Comments Add Comment

आजसम्म एमालेको मोर्चामा छौं, भोलिदेखि नहुन सक्छौं

संविधान संशोधन र स्थानीय तहको संख्या बढाउन परिवार दल सकारात्मक

१५ बैशाख, काठमाडौं । संसदमा दुई सीट रहेको नेपाल परिवार दलले संविधान संशोधन र स्थानीय तहको संख्या बढाउने सरकारको प्रस्तावमा समर्थन जनाउने संकेत दिएको छ ।

हालसम्म एमालेको ९ दलीय गठबन्धनमा रहेको परिवार दलले सकेसम्म एमालेलाई समेत सहमतिमा लिएर जान सरकारलाई सुझाव दिएको छ ।

एमालेले कुनै हालतमा संविधान संशोधन पारित हुन नदिने भएपछि एमालेविना नै दुई तिहाई जुटाउन सत्तापक्षले तयारी गरिरहेका बेला परिवार दलको मत निर्णायक हुन सक्छ । परिवार दलका अध्यक्ष एकनाथ ढकालले चुनाव सुनिश्चित गर्न र सबै पक्षलाई सहभागी गराउन अहिले सरकारले गरेको प्रस्ताव पारित गर्न सकिने बताए ।

पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा अनलाइनखबरले ढकालसँग गरेको कुराकानीः

तपाई अब एमालेको मोर्चामा हो कि सत्तापक्षको ?

हामी आजको दिनसम्म एमालेले नेतृत्व गरेको प्रतिपक्षी ९ दलीय मोर्चामै छौं । तर, भोलिसम्म नहुन सक्छौं । पार्टीले मुलुकलाई निकास दिनका लागि अन्तिम निर्णय भोलिसम्म गर्छ ।

संविधान संशोधन विधेयक र स्थानीय तहको संख्या बढाउने सरकारको प्रस्तावमा तपाईहरु सहमत हुन लाग्नुभएको हो ?

हामी अहिले छलफलकै क्रममा छौं । स्थानीय तह बढाउने सन्दर्भमा कार्यविधि बनाएर बढाउने भन्ने कुरा भएको छ । सहमतिका आधारमा स्थानीय तहको संख्या बढाउँदा हामीलाई आपत्ति हुँदैन । मुख्य कुरा निर्वाचन तोकिएकै मितिमा हुनुपर्छ । त्यसका लागि मधेस केन्द्रित दलहरुलाई पनि चुनावमा ल्याउन अधिकतम प्रयास गर्नुपर्छ भनेरै हामी संविधान संशोधनको पछिल्लो विधेयकमा सकारात्मक भएका छौं ।

भनेपछि संविधान संशोधन विधेयक पारित गर्न सघाउनुहुन्छ ?

हाम्रो मुख्य आपत्ति रहेको संविधान संशोधन विधेयक सरकारले फिर्ता लिइसकेको छ । हाम्रो र एमालेका आपत्ति रहेका विषयहरु कतिपय हटाएर सरकारले ल्याएको अर्को विधेयक सकारात्मक नै छ । यसमा पनि थप संशोधन र परिमार्जन गरेर जान सकिन्छ ।

अलिकति एमालेको चासो पनि सम्बोधन गर्ने र मधेसी मोर्चाको चासो पनि सम्बोधन गरेर सबैलाई स्वीकार्य हुने गरी पारित गर्नुपर्छ । हामी अहिले यही विषयमा छलफल गर्दैछौं र हाम्रो निष्कर्ष पनि यही हो ।

भनेपछि करिव करिव तपाईहरु एमालेको मोर्चाबाट बााहिरिने सम्भावना देखियो होइन त ?

करीव-करीव हामी त्यही अवस्थामा हौं । तर, आजको मितिसम्म चाहिँ प्रतिपक्षकै मोर्चामा छौं, यसको आधिकारिक निर्णय पार्टीले गरिसकेको छैन ।

तपाईले बिहीबार प्रधानमन्त्रीसँग पनि भेट्नुभयो, के कुरा भयो ?

प्रधानमन्त्रीले हाम्रो प्रस्तावमा समर्थन गर्नुस, निर्वाचन सुनिश्चित गर्ने सन्दर्भमा परिवार दलले मलाई सहयोग गर्नुपर्‍यो भन्नुभयो । निकास दिनका लागि सहयोग माग्नुभयो । हामी उहाँको प्रस्तावमा सकारात्मक छौं ।

एकैदिन तपाई केपी ओलीको बैठकमा पनि देखिनुभयो, उता प्रचण्डसँग पनि पुग्नुभयो भनेपछि तानातानमै हुनुहुन्छ हगि ?

तानातान नभनौं, अहिले म क्रस पार्टी छलफलमा छु । आजसम्म ९ दलीय गठबन्धमै छौं । हिजो त्यो बैठकमा पनि हामीले आफ्नो धारणा राख्यौं । एमालेका सबै कामकारवाही र दृष्टिकोणमा हामी सहमत छैनौं । एमालेसँग हाम्रा धेरै असहमति पनि छन् ।

तर, सँगसँगै अर्को कुरा के हो भने एमाले जस्तो मुख्य प्रतिपक्ष, कांग्रेसकै बराबरी हैसियतमा रहेको पार्टीलाई पूर्ण रुपमा बाहिर राखेर संख्यामात्रै पुर्‍याउने गरी जाँदा पनि मुलुकले निकास पाउँदैन । मुलुकलाई निकास दिन एमालेलाई पनि मिलाउन लाग्नुपर्छ भनेर मैले सत्तापक्षलाई भनेको छु । म आफैं पनि यसका लागि सक्दो प्रयास गरिरहेको छु ।

तपाईलाई सरकारमा सहभागी हुने प्रस्ताव आएको हो ?

होइन त्यस्तो छैन । अहिले सरकारबारे हामीले सोचेकै छैनौं । बैशाख ३१ मै चुनाव हुने गरी जानुपर्छ भनेर लागेका छौं । बरु चुनावी तालमेलतिर हामी जाँदैछौं ।

चुनावी तालमेल चाहिँ कोसँग हुने भयो त ?

हामीले नयाँ शक्तिसँग गठबन्धनको निर्णय गरिसकेका छौं । गोरखा, नुवाकोट लगायतका जिल्लामा हाम्रो सहमति नै भइसकेको छ । उपेन्द्र यादवजीसँग पनि मैले विभिन्न चरणमा कुरा गरेको छु । अब नयाँ शक्ति संघीय समाजवादी र परिवार दलको गठबन्धन बनाएर हामी चुनावमा जान्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment