्न पाउँदैनन् । दुबैतर्फ बराबर मत भएको अवस्थामा मात्रै सभामुखलाई निर्णायक मतदान गर्ने अधिकार छ ।

संविधान संशोधन प्रस्ताव दुई तिहाई बहुमतबाट पारित गर्नका लागि ३९६ मत आवश्यक पर्छ । प्रतिपक्षी दल एमालेले आफ्नो गठबन्धनमा १९८ मत रहेको भन्दै सत्तापक्षसँग ३९१ मतमात्रै रहेको दाबी गरेको छ । एमालेले संशोधन प्रस्तावलाई असफल पार्ने रणनीति बनाएको छ ।

सत्तापक्षले भने संविधान संशोधन प्रस्ताव दुई तिहाई बहुमतबाट पारित हुने दाबी गरेको छ । सत्तापक्षको हिसाब अनुसार विपक्षी एमाले गठबन्धनमा १९५ मोट मात्रै छ भने सत्तापक्षसँग ३९८ मत छ ।

एमालेको दाबी

प्रतिपक्षी दल एमालेले विहीबार आफ्नो पार्टी कार्यालयमा विपक्षी गठबन्धनको बैठक बोलाएको थियो । त्यहाँ निकालिएको हिसाब अनुसार एमालेको पक्षमा १९८ मत छ ।

एमाले स्रोतका अनुसार एमालेको १८१, मालेको ५, नेमकिपाको ४ राष्ट्रिय जनमोर्चाको ३ परिवार दलको २ भोट विपक्षी गठबन्धनको साथमा छ । त्यसैगरी नेपा पार्टी, बहुजन शक्ति र मधेस समता पार्टीको १/१ भोट गरी ३ भोट आफ्नो पक्षमा रहेको एमालेको दाबी छ । यो सबै मत जोड्दा विपक्षमा भएको मत १९८ पुग्छ ।

एमालेको दाबी अनुसार सत्तापक्षमा ३९१ भोट छ । कांग्रेसको २०७, माओवादीको ८१, राप्रपाको ३७, राजपाको २४, संघीय समाजवादी फोरमको १५, लोकतान्त्रिक फोरमको १४ नेकपा संयुक्तको ३ र अन्य साना दल १० समेत गरी सत्तापक्षसँग ३९१ मत मात्रै रहेको एमाले नेताहरुको दाबी छ ।

सत्तापक्षको दाबी

सत्तारुढ गठबन्धनको दाबीचाहिँ संविधान संशोधनको पक्षमा दुई तिहाई बहुमत रहेको र संशोधन प्रस्ताव पारित हुने भन्ने छ ।

सरकारले मधेसी मोर्चाका नेताहरुलाई संविधान संशोधनको पक्षमा बहुमत रहेको लिस्ट नै बुझाएको स्रोत बताउँछ । सरकारले संविधान संशोधनको पक्षमा हाल ३९८ मत रहे पनि मतदान प्रक्रियामा जाँदा ४ सय मत कट्ने दाबी गरेको छ ।

सत्तापक्षको दाबीअनुसार एमाले गठबन्धनमा एमालेको १८१, माले ५, नेमकिपा ४, राष्ट्रिय जनमोर्चा ३ बहुजन पार्टी १ र नेपा पार्टी १ गरी हाल १९५ मत रहेको छ । यसबाट बहुजन पार्टी र नेपा पार्टी संविधान संशोधनको पक्षमा आउने दाबी सत्तापक्षको छ ।

सत्ता पक्षको दाबीअनुसार संविधान संशोधनको पक्षमा नेपाली कांग्रेसको २०७ मत, माओवादी ८१, राप्रपा ३७, राजपा नेपाल २५, लोकतान्त्रिक फोरम १६, संघीय समाजवादी १५ नेकपा संयुक्त ३ र अन्य दलबाट १४ मत खस्ने सम्भावना छ ।

संशोधन प्रस्ताव पारित नभए के हुन्छ ?

मधेसी मोर्चाले संविधान संशोधनलाई निर्वाचनमा आउने पूर्वशर्त मानेको छ । अब संसदको प्रक्रियामा जाँदाखेरि यो प्रस्ताव दुई तिहाइ बहुमतबाट पारित भएन र असफल भयो भने के हुन्छ ? त्यस्तो अवस्थामा मधेसी मोर्चाले स्थानीय चुनावमा भाग लिन्छ कि लिँदैन ? यो प्रश्न अहिलेसम्म निरुत्तरित नै छ ।

हामीले राजपा नेपालका नेता राजकिशोर यादवलाई सोध्यौं- संविधान संशोधन प्रस्ताव पारित भएन भने मधेसी मोर्चा यो प्रक्रियालाई मानेर निर्वाचनमा आउँछ कि आउँदैन ? जवाफमा यादवले भने- कसरी हुन्छ असफल ? संविधान संशोधनको पक्षमा स्पष्ट दुई तिहाई बहुमत पुगिसकेको छ ।’

तर, प्रतिपक्षी एमालेले त संशोधनको पक्षमा दुई तिहाई पुग्न नदिने र असफल पार्ने बताइरहेको छ नि भन्ने प्रश्नमा यादवले अनलाइनखबरसँग भने- ‘संविधान संशोधन गरेर यसलाई सर्वस्वीकार्य गर्नुपर्छ भन्ने माग राजनीतिक विषय हो, यसलाई गणितीय विषयका रुपमा मात्रै हेरिनुहुँदैन, एमालेले पनि यसमा सहमति जनाउनुपर्छ । देशको हितका लागि एमालेले पनि संविधान संशोधनको पक्षमा भोट हाल्नुपर्छ ।’

तर, प्रस्तावको पक्षमा दुई तिहाई पुगेन भने प्रक्रियामा गएपछि तपाईहरुले पनि त खेलको नियम मान्नुपर्दैन ? यो प्रश्नमा यादवले भने-‘ यो हाम्रो राजनीतिक माग हो, दलहरुले भोट हालेनन् र हाम्रो माग सम्बोधन गरेनन् भने त्यो अवस्थामा हामी चुनावमा कसरी जाने ? जाँदैनौं ।’

देशलाई निकास दिने हो भने संविधान संशोधन प्रस्तावलाई सबैले मिलेर पारित गर्नुपर्ने यादवले बताए । कांग्रेस र माओवादीका सबै सांसदले अनुपस्थित नभइकन भोट हाले भने संशोधन प्रस्ताव पारित हुने  र त्यसपछि स्थानीय चुनावमा सहभागी हुने यादवले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment