Comments Add Comment

बीबीआईएनबाट पछि हट्यो भुटान, भारतलाई धक्का

१५ बैशाख, नयाँ दिल्ली । पाकिस्तानलाई एक्ल्याउने गरी सार्कका चार देशबीच सवारीसाधनको खुला आवागमन सुरु गर्ने भारतीय योजनामा भुटानले धक्का दिएको छ ।

बीबीआईएन -भुटान, बंगलादेश, इन्डिया-नेपाल) सवारी साधन सम्झौताबाट तत्कालका लागि भुटानपछि हटेपछि भारतलाई अप्ठेरो परेको हो । अब नेपाल र बंगलादेशलाई मात्र जोड्ने बैकल्पिक योजनाबारे भारत सरकारले सोच्नुपर्ने भएको छ ।

भुटानले आफ्नो संसदबाट उक्त सम्झौतालाई पारित हुने अवस्था नरहेको भारतलाई जानकारी गराएको छ । समाचारअनुसार त्यहाँको छेरिङ तोब्गे सरकारले अर्को वर्ष निर्वाचन घोषणा गरेको छ र अहिलेको समयमा कुनै राजनीतिक जोखिम मोल्न चाहँदैन ।

यता भुटानको विपक्षी दलले पनि अन्य तीन देशबाट सवारीसाधनहरु निर्वाधरुपमा आफ्नो देशभित्र प्रवेश गरेमा ट्राफिक अस्तव्यस्त हुने, प्रदुषण बढ्ने तथा स्थानीयको रोजगारी खोसिन सक्ने चेतावनी दिएको छ ।

यो अवस्थाको बारेमा तोब्गेले यसै साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्ना कूटनीतिक च्यानलमार्फत जानकारी गराएको स्रोतले बतायो ।

हाललाई भारत, नेपाल र बंगलादेशले यो परियोजना सुरु गर्दा हुने र पछि कुनै समय भुटान यसमा जोडिनसक्ने सन्देश उनले दिएका छन् ।

सन् २०१४ को नोभेम्बरमा आयोजित सार्क सम्मेलनमा पाकिस्तानले सार्क मोटर भेइकल्स एगि्रमेन्टमा अवरोध गरेपछि २०१५ को सुरुवातमा बिबिआइएन कनेक्टीभिटी प्रोजेक्ट भारतले अघि सारेको हो । अब बंगलादेश र नेपालसँग मात्रै कसरी काम गर्न सकिन्छ भनेर साउथ ब्लकले सोचिरहेको छ ।

‘हो हामी बिबिआइएनबाट अहिलेलाई पछि हटेका छौं किनकी यस विषयमा देशभित्र आमसहमति चाहिन्छ । अहिले त्यस्तो अवस्था छैन,’ तोब्गेले भुटानको संसदमा गत साता बोल्दै भनेका थिए ।

यदि संसदमा मतदान गर्नुपरेको अवस्थामा आफ्नो पक्षमा बहुमत पुग्ने स्थिति नदेखिएपछि सरकारले यो निर्णय लिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment