Comments Add Comment

प्रचण्डपुत्री रेणु दाहालले भनिन्- राजनीतिक जीवन चितवनमै बिताउँछु

'म प्रचण्डको मात्रै छोरी होइन'

१५ बैशाख, चितवन । माओवादी केन्द्रबाट चितवनको भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार बनेकी रेणु दाहालले आफ्नो राजनीतिक जीवन चितवनमै बिताउने बताएकी छन् । उनले चितवन र काठमाडौंलाई जोड्ने पुलको रुपमा काम गर्ने पनि बताइन् ।

माओवादी केन्द्रले शुक्रबार चितवनका सबै स्थानीय तहका उम्मेदवारहरुको घोषणा गरेको छ । घोषणा कार्यक्रममा रेणुले भनिन्, ‘पार्टी राजनीतिमा लागेको २० वर्षपछि चितवनको राजनीतिमा आउन पाएकोमा म भावुक भएकी छु । अब म निर्वाचन हारेपनि जितेपनि चितवनबाटै राजनीति गर्ने हो । मेरो बाँकी राजनीतिक जीवन चितवनमा नै बिताउने अठोट लिएकी छुँ ।

उनले दोस्रो संविधानसभा निर्वाचनमा पनि आफू चितवनबाटै चुनाव लड्न चाहे पनि पार्टीले टिकट नदिएको बताइन् । दोस्रो संविधानसभा निर्वाचनमा रेणु दाहाल काठमाडौं क्षेत्र नम्बर एकको उम्मेदवार बनेकी थिइन् । सो क्षेत्रबाट कांग्रेस नेता प्रकाशमान सिंह विजयी भए भने रेणु दोस्रो स्थानमा रहिन् ।

‘निर्वाचन जित्छु’

काठमाडौंमा हारे पनि गृह जिल्ला चितवनका मतदाताले आफूलाई जिताउने उनले विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘निर्वाचन जित्छु नै भन्ने आँट छ । हेरौं के हुन्छ । म चितवन र काठमाडौंलाई जोड्ने पुल बनेर जिल्लामा क्रियाशिल हुनेछु ।’

तर, चितवनका नेताहरुलाई आफूले चिने पनि कार्यकर्ताहरुसँग राम्रोसँग चिनजान गर्न नपाएको उनले बताइन् । समयको चापले चितवनका सबै जनताका बीचमा जान नपाएकोमा पनि उनले दुःख व्यक्त गरिन् । यसबाट आफूलाई केही समस्या पर्न सक्ने अनुमान उनले लगाइन् । तर, सबै पार्टीबाट सहयोग पाउने उनले विश्वास व्यक्त गरिन् ।

‘म चितवनमा नेताहरुलाई मात्रै चिन्दछु । कार्यकर्ता र जनतासँग खासै चिनजान छैन । मलाई केही समस्या पनि पर्न सक्छ,’ कार्यक्रममा रेणु दाहालले भनिन्, ‘सबै पार्टी कार्यकर्ताहरुले मलाई सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ ।’

उनले माओवादी चितवनले २०६४ सालको जस्तै लहर जिल्लामा ल्याउनुपर्ने बताइन् ।

प्रतिबद्धतापत्र सार्बजनिक गर्न नपाएकोमा दुःख व्यक्त

माओवादीले चितवनका सबै स्थानीयका उम्मेदवारहरु घोषणा गरे पनि प्रतिबद्धता पत्र सार्बजनिक भने गरेन । यसमा पार्टीले गल्ती गरेको भन्दै रेणुले दुःख व्यक्त गरिन् । समयको अभाव भएकाले प्रतिबद्धतापत्र सार्बजनिक गर्न नसकेको उनको प्रष्टिकरण थियो ।

उनले भनिन्, ‘आज उम्मेदवार घोषणा कार्यक्रममा नै भरतपुर महानगरपालिकालाई कस्तो बनाउने भन्ने प्रतिवद्धता पत्र सार्वजनिक होस् भन्ने चाहान्थें तर त्यसो हुन नसकेकोमा म दुःखी छु । समयको पनि अभाव भयो ।’

‘प्रचण्डको मात्रै छोरी होइन’

उनले आफूलाई मिडियाले राम्रो सपोर्ट गरेको बताइन् । त्यससँगै उनले मिडियाहरुप्रति गुनासो पनि पोखिन् । आफूलाई ‘प्रचण्डकी छोरी’ भनेर चिनाइएकोमा उनको गुनासो थियो । नेपाली राजनीतिमा आफूले आफ्नो अलग्गै पहिचान बनाइसकेको रेणु दाहालको भनाइ थियो ।

‘मलाई मिडियाले राम्रै सपोर्ट गरिरहनुभएकेा छ । तर एउटा कुरामा मेरो चित्त बुझेको छैन । मिडियाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी जेठी छोरी भनेर ब्यापक प्रचार गरेको पाउँछु । म प्रचण्डकी छोरी होइन भन्दिन । तर म प्रचण्डकी मात्रै छोरी पनि त होइन ।’

रेणु दाहालले आफ्नो थप परिचय दिँदै भनिन्, ‘मैले १० वर्ष पार्टीमा भूमिगत भएर र १० वर्ष खुल्ला राजनीतिमा आएर पार्टीका जिम्मेवार पदमा बसेर काम गरेको छु । काठमाडौं जिल्ला कमिटीको सेक्रेटरी, अनेमसंघ क्रान्तिकारीको महासचिव, २०६४ सालको संविधानसभा निर्वाचनपछि समानुपातिक सांसद, २०७० सालको संविधानसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्वर १ बाट उम्मेदवार बनेको छु । अहिले पनि पार्टीको पोलिटब्यूरो सदस्य छु ।’

यो पनि पढ्नुहोस्  

माओवादी केन्द्रद्वारा चितवनका सबै स्थानीय तहमा उम्मेदवार घोषणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment