Comments Add Comment

म्याद सकिन लाग्यो, कसले जडान गर्ने काठमाडौंमा ट्राफिक लाइट ?

प्राविधिक मूल्यांकनमा छनोट भएको कम्पनी पनि 'अयोग्य'


१५ बैशाख, काठमाडाैं । दिगो शहरी यातायात आयोजनाको म्याद आउँदो असार १६ गते सकिँदैछ । तर, यसको स्थापनासँगै अघि सारिएको काठमाडौंमा नयाँ ट्राफिक लाइट जडानको योजनाले भने कुनै गति लिएको छैन ।

एशियाली विकास बैंक (एडिबी) को ५१ प्रतिशत अनुदान र २१ प्रतिशत ऋणमा ‘इन्टेलिजेन्ट ट्राफिक सिग्नल सिस्टम’ जडान गर्ने भनिएको थियो । यसका लागि सरकारले ३३ करोड रकम छुट्याएको थियो । आयोजना जडान यो रकम पनि खर्च नभई पि|mज हुने अवस्थामा पुगेको छ । आयोजनाले अहिलेसम्म निर्माण कम्पनी नै छनौट गर्न सकेको छैन ।

आयोजनाले अहिलेसम्म तीन पटकसम्म टेन्डर आहृवान गरिसकेको छ । अन्तिम पटकको टेन्डरमा ८ वटा आवदेन परेका थिए । तीमध्ये रसुवा कन्स्ट्रक्सन कम्पनी प्राविधिक मूल्यांकनमा छनौट भयो । तर, वित्तीय रुपमा विश्लेषण गर्दा भने आयोजनाले यसलाई निर्माणको जिम्मा दिइहाल्न सक्ने अवस्था भएन ।

रसुवा कन्स्ट्रक्सनको प्राविधिक विश्लेषणको काम पुस महिनामै सकिएको थियो । त्यसयता आर्थिक विश्लेषणको काम अघि बढेको हो । आर्थिक विश्लेषणबाट कम्पनीले ओभर इस्टिमेट गरेको देखिएपछि सुझावको लागि एडीबी पठाइएको तर लामो समयसम्म कुनै जवाफ नआएको आयोजनाका एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार यस कम्पनीले २० प्रतिशत रकम ओभर इस्टिमेट गरेको छ ।

यो आयोजना ३ अर्ब ७ करोड ७७ लाखको हो । जमसध्ये २ अर्ब ५ करोड रकम बराबरको रकम एडीबीले अनुदान तथा ऋणको माध्यमबाट प्रदान गर्न लागेको छ ।

आयोजनाका प्रमुख भीमार्जुन अधिकारी योग्य ठेकेदार आवेदन दिन नआएका कारण यसको अहिलेसम्म टुङ्गो लाग्न नसकेको बताउँछन् । उनले भने, ‘यसभन्दा अघि योग्य ठेकेदार आएनन्, अहिले एउटा कम्पनीको आर्थिक विश्लेषण गरिरहेका छौ । ‘

काठमाडौंको ट्राफिक जाम व्यवस्थापन गर्ने उद्देश्यले यो आयोजनाको स्थापना गरिएको थियो । सन् २०११ सालमा आयोजना स्थापना भएसँगै सडकमा आधुनिक खालको ट्राफिक लाइट जडान गर्ने प्रस्ताव आएको थियो । सन् २०७३ को जेठमा पहिलोपटक यसको लागि टेन्डर भयो । तर, योग्य ठेकेदार कम्पनीको आवेदन नै परेन ।

ट्राफिक लाइट मात्रै होइन, यसको स्थापनापूर्व आवश्यकपर्ने भौतिक पूर्वाधार पनि ३० प्रतिशत बाँकी नै छ । त्रिपुरेश्वरदेखि नागढुङ्गासम्मको बाटो विस्तारमा भएको ढिलाइका कारण यसले त्रिपुरेश्वरमा आवश्यक संरचना बनाउन सकेको छैन । यो आयोजनाले त्रिपुरेश्वरमा रहेको महेन्द्रको शालिक हटाउने र अन्य आवश्यक संरचना बनाउने काम अलपत्र अवस्थामै छ ।

त्यस्तै नारायणहिटीको पश्चिमपट्टकिो पर्खाल भत्काउनुपर्ने छ । यो कामलाई पनि आयोजनाले अघि बढाउन सकेको छैन ।

एडीबी स्रोतका अनुसार अहिले रसुवा कन्स्ट्रक्सनको फाइल अघि बढाउन सकिने अवस्था छैन । स्रोतले भन्यो, ‘ओभर इस्टिमेट भएका कारण रसुवा कन्स्ट्रक्सनलाई छनोट गर्न सकिँदैन ।’

के हो इन्टेलिजेन्ट ट्राफिक सिग्नल सिस्टम ?

अहिले राजधानीका अधिकांश ट्राफिक लाइट बिग्रेका छन् । चोकचोकमा ट्राफिक प्रहरीले सवारीको व्यवस्थापन गर्नुपरिरहेको छ । त्यही भएर इन्टेलिजेन्ट ट्राफिक सिग्नल सिस्टमको कुरा आएको हो ।

यस्तो सिस्टम युरोपका ठुला शहरमा प्रयोगमा आइसकेको छ । यसमा जेब्रा क्रसिङ नजिकै पोलमा राखिएको ‘पुस बटन’ पैदल यात्रुले दबाउन सक्छन् । बटन दबाएको केहीबेरमा नै सडकमा हिँडेका गाडीलाई ट्राफिक लाइटले रोकिन निर्देशन दिन्छ । तत्कालै कन्ट्रोल युनिटले पैदलयात्रीलाई बाटो काट्न अनुमति दिने गरी हरियो बत्ति बाल्छ । अनि पैदलयात्रुले सहजै बाटो काट्न सक्छन् ।

लाइटहरुको व्यवस्थापनका लागि ट्राफिक प्रहरीको केन्ऽमा छुट्टै कन्ट्रोल युनिट स्थापना गरिएको हुन्छ । कन्ट्रोल रुममा बसेर विभिन्न चोकमा सीसी क्यामाराको सहयोगमा लाइटमार्फत नै सवारी र पैदलयात्रुको व्यवस्थापन गर्न सकिन्छ ।

लाइट राख्ने पूर्वाधारका लागि काठमाडौंका विभिन्न चोकहरुमा भटाभट त्रिकोणात्मक नयाँ ट्राफिक आइल्याण्डहरु बन्दै छन् । तर त्रिपुरेश्वरमा भने आइल्याण्डको निर्माण अहिलेसम्म हुन सकेको छैन ।

माइतीघरदेखि तीनकुनेसम्म, जयनेपालदेखि थापाथली हुँदै जाउलाखेलसम्म, नारायणगोपाल चोकदेखि त्रिपुरेश्वरसम्म र राजदरबार दक्षिणढोकादेखि कमलपोखरी हुँदै भद्रकालीसम्म यस्ता ट्राफिक लाइट जडान गर्ने आयोजनाको लक्ष्य छ । तर लक्ष्य पूरा नुहँदै आयोजनाको नै म्यादै सकिन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment