Comments Add Comment

विद्यार्थी नेताहरुलाई शिक्षा मन्त्रालयले वार्तामा बोलायो

आज शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी


१५ बैशाख, काठमाडौं । निजी विद्यालयको शुल्कवृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरुलाई शिक्षा मन्त्रालयले आज वार्तामा बोलाएको छ । शिक्षा मन्त्री र मन्त्रालयका अधिकारीहरुलाई सार्वजनिक बहिस्कार गर्ने निर्णय विद्यार्थी संगठनहरुले सार्बजनिक गरेलगत्तै मन्त्रालयले वार्तामा बोलाएको हो ।

विद्यार्थी नेताहरुलाई आज दिउँसो एक बजे वार्तामा बोलाइएको शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले जानकारी दिए ।

प्रवक्ता लम्सालले नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, राप्रविसंघ, समाजवादी विद्यार्थी फोरम, नयाँशक्ति विद्यार्थी युनियन, अखिल पाँचौलगायतका विद्यार्थी संगठनका नेताहरुलाई टेलिफोन गरी वार्तामा बोलाएका हुन् ।

निजी विद्यालयले सरकारले तोकेको सिलिङ र सर्वोच्च अदालतको आदेशविपरीत मनोमानी ढंगले शुल्क लिएको विरोधमा विद्यार्थी संगठनहरुले बिहीबार आन्दोलनका नयाँ कार्यक्रम सार्बजनिक गरेका थिए ।

पूर्वनिर्धारित आन्दोलनको कार्यक्रमअनुसार आज बिहान १० बजे देशभरका जिल्ला शिक्षा कार्यालयमा र दिउँसो एक बजे शिक्षा विभागमा तालाबन्दी गर्न लागिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष रन्जित तामाङले जानकारी दिए ।

विद्यार्थी संगठनहरुले यही बैशाख १७ गते शिक्षा मन्त्री, शिक्षा मन्त्रालयका अधिकारी र निजी विद्यालय सञ्चालकहरुलाई सार्वजनिक वहिस्कार गर्ने तथा १८ गते सरकारी गाडीहरु चलाउन रोक लगाउने निर्णयसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment