Comments Add Comment

रसुवाको चुनावः एमाले एक्लै भिड्ने, माओवादी-कांग्रेस तालमेलको तयारी

चुनावी नारा-केबलकारदेखि एकघर एक रोजगारसम्म

१५ बैशाख, काठमाडौ । रसुवाका राजनीतिक पार्टीहरुले आगामी निर्वाचनलाई लक्षित गरी महत्वाकांक्षी चुनावी एजेण्डा अघि सारेका छन् । प्रमुख तीनवटै दल कांग्रेस, एमाले र माओवादी केन्द्रले धुञ्चेदेखि गोसाइकुण्डसम्म केबुलकार बनाउने मुख्य एजेण्डा अघि सारेका छन् ।

उनीहरुले उक्त केबुलकार निर्माणपछि रसुवाको पर्यटन विकासमा दुरगामी असर पार्ने दावी गरेका छन् । त्यसैका लागि तीनै दलले धुन्चे-गोसाइकुण्ड केबलकारको चुनावी नारा सार्वजनिक गरेका हुन् ।

यस्तै तीनवटै पार्टीले एक घर, एक रोजगारको चुनावी नारा अघि सारेका छन् ।

पर्यटन विकासको माध्यमबाट जिल्लामा पूर्णरुपमा बेरोजगार अन्त्य गर्ने तीनवटै प्रमुख पार्टीहरुको दावी छ । यस्तै तीनवटै पार्टीले हरेक वडामा सडक सञ्जाल पुर्‍याउने प्रतिवद्धता जनाएका छन् । रसुवागढी नाकालाई व्यवस्थित गर्ने विषयलाई पनि तीनवटै पार्टीले उत्तिकै महत्वका साथ उठाएका छन् । उनीहरु तीनवटै पार्टीले नाका व्यवस्थित गर्न आफ्नो पार्टी विजयी हुनुपर्ने तर्क गर्दै चुनावी प्रचारमा केन्दि्रत भएका छन् ।

रसुवा जिल्लामा कुल २७ हजार ७ सय ५६ मतदाता छन् । जिल्लाभरि ५ वटा गाउँपालिका छ । एउटा पनि नगरपालिका छैन ।

रसुवाबाट यसपटक स्थानीय निर्वाचनमा १ सय ४५ जना जनप्रतिनिधी निर्वाचित हुँदैछन् । त्यसमध्ये २७ जना वडा अध्यक्ष, ५ जना गाउँपालिका प्रमुख, ५ जना उपप्रमुख र १ सय ३० जना वडा सदस्यहरु हुनेछन् । रसुवामा ३४ मतदान स्थल र ४२ मतदान केन्द्र हुनेछ ।

एमालेको प्राथमिकता

रसुवामा एमालेले केही नयाँ चुनावी नारा अघि सारेको छ । एमालेले हरेक गाउँमा शुद्ध पिउने पानीको नियमित व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएको छ । यस्तै रसुवामा एक अत्याधुनिक जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने थप प्रतिवद्धता जनाएको छ । यसैगरी एमालेले लाङटाङलाई पर्यटकीय क्षेत्रको रुपमा प्रवर्दन गर्न पूर्वाधार विकास गर्ने नारा अघि सारेको छ ।

कांग्रेस माओवादी तालमेलको तयारी

रसुवामा तीनवटै पार्टीले करिब सबै स्थानीय तहमा उम्मेदवार सार्वजनिक गरेका छन् । एमाले एक्लै निर्वाचन प्रतिस्पर्धामा उत्रिएको छ भने माओवादी केन्द्र र कांग्रेसले दुई स्थानीय तहमा चुनावी तालमेल गरेका छन् । रसुवामा ५ स्थानीय तह रहेकोमा ३ स्थानीय तहमा भने माओवादीले एक्लै निर्वाचन लड्ने घोषणा गरेको छ ।

गोसाइकुण्ड र नवकुण्ड गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रवीच तालमेल भएको छ । यी दुवै गाउँपालिका कांग्रेसको बलियो स्थिति भएको तह भएको माओवादी केन्द्रका नेता प्रभाकर घिमिरेले बताए । ती दुवै गाउँपालिकामा कांग्रेसलाई प्रमुख र माओवादी केन्द्रले उपप्रमुख पाएको छ ।

बाँकी तीन गाउँपालिकाहरु उत्तरगया गाउँपालिका, कालिका गाउँपालिका र पार्वतीकुण्डमा माओवादीले एक्लै प्रतिस्पर्धामा उत्रिने बताएको छ । उक्त तीनवटै गाउँपालिका आफ्नो निश्चित क्षेत्र भएको माओवादीको दावी छ ।

माओवादी केन्द्रका जिल्ला नेता घिमिरेले कांग्रेसले तालमेल गर्न चाहेमा सबैमा उपमेयर दिन तयार रहेको तर प्रमुख नछोड्ने बताए ।
माओवादीले पार्वती कुण्ड गाउँपालिकाको प्रमुखमा तेञ्जिङ तामाङलाई उम्मेदवार बनाएको छ ।

यस्तै उत्तरगया गाउँपालिकामा मेगनाथ घिमिरेलाई प्रमुखको उम्मेदवार बनाएको छ । कालिका गाउँपालिकामा भने उम्मेदवार टुंग्याउन ब्ााँकी रहेको छ ।

जिल्लामा तेस्रो शक्तिको रुपमा रहेको कांग्रेसले चुनावी प्रचार तिव्र पारेको छ । उसले कालिका गाउँपालिका बाहेक सबै गाउँपालिकामा उम्मेदवार चयन टुंग्याएको बताएको छ । कालिकामा भने माओवादी केन्द्रसँग चुनावी तालमेलमा छलफल चलिरहेको कांग्रेस र माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

माओवादीको आश्वासनः हरेक हाइड्रोमा १० प्रतिशत शेयर

माओवादी केन्द्रले रसुवामा निर्माण हुने प्रत्येक हाइड्रो पावरको १० प्रतिशत शेयर रसुवावासीलाई दिलाउने घोषणा गरेको छ । यसअघि नै १० प्रतिशत शेयर हरेक परिवारलाई दिलाइसकेकाले अब पनि त्यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।

माओवादी केन्द्रले यही कारण पनि आफ्नो पक्षमा जनमत रहेको माअेावादी केन्द्रको दावी छ । एमाले र कांग्रेस भने यो एजेण्डामा मौन देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment