Comments Add Comment

बर्दियामा माओवादी केन्द्रका यस्ता छन् उम्मेदवार

टियुमा चर्चित गेहेन्द्र गुलरियामा के गर्लान् ?

१५ बैशाख, गुलरिया । दोस्रो चरणमा स्थानीय चुनाव हुन लागेको पाँच नम्बर प्रदेशको बर्दिया जिल्लामा माओवादी केन्द्रले चुनाव प्रचार प्रसारलाई जारी राखेको छ । बर्दियाका अधिकांश स्थानीय तहमा उम्मेदवार टुंगो लगाइसकेको माओवादीले संगठन बिस्तार र मतदातासँगको भेटघाटलाई तिव्रता दिएको छ ।

बर्दियामा ६ वटा नगरपालिका र दुईवटा गाउँपालिका छन् । कांग्रेस र एमालेले उम्मेदवारहरुको टुंगो लगाइसकेका छैनन् । तर, माओवादीले भने ठाकुरबाबा र राजापुर नगरपालिका तथा बारबर्दिया गाउँपालिका बाहेक सबैमा उम्मेदवार टुंगो लगाइसकेको जनाएको छ ।

को कहाँ उम्मेदवार ?

माओवादीले गुलरिया नगरपालिकाको मेयरमा गेहेन्द्र ढकाललाई र उपमेयरमा मोहन कुमारी फुयाँल ‘मिथिला’लाई उम्मेदवार बनाएको छ ।

यसैगरी मधुवन नगरपालिकाको मेयरमा गणेश केसी र उपमेयरमा चेतना चौधरी तथा बासगढी नगरपालिकाको मेयरमा विकल्प थारु र उपमेयरमा भुमिसरा विकलाई माओवादीले उम्मेदवार बनाएको छ ।

बढैयाताल गाउँपालिकाको अध्यक्षमा ललनकुमार थारु र उपाध्यक्षमा राधा आचार्यलाई तथा गेरुवा गाउँपालिकाको अध्यक्षमा देहगराज थारु र उपाध्यक्षमा लिला चौधरीलाई उम्मेदवार बनाइएको छ ।

यसैगरी ठाकुरबाबा नगरपालिकामा नेत्र आचार्य, कृष्णा कुस्मा लगायतको नाम चर्चामा छ ।

राजापुर नगरपालिकामा शिवप्रसाद थारु ‘प्रतिक’, दिपेश थारु ‘राजेश’ लगायत आकांक्षी छन् ।

बारबर्दिया नगरपालिकामा दुर्गाबहादुर चौधरी, अन्जु दहित र बिन्तिराम थारु लगायतको नामावली सिफारिस भए पनि टुंगो लागेको छैन ।

गुलरियाका कान्छा उम्मेदवार

बर्दियाको सबैभन्दा पुरानो गुलरिया नगरपालिकाको मेयरमा माओवादी केन्द्रले ३२ वर्षीय गेहेन्द्र ढकाललाई उम्मेदवार बनाएको छ । स्थानीय चुनावमा मेयर पदको उम्मेदवार बनेका ढकाल सम्भवतः सबैभन्दा कम उमेरका हुन् ।

ढकाल गुलरिया नगरपालिका-४ तुलसीपुरका स्थायी बासिन्दा हुन् । उनी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका सचिवालय सदस्य तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरका इञ्चार्ज हुन् । भारतीय नाकाबन्दीको बेला मर्कामा परेका विद्यार्थीहरुलाई त्रिभुवन विश्वविद्यालय परिसरमा ंसामुहिक भोजको व्यवस्था गरेर उनी चर्चामा आएका थिए । त्यतिबेला त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुको मन जित्न सफल ढकालले गुलरिया नगरपालिकाका ३५ हजार मतदातामध्ये कति जनाको मन जित्छन् हेर्न बाँकी छ ।

चुनावी नारा- बेरोजगार मुक्त घर, सुकुम्बासीमुक्त गुलरिया नगर

गुलरियाको जनसंख्या ६८ हजार रहे पनि मतदाता भने ३५ हजार छन् । मेयर पदका माओवादी उम्मेदवार ढकालले भने, ‘साढे आठ हजार मत ल्याएमा जितिन्छ । तर, हामी ११ देखि १२ हजार मत ल्याएर जित्छौं ।’

आफू युवा उम्मेदवारका भएका कारण पनि माहोल राम्रो बनिरहेको दाबीसमेत उनले गरे ।

माओवादी केन्द्र बर्दियाले बेरोजगार अन्त्य र सुकुम्बासी समस्या समाधानलाई चुनावको प्रमुख मुद्दा बनाएको छ । बर्दियामा दुई हजार बढी घर परिवार सुकुम्बासी रहेको अनुमान छ । त्यसैले माओवादीले चुनावी नारा बनाएको छ- ‘बेरोजगार मुक्त घर, सुकुम्बासीमुक्त गुलरिया नगर ।’

कांग्रेससँग प्रतिस्पर्धा

२०५३ सालमा मथुराहरद्वार र खैरापुर गाविस गाभेर गुलरिया नगरपालिका घोषणा गरिएको थियो । तर, हाल गुलरिया नगरपालिकामा मोहमदपुर गाविस पनि गाभिएको छ । दोस्रो संविधानसभा निर्वाचनमा माओवादीले बर्दियामा दुई सिट र कांग्रेस-एमालेले एक-एक सिट जितेका दिए । गुलरिया नगरपालिका दुई नम्बर निर्वाचन क्षेत्रमा पर्दछ जहाँ नेपाली कांग्रेसका सन्जयकुमार गौतम विजयी भएका थिए ।

त्यसैले बर्दिया नगरपालिकाभित्र कांग्रेससँग मुख्य प्रतिस्पर्धा हुने माओवादी केन्द्रको विश्लेषण छ । ढकालले अनलाइनखबरसँग भने, ‘चुनावमा कांग्रेस, एमाले र माओवादीबीच त्रि-पक्षीय भिडन्त हुन्छ । तर गुलरियामा हाम्रो मुख्य प्रतिस्पर्धी कांग्रेस हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment