Comments Add Comment

निर्वाचनसम्वन्धी कुनै जिज्ञासा छ ? कल सेन्टरमा फोन गर्नुस्

चुनावको नतिजा मोबाइलमै हेर्न सकिने

१५ बैशाख, काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका लागि कल सेन्टर सञ्चालनमा ल्याएको छ । साथै निर्वाचनको सबै गतिविधी हेर्न सक्ने पनि बनाएको छ ।

निर्वाचन आयोगले मतदाताको गुनासो सुन्न पैसा नलाग्ने (टोल फ्री) नम्बर सार्वजनिक गरेको छ । निर्वाचनसँग सम्वन्धित कुनै जिज्ञासा वा गुनासो भए १६-६०-०१-४४-२२२ मा फोन गर्न सकिन्छ । एकै पटक ६ जनाले फोन गर्न सक्नेछन् ।

यसको औपचारिक सुरुवात आज बिशेष कार्यक्रम गरी गरिनेछ । र, यो नम्बरमा फोन गरेर मतदाताले आफ्ना कुनै गुनासा वा जिज्ञासा छन् भने राख्न सक्नेछन् ।

विभिन्न जिल्ला, गाउँ वा वडामा निर्वाचनसम्वन्धी कुनै अन्यौल भएमा कल सेन्टरमा फोन गर्न सकिन्छ ।

यस्तै मतदाताले आफ्नो मतदान केन्द्र थाहा पाउन पनि कल सेन्टरमा फोन गर्न सक्नेछन् । यसैगरी कतै निर्वाचन आचारसंहिता उल्लंघन भएमा वा निर्वाचनसँग सम्वन्धित कुनै उजूरी या गुनासो भएमा कल सेन्टरमा टिपाउन सकिनेछ ।

नागरिकको जिज्ञासा वा गुनासोलाई कल सेन्टरका अधिकारीहरुले तत्काल सम्बोधन गर्ने आयोगले जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘निर्वाचन आयोग र मतदातावीच सिधा सम्पर्कका लागि कल सेन्टर सञ्चालनमा ल्याइएको हो ।’

निर्वाचन विवरण हेर्न ‘इलेक्सन नेपाल’ एप्स

आयोगले निर्वाचनको सबै गतिविधी हेर्न सक्ने ‘इलेक्सन नेपाल’ एप्स पनि बनाइएको छ । प्ले स्टोरमा यो शनिबारबाट मात्र उपलब्ध हुने आयोगले जनाएको छ ।

यो एप्स डाउनलोड गरेर एण्ड्रोइड मोबाइल प्रयोगकर्ताले निर्वाचन गतिविधी हेर्न सक्नेछन् । एप्समा अहिले १२ वटा फिचर समेटिएको छ । मतदाताले आफ्नो मतदान केन्द्र कहाँ हो खोज्न सक्नेछन् । साथै कसरी मतदान गर्ने भनेर हेर्न र पढ्न सक्नेछन् ।

आयोगले इलेक्सन एप्समा सबै मतदाता शिक्षा सामाग्रीहरु हेर्न सकिने बनाएको छ । यस्तै उम्मेदवारी दर्ता भएपछि कुन स्थानीय तहमा कति उम्मेदवार छन्, कति मतदाता छन्, महिला मतदाता कति, पुरुष कति सबै विवरण हेर्न सकिने छ ।

यस्तै उक्त एप्सबाट मतदाताले निर्वाचन परिणाम समेत थाहा पाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment