Comments Add Comment

पैंचो पसलले पोखरामा पनि बिक्री थाल्यो


१५ बैशाख, पोखरा । गाउँले उत्पादन बेचेर छोटो समयमै चर्चामा पुगेको पैंचो पसलले पर्यटकीय नगरी पोखरामा पनि विक्री सुरु गरेको छ । सहरमा बसेपनि गाउँमा उत्पादन हुने खाद्यान्न मन पराउनेहरुका लागि लक्षित गरेर ब्यबसाय शुरु गरेको पैंचो पसलले विहीबारदेखी पोखरामा औपचारिक रुपमा विक्री शुरु गरेको बताए ।

१८ महिनाअघि गुल्मीको टक्सार गाउँबाट ब्यबसायी यात्रा शुरु गरेको पैंचो पसल काठमाडौं, नेपालगञ्ज भैरहवा हुँदै पोखरा आईपुगेको हो ।

‘बसे पनि शहर, गाउकै खाने रहर’ भन्ने मुल नारा दिएर बजारीकरण गर्दै आएको पंैचो पसलको विहीबार एक कार्यक्रमकाबीच नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरामा औपचारिक विक्री शुभारम्भ गरे ।

पैंचो पसलले पहाड तथा उच्चपहाडका किसानले उत्पादन गरेका अर्गानिक कृषि उपजहरू बजारमा ल्याएर बेच्नेगरेको पैंचो पसल प्रालिका प्रबन्धक धु्रव न्यौपानेले बताए । उनका अनुसार पैंचो पसलबाट बिक्री हुने सामानहरु गुणतस्तरीय र अर्गानिक छन् । साथै विक्री गर्नुपूर्व सामानको गुणस्तर परिक्षण गरेर मात्रै बेच्ने गरेको उनको दाबी छ ।

बजार अभावमा ग्रामिण तथा विकट क्षेत्रका अर्गानिक खाद्यवस्तु खेरजाने गरेकाले उक्त सामानहरुलाई बजार दिएर उपभोक्तालाई सस्तो र गुणस्तरीय सामान उपलब्ध गराउँदै कृषकलाई पनि प्रोत्साहन गर्ने उद्देश्यले पसल खोलिएको प्रबन्धक न्यौपानेले बताए ।

पैंचो पसलले गुल्मीको रिडीमा पैंचो प्रशोधन उद्योग स्थापना गरेर स्थानिय उत्पादनलाई प्रशोधन गर्नुका साथै बजारीकरण पनि गर्दै आएको छ । शुरुवाती कालमा हाते प्रविधि प्रयोग गरेर अचार, चुक, दाल लगायतका खाद्य वस्तुको परीक्षण उत्पादन गरी बुटवलमा बिक्री गर्दै आएको पैंचो पसलले गत बैशाखदेखि अत्याधुनिक प्रशोधन कारखानामार्फत २७ प्रकारका खाद्य वस्तु उत्पादन गर्दै बजारमा बेच्दै आएको छ ।

पैंचोले हाल आठ प्रकारका पैंचो अचार, पैंचो टोमेटो केचअप, पैंचो भेनेगर, पैंचो सोया सस, पैंचो जाम, विभिन्न प्रकारका जुसहरु, पैंचो होल क्यान कनर्ल, पैंचो फापरको पिठो, पैंचो कोदोको पिठो, परम्परामा सीमित सिन्की, मस्यौरा जस्ता उत्पादनहरु आफै उत्पादन गरी बजारमा ल्याएको छ ।

जुम्लाको सिमी र पहाडी जिल्लाका मकैको आटो (च्याँख्ला), जस्ता पहाडी तथा उच्च पहाडी जिल्लाका खाद्य बस्तुहरु प्याकेजिङ गरी बजारमा ल्याईएको हो । होल कर्न कर्नर नेपालकै पहिलो उत्पादन भएको प्रालिले दाबी गरेको छ ।

शुभारम्भको अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पैंचो टिपिकल नेपाली नाम भएको र यसले गाउँले उत्पादनलाई बढावा दिदै उपभोक्तालाई गाउँघरको स्वाद दिदै कृषकलाई बजार दिएर रोजगारीमा समेत टेवा पुर्‍याएको बताए ।

पैंचो पसलले नेपाली उत्पादनलाई बजार दिएर सामान आयात गर्दा करोडौं रुपैयाँ बिदेश जानबाट जोगाएको पनि बताए ।

पोखरा चिप्लेढुङ्गास्थित मुनाल स्टोर्सका सञ्चालक मोति भुजेलले पंैचो पसलको खाद्य सामग्री गुणस्तरीय र गाउँले उत्पादन भएकाले पोखरामा यसले राम्रो बजार बनाउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment