Comments Add Comment

स्वर्ग र नरकमा पनि नेपालकै हावापानी खोज्दै छन् सागर

'यत्ति भए पुग्छ' सार्वजनिक हुँदै

२८ अप्रील, युएई । काम र दामको खोजीमा प्रवासी बनेकाहरुका बाध्यता र सपना उस्तैउस्तै हुन्छन् । एउटा सानो घर, अलिकति जमिन, थोरबहुत बैंक ब्यालेन्स, मोटरसाइकल, मायालु श्रीमती, आज्ञाकारी छोराछोरी, सन्तुष्ट आमाबुबा । यत्ति भए पुग्छ नि ?

तर, सिन्धुपाल्चोकबाट ७ वर्ष अघि परदेशको यात्रामा निस्केका जे सागरलाई यत्तिले मात्र पुगेन । उनका सपना अलि फरक छन् ।

आधारभूत सपना पूरा भएर होला ‘सागर’ का सपना साँच्चिकै सागरझै अमूर्त छन् । उनका सपनाहरु स्वभाविक मात्रै छैनन् विशाल र अलौकिक पनि छन् ।

काम, नाम, दाम देलास् आशा छैन सरकार,
छिटो गर्दे राहदानी यत्ति भए पुग्छ ।

नेपालमा मास्टरी गरेर जसोतसो गर्जो टरे पनि सन्ततिको सुन्दर भविष्य खोज्न खाडी छिरेका सागरले गजलको माध्यमबाट सरकारलाई नाम, काम र दाम दिन नसकेको आरोप लगाउँदै समयमै राहदानी बनाइदिन आग्रह गरेका छन् ।

त्यही राहदानी लिएर काम र मामको खोजीमा कतारको दुई वर्षे बसाईपछि पाँच वर्ष अघि युएई छिरेका जे सागरले जति दाम कमाए, त्योभन्दा धेरै नाम कमाएका छन् ।

उनी युएईमा मूलतः गजलकारका रुपमा परिचित छन् । तर, उनी अखबारी लेखन, समाचार लेखनमा मात्र होइन, सामाजिक क्रियाकलापमा पनि उत्तिकै सक्रिय छन् ।

गजलको माध्यमबाट व्यक्त भएका जे सागरका साहित्यिक प्रस्तुतिहरुले युएईका नेपाली मञ्चहरु, फेसबुक, हृवाटस्एप ग्रूप जस्ता सामाजिक सञ्जाल, पत्रपत्रिका र अनलाईन पोर्टलहरुमा राम्रो प्रभाव पार्ने गरेका छन् ।

तिमी छौ, भन्ने भान कहिले हुन्छ सरकार ?
खाडी उड्ने रित्तो उडान कहिले हुन्छ सरकार ?

केही महिनाअघि युएईको एक कार्यक्रममा गजलका उक्त सेरहरु प्रस्तुत गरिहँदा हल तालीले गुञ्जयामान मात्र भएन, कलाकार तथा नेपाल वायुसेवाका वरिष्ठ क्याप्टेन विजय लामासमेत जे सागरको प्रशंसा नगरी बस्न सकेनन् ।

पछिल्लो समय चर्चामा रहेका सागर उनका ७४ ओटा गजल रहेको कृति ‘यत्ति भए पुग्छ’ सार्वजनिक गर्ने दौडधुपमा छन् ।

बुलबुल पब्लिकेसनबाट प्रकाशन हुँदै गरेको यस नवकृतिको विमोचन वैशाख २३ गते हुनेछ । यो भन्दा अघि उनका रचनाहरु ‘प्रवासका अक्षरहरु’ मा पनि प्रकाशित भइसकेका छन् ।

उक्त संयुक्त संग्रहको प्रमुख संयोजक भइसकेका सागरले ‘हैसियत’ संयुक्त गजल संग्रह र ‘कोसेली’ संयुक्त मुक्तक संग्रहमा आफ्ना रचना प्रकाशन गरिसकेका छन् ।

एउटै आशिष छोरालाई बरु शहीद बनोस् ,
तर बनोस् स्वाभिमानी यत्ति भए पुग्छ ।

व्यभिचार, अभिमान र बेइमानीले समाज अनि राष्ट्र नै दुष्चक्रको दलदलमा फसेका बेला आफ्ना सन्तानहरु स्वाभिमानी बन्न सुझाएका छन् सागरले गजलमा ।

जस्तो बना संघीयता हाम्रो भातृत्वमा,
नहोस् कुनै खिचातानी यत्ति भए पुग्छ ।

राजनीतिक खिचातानीले देश अन्योलमा रुमल्लिरहेको परिप्रेक्षयमा संघीयताले भातृत्व नटुटोस् भनी खिचातानी बन्द गर्न गजलकारले माग गरेका छन् ।

मरेपछि स्वर्ग पुगुँ या नर्कमैं परुँ
नेपालकै होस् हावापानी यत्ति भए पुग्छ ।

एउटै छोटो गजलमा धेरै भाव पस्कन सफल सागरले मरेपछि स्वर्ग वा नर्क जहाँ पुगे पनि नेपालकै हावापानी चाहिने भनी राष्ट्रियता र देशप्रेम झल्काउन पनि भ्याएका छन् ।

खाडीबाट आमालाई मुन्द्रा ल्याएको छु,
नलुटिदे राजधानी यत्ति भए पुग्छ ।

परदेशमा दुःख गरी आमालाई ल्याएको मुन्द्रा एयरपोर्टमै लुटिने चिन्ता पनि गजलकारलाई देखिन्छ । परदेशमा बस्दाबस्दै आफ्ना छोराछोरीले नचिन्लान् भन्दै आफ्नो फोटो देखाइरहन पनि आग्रह गजलमै गरेका छन् ।

मेरो फोटो सन्ततिलाई देखाउँदै गर्नु,
नेमेटियोस् चिनाजानी यत्ति भए पुग्छ ।

सागरको गहिराइको प्रसंग उल्लेख गर्दै गजलकारले आफू सोचेजति कठिन नभएको तर अलिकति सावधानी अपनाउन प्रमिकालाई आग्रह पनि गरेका छन् ।

सोचेजति कठिन छैन ‘सागर’भित्र डुब्न,
थोरै रहोस् सावधानी यत्ति भए पुग्छ ।

जीवनमा धेरै दुःख पाएको प्रसंग उल्लेख गर्दै गलजकारले यो हैरानी यत्ति भए पुग्छ भनी गजलको बिट मारेका छन् ।

भयो दुख्यो जिन्दगानी यत्ति भए पुग्छ
कति सहुँ यो हैरानी यत्ति भए पुग्छ ।

मन छुने शब्दको चयन, चलनचल्तीका सरल भाषाशैली, लेखाई, बोलाइ र व्यवहारमा प्रस्टताका कारण उनका देशविदेशमा हजारौैं फ्यानहरु छन् । गजलमा विशेष दक्षता राख्ने जे सागरको यो कृति धेरै गजलकारहरुको प्रतिक्षाको विषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment