Comments Add Comment

यी हुन् अब ठूला बस चलाइने उपत्यकाका मुख्य रुट (नक्सासहित)


१५ वैशाख, काठमाडौं । अहिले कमलपोखरीबाट कसैलाई एकान्तकुनासम्म जानु छ भने चक्रपथ या रत्नपार्क पुगेर सवारी नफेरी सुखै छैन । तर, अब सरकारले पहिचान गरेको नयाँ रुट कार्यान्वयनमा आएपछि कमलपोखरीबाट सीधा बस चढेर एकान्तकुना पुग्न सकिने छ ।

यो रुटमा अब थपिने बस अहिलेको जस्तो साना र सास्ती भोग्नुपर्ने किसिमको पनि हुने छैन । चाबहिलबाट छुटेको बसले बीचभागका यात्रुलाई टिप्दै एकान्तकुना पुर्‍याउनेछ ।

सरकारले एडीबीको सहयोगमा गरेको अध्ययनमार्फत पहिचान गरेका यस्तै सडक, सवारी र यात्रु मैत्री वैज्ञानिक रुटहरुको कार्यान्वयन सुरु भइसकेको यातायात ब्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले अनलाइनखबरसँग बताए ।

विस्तृत अध्ययन सकाएर सरकारले काठमाडौंमा अहिले रहेको २ सय भन्दा बढी खण्ड-खण्डका छोटा सवारी रुटलाई एकीकृत गरी ६६ वटामा सीमित गर्न सकिने निष्कर्ष निकालेको छ । अहिले रहेका अब्यवस्थित रुटहरुलाई यसले ब्यवस्थित गर्न सकिने विश्वास गरिएको छ ।
यात्रुको चाप, शहरी भौगोलिकता, दूरी, सार्वजनिक सवारीको वैज्ञानिक ब्यवस्थापनको मर्म लगायतका आधारमा सरकारले उपत्यकाको सवारीलाई ३ तहमा विभाजन गरेर कार्यान्वयन गर्ने अवधारणा ल्याएको छ ।

विशेष गरी सडकको क्षमता र यात्रुको उपलब्धताका आधारमा ठूला, मध्यम र साना सवारी चलाउने गरी प्राइमरी, सेकेण्डरी र टर्सरी गरी ३ भागमा विभाजन गरेर रुटहरु कायम गर्न लागिएको छ । ‘पहिचान भएका रुटहरु कार्यान्वयनमा ल्याउने नीतिगत निर्णय नभएपनि हामीले कार्यान्वयनमा ल्याउने गरी काम थालिसकेका छौं’ पाण्डेले भने,’चाँडै वैज्ञानिक रुटहरु कायम भएर काठमाडौंको शहरी यातायातको अवस्थामा सुधार आउनेछ ।’

कस्तो हो प्राथमिक रुट ?

सरकारले काठमाडौंभित्र ८ वटा प्राइमरी (प्राथमिक) रुटहरु पहिचान गरेको छ । अध्ययनले औंल्याएको सुझावअनुसार प्राइमरी रुटमा ८० यात्रु बोक्न सक्ने ठूला बस चल्न सक्छन् । यो रुटमा सेमि फ्लोर बस पनि चल्न सक्छन् । अहिले साझाले चलाएका भन्दा पनि ठूला आकारका बस यो रुटमा चल्न सक्छन् ।

विशेषगरी रिंगरोड र रिंगरोडलाई रत्नपार्कसँग जोड्ने मुख्य विन्दुलाई प्राइमरी रुटमा राखिएको छ । यी रुट ठूला बस चल्न योग्य छन् । यात्रुको चाप र सडकको अवस्था हेरेर नै प्राथमिक रुटमा ठूला सवारी चलाउन सुझाव दिइएको छ ।

यात्रुको धेरै चाप हुने र सवारी उपलब्धता असहज भएको क्षेत्रलाई समेटेर प्राथमिक रुटहरु तय गरिएको छ । ‘ठूला बसहरु चलाउन प्राइमरी रुटहरु अत्यन्तै योग्य छन् । ठूला बस हालेपछि अहिले जस्तो धेरै साना सवारी यी रुटमा रहने छैनन्’ प्रवक्ता पाण्डे भन्छन्, ‘अब काठमाडौंमा ठूला बसको युग सुरु भइसकेको छ । त्यसलाई पनि ब्यवस्थित गर्न अब वैज्ञानिक रुपमा पहिचान भएका प्राइमरी रुटहरु सहयोगी हुनेछन् ।’

कुन-कुन प्राथमिक रुट ?
उपत्यकामा निर्धारित प्राथमिक रुटको पहलो नम्बरमा घडीको दिशामा चक्रपथ परिक्रमा गर्नेगरी बनाइएको छ । त्यसैगरी घडीको उल्टो दिशामा चक्रपथ परिक्रमा गर्ने गरी अर्को रुट तोक्नुपर्ने सुझाव दिएको छ, जुन रुट नम्बर २ हुने छ ।

नारायणगोपालचोकबाट महाराजगञ्ज- लाजिम्पाट- लैनचौर- जमल- भृकुटीमण्डप-त्रिपुरेश्वर- थापाथली- कुपण्डोल- पुल्चोक- जावलाखेल- लगनखेल हुँदै सातदोबाटोसम्मको रुटलाई तेस्रोमा राखिएको छ ।

ठूला बस चलाउन नारायणगोपाल चोकबाटै महाराजगञ्ज- लाजिम्पाट- लैनचौर- जमल- भृकुटीमण्डप-सिंहदरबार- माइतिघर-नयाँ बानेश्वर- कोटेश्वर- ठिमी- सल्लाघारी हुँदै सूर्यविनायक पुग्ने अर्को रुट प्रस्ताव गरिएको छ । यो रुटमा अहिले साझाले पनि सञ्चालन अनुमति मागेको छ ।  (नक्सा ठूलाे बनाएर  यहाँ डबल क्लिक गर्नुस्)


जोरपाटीबाट चाबहिल- गौशाला- कमलपोखरी- हात्तिसार- जमल- भृकटीमण्डप- शहीदगेट-त्रिपुरेश्वर- कालिमाटी-कलंकी-नैकापसम्म पनि ठूला बस चलाउनुपर्नेे प्रतिवेदनले औंल्याएको छ ।

जोरपाटीबाटै बौद्ध- चाबहिल- गौशाला- कमलपोखरी- हात्तिसार- जमल- भृकुटीमण्डप-सिंहदरबार- माइतिघर- थापाथली- कुपण्डोल- पुल्चोक- जावलाखेल हुँदै एकान्तकुनासम्म अर्को रुटको प्रस्ताव गरिएको छ ।

कोटेश्वरबाट सिनामंगल- एयरपोर्ट- गौशाला- हात्तिसार- जमल- रत्नपार्क- लैनचौर- सोह्रखुट्टे- बालाजु हुँदै नयाँबसपार्कसम्म अर्को प्राथमिक रुटहरु पहिचान भएको छ ।

कोटेश्वरबाट तीनकुने- नयाँबानेश्वर- माइतिघर- थापाथली- त्रिपुरेश्वर- कालीमाटी- कलंकीसम्म पनि ठूला बसहरु चलाउन सकिने निश्कर्ष निकालिएको छ ।
यी प्राथमिक रुटमा दोहोरो रुपमा ठूला बस आउ-जाउ गर्नेछन् ।

अध्ययनमार्फत १६ वटा सेकेन्डरी रुटहरु प्रस्ताव गरिएका छन् । सेकेण्डरी रुटमा ६० जना यात्रु बोक्ने क्षमता भएकाका बसहरु चल्न सक्छन् । ४२ टर्सरी रुटमाहरुमा साना सवारीहरु चलाइने छ ।

माइक्रो र टेम्पो हटाउन सुरु

यातायात ब्यवस्था विभागले पहिचान भएका वैज्ञानिक रुटहरुमा सरकारी पहलमै साना सवारी हटाएर ठूला सवारी राख्ने प्रक्रिया अघि बढेको जनाएको छ ।

ठूला सवारी चलाउने योजना अन्तरगत केही महिनाभित्रै नयाँ बसपार्कबाट गोंगबु, लैनचौर, मैतिदेवी हुँदै सिनामंगल रुटमा १७ वटा ठूला बस चल्नेछन् । यो रुट पुरै कभर गर्ने गरी अहिले कुनै सवारी चलेका छैनन् । विभिन्न खण्डित रुटमा रहेका सवारीलाई हटाएर एउटै रुट कायम गर्दै नयाँ बस हाल्न लागिएको हो ।

प्रवक्ता पाण्डेका अनुसार यी रुट अहिले कायम भएका जस्तो अवैज्ञानिक छैन, किनभने सरकारले लामो समय लगाएर गरेको अध्ययनले दोस्रो प्राथमिकताप्राप्त रुटमा यसलाई समावेश गर्दै ठूला बस चलाउन सिफारिस गरेको थियो ।

अध्ययन प्रतिवेदनलाई कार्यान्वयन गर्न पहिलो चरणमा यो रुटलाई छानिएको हो । अब यो रुटको खण्डित सडकमा चल्ने ३५ वटा टेम्पो र २६ वटा माइक्रो हट्नेछन् ।
नयाँ बस किन्नका लागि एसियाली विकास बैंकले ऋण दिनेछ र यही ऋण सरकारको जमानीमा टेम्पो तथा माइक्रो व्यवसायी संघले लिनेछन् । यो रुटमा आउने नयाँ बसहरु ठूला क्षमताका हुने गरी सामाखुसी यातायात र सफा ट्याम्पो परिवहन संघसँग सम्झौता गरिसकिएको छ ।

अहिले ब्यवसायीलाई नयाँ बस किन्न नगर विकास कोषमार्फत लगानीको ८० प्रतिशत ऋण उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ । यसमा सरकारले १५ प्रतिशत अनुदान दिनेछ भने ब्यवसायीले ५ प्रतिशत रकम लगानी गर्नेछन् ।

सार्वजनिक यातायत सुध्रने अपेक्षा

ब्यवसायीले ल्याउने नयाँ ठूला बसलाई वैज्ञानिक रुपमा पहिचान भएका रुटमा इजाजत दिन सुरु गरिएको प्रवक्ता डा. पाण्डेले बताए ।

‘काठमाडौंमा सडक पूर्वाधार विस्तार नहुने तर निजी सवारी चढ्ने ट्रेण्ड तीब्र गतिमा बढ्दैछ । यसले केही समयपछि उपत्यकाको सवारी ब्यवस्थापन अहिलेको भन्दा निकै नाजुक स्थितिमा पुग्ने भयो’ प्रवक्ता पाण्डेले भने, ‘तर सार्वजनिक सवारीलाई स्तरीय बनाइयो भने धेरै यात्रु निजी सवारी छाडेर सार्वजनिक सवारीमा फर्किनेमा शंका छैन । त्यसैले अब वैज्ञानिक रुपमा रुट कायम गर्ने र त्यसैअनुसारका सवारीलाई रुट इजाजत दिने काममा विभाग अघि बढेको छ ।’

वैज्ञानिक रुपमा पहिचान गरिएका रुटले मास ट्रान्सपोर्टेशनलाई प्रोत्साहित गर्ने विश्वास यातायात विभागको छ ।

उपत्यकामा हाल ३ सय भन्दा बढी संघ/संस्था/समिति मातहतमा झण्डै ११ हजार सार्वजनिक सवारी सञ्चालनमा छन् । अब जसलाई, जता मनलाग्यो उतै सवारी गुडाउन दिने गरी रुट दिने अवस्था हट्ने दावी सरकारको छ ।

सरकारले कमजोर सेवाका कारण बदनाम भएका सार्वजनिक सवारीलाई ब्यवस्थित गर्न ठूला सवारीलाई प्रोत्साहन गर्ने नीति लिइसकेको छ । अब यातायात ब्यवस्था विभागले काठमाडौंमा ठूला बस चल्ने रुटहरुको ब्यवस्थापन पनि वैज्ञानिक ढंगले गर्न लागिएकाले केही समयभित्रै सवारी यातायातमा ठूलो परिवर्तन महसुस हुने प्रवक्ता पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment