Comments Add Comment

दुई चरण निर्वाचनले सुस्तायो बैतडीको चुनावी गतिविधि


१५ वैशाख, बैतडी । सरकारले दुई चरणमा स्थानीय निर्वाचन गर्ने निर्णय गरेसँगै बैतडीलगायत प्रदेश नं ७ मा निर्वाचन गतिविधिमा सुस्तता आएको छ ।

प्रदेश नं १, २, ५ र ७ मा जेठ ३१ गते तथा ३, ४ र ६ नं प्रदेशमा सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । वैशाख ३१ गते हुने भनेको प्रदेश नं ७ को निर्वाचन जेठ ३१ मा सारेपछि निर्वाचन गतिविधिमा सुस्तता आएको दोगडाकेदार–३ श्रीकोटका हेमराज गिरीले बताए । ‘गाउँसहर निर्वाचनमय भइसकेको थियो’, उनले भने, ‘जेठ ३१ मा चुनाव सारेपछि निराशा छाएको छ ।’

जेठ ३१ मा निर्वाचन हुने भएपछि वैशाख १२ गतेदेखि दशओटै तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्य पनि आयोगले अर्को निर्णय नगर्दासम्मका लागि रोकिएको जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलले बताए । ‘वैशाख १ गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम पनि स्थगित भएको छ’, उनले भने, ‘दुई चरणमा निर्वाचन हुने भएपछि चुनावी गतिविधिमा सुस्तता आएको छ ।’

पहिलो चरणको निर्वाचनका लागि तयारीमा रहेका दल दोस्रो चरणमा चुनाव हुने भएपछि चुनावी अभियानलाई विश्राम दिन थालेका छन् । बैतडीमा दोस्रो चरणमा निर्वाचन हुने भएपछि उम्मेदवार छनौटको कसरतमा लागिरहेका दल अब बिस्तारै उम्मेदवार छान्ने मनस्थितिमा पुगेका छन् । जेठ ३१ मा चुनाव हुने भएपछि उम्मेदवार छनौट प्रक्रिया बिस्तारै थाल्ने नेपाली काँग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले बताए ।

यस्तै, राप्रपाले पनि उम्मेदार छनौट कार्यलाई बिस्तारै गर्ने जनाएको छ । पहिलो चरणमा बैतडीमा चुनाव नहुने भएकाले दोस्रो चरणका लागि बिस्तारै उम्मेदवारको टुङ्गो लगाउने राप्रपाका जिल्ला सचिव प्रजापति जोशीले बताए ।

नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक प्रेमप्रकाश भट्ट (आदित्य) ले सरकारले चुनावको मिति सार्नुभन्दा पहिले नै बैतडीका दश स्थानीय तहमा उम्मेदवार घोषणा गरिसकेकाले अहिले प्रचारप्रसारमा जुटेको बताए ।

जिल्लाका १० ओटै स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको टुङ्गो लगाएको नेकपा (एमाले) र माओवादी केन्द्रले पनि चुनावी गतिविधिमा सुस्तता आएको बताए । आफ्नो पार्टीले चुनावी गतिविधिलाई कम नगरे पनि सरकारले चुनाव नै नगर्ने हो कि भन्ने आशङ्का जन्माएको एमाले बैतडीका सचिव लीलाधर भट्टले बताए ।

सरकारले दोस्रो चरणमा निर्वाचन गर्ने भएपछि गाउँघरमा बढेको चुनावी सरगर्मी एक्कासि घटेको दोगडाकेदार–३ श्रीकोटका वीर सिंह भाटको भनाइ रहेको छ ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment