Comments Add Comment

रामचन्द्रले राजीनामा दिन्छु भनेपछि देउवा ‘ब्याक’

उम्मेदवार छनोट प्रक्रियाबारे कांग्रेसमा विवाद


१५ बैशाख, काठमाडौं । स्थानीय तहका उम्मेद्वार छनोट गर्ने विषयमा नेपाली कांग्रेसभित्र विवाद चर्किएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय निर्वाचन परिचालन कमिटीबाटै राजिनामा दिने चेतावनी दिएपछि महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिलाई उम्मेदवार छनोट समितिबाट हटाइएको छ

गत सोमबार ४ बजेपछि पार्टी कार्यालयमा पुगेका पौडेल तनावमा थिए । महासमिति एवं महाधिवेशन प्रतिनिधिसहितको निर्णायक समितिमा सहमति गर्ने र त्यहाँ सहमति नभए बहुमतका आधारमा उम्मेदवार तय गर्ने निर्णयसहितको सर्कुलर महामन्त्री डा. शशांक कोइरालाले तयार पारेका थिए ।

सभापति देउवा र महामन्त्री शशांकको सहमतिमा गरिएको यस्तो निर्णयका कारण रामचन्द्र पौडेल हैरान थिए ।

केन्द्रको अधिकार क्षेत्र र जिल्लामा पुर्‍याउने र पाका महाधिवेशन प्रतिनिधिलाई पनि टिकट वितरणमा सहभागी गराउने पार्टी सभापतिको चाहना पौडेललाई स्वीकार्य नभएपछि देउवा पछि हट्नु परेको देउवा निकट स्रोतले जनायो ।

पौडेल पार्टी कार्यालयमा पुग्दा सभापति देउवा त्यहाँ थिएनन् । उनले मुख्य सचिव कृष्ण पौडेललाई बोलाउने आदेश दिए । पत्रकार कृष्ण केसीले पौडेललाई बोलाएपछि उनले पार्टीको परिपत्र देखाउँदै-यो कसले लेख्नु भन्यो ? भन्दै आक्रोशयुक्त प्रश्न गरे ।

चार जना पत्रकार समेत भएको ठाउँमा बरिष्ठ नेता पौडेलले मुख्य सचिव पौडेललाई तुरुन्त परिपत्र फेर्न निर्देशन दिँदै झपारेपछि पत्रकारहरु बाहिरिए ।

मुख्य सचिव पौडेलले सभापतिको निर्देशनमा परिपत्र गरिएको भन्दै आफूले फेर्न नसक्ने बताएपछि नेता रामचन्द्रले उसोभए निर्वाचन परिचालन समितिबाट राजिनामा दिने बताए ।

तत्कालै सभापति देउवालाई फोन लगाउन आदेश दिँदै पौडेल आक्रोशमा आएपछि दोहोरो भनाभनसमेत भएको प्रत्यक्षदर्शीले बताए ।

देउवासँग फोन लाग्नासाथ उनले आफ्नो आक्रोश रोक्न सकेनन् । सभापति र बरिष्ठ नेताबीच ‘तँ तँ,म म’को शैलीमा भनाभन भएपछि मुख्य सचिव पौडेल हडबडाउँदै उभिएका थिए ।

पौडेलले देउवासँगको भनाभनपछि देउवानिकट अरु केही नेताहरुलाई समेत फोन गरे । त्यहाँ पौडेललाई नेविसंघका अध्यक्ष नैनसिंह महरले सान्त्वना दिनुपर्ने अवस्था आएको थियो । उनले महरसँग पनि देउवाले एकलौटी टिकट बाँड्न लागेको बताएका थिए ।

किन ताते रामचन्द्र ?

महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिसहितको संयन्त्रबाट मतदान मार्फत टुंग्याउने विधिले आफ्नो पक्षका उम्मेदवार धेरै कम आउने डरले पौडेल आक्रोशमा आएको आरोप देउवा पक्षको छ ।

देउवाको जालमा परेको भन्दै पौडेलले महामन्त्री शशांक कोइरालालाई समेत गाली गरेको पौडेल निकट स्रोतले जनाएको छ ।

देउवा निकट एक केन्द्रीय सदस्यले भने-कांग्रेस आˆनो लोकतान्त्रिक अभ्यासको निर्णयबाट पछाडि फर्कदा उम्मेदवार छान्ने संकट बढेको छ । अब ७४४ गाउँपालिका नगरपालिकाका अधिकांश उम्मेदवारको नाम केन्द्रमा आउने छ ।

सहमतिका आधारमा स्थानीय तह हुँदै जिल्ला कार्यसमितिले टुङ्याउन नसके कम्तिमा तीनजनाको नाम केन्द्रमा पठाउने पहिलेको परिपत्र थियो । त्यो तीनजनाको सूची बनाउन धेरै जिल्ला असफल भएका छन् ।

भरतपुर महानगरपालिकामा ३४ जनाको दावी नै केन्द्रमा पठाइएको छ । यो अवस्थामा उम्मेदवारी दर्ता हुने दिनसम्म कांग्रेसले उम्मेदवार तय गर्ने अवस्था छैन ।

देउवाले तल्ला तहदेखि केन्द्रसम्म गुटबन्दीको अन्त्य गर्ने प्रयत्नस्वरुप रामचन्द्रलाई निर्वाचन परिचालनको संयोजक र महेश आचार्यलाई घोषणापत्रको संयोजक बनाए पनि पौडेलबाट सहयोग नभएको गुनासो गरेका छन् ।

पौडेल पक्षले क्षेत्रीय सभापति र जिल्ला सभापतिमा आफ्नो पक्षको उल्लेख्य उपस्थिति रहेकाले टिकट वितरणमा महाधिवेशन प्रतिनिधि सामेल गराउन नचाहेको स्रोतले जनाएको छ । तिनै महाधिवेशन प्रतिनिधिका कारण पौडेल सभापतिमा हारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment